१५ करोडको कारोबार गर्दै सकियो विराट एक्सपो



विराटनगर । देशको अर्थतन्त्र खस्किएको कठिन पस्थितिमा ११ दिनअघि सुरु कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (विराट एक्सपो २०७९) आइतबार सकिएको छ । मंसिर २९ देखि विराटनगर-१४ स्थित स्नातकोत्तर क्याम्पसको खेल मैदानमा सुरु भएको विराट एक्स्पो १५ करोड रूपैयाँ बराबरको कारोबार गर्दै सकिएको हो ।

एक्स्पो समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरका उद्योगीहरूले बारम्बार औद्योगिक प्रदर्शनी स्थलको माग गरिरहे तर प्रदेश सरकारले चाहेर पनि प्रदर्शनीस्थल निर्माण गर्न नसकेको बताए । उनले प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रले सहकार्य गरेर औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने सुझाव दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगिक प्रदर्शनीस्थलको निमार्णमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै यो एक्सपो सकिएलगत्तै त्यस विषयमा छलफल गर्न आफू तयार रहेको बताए ।

पाँच वर्षअघि स्थायी संरचनासहित प्रदर्शनी स्थल निर्माण गर्ने महानगरपालिलका, उद्योग संगठन, मोरङ व्यापार संघ लगायतका संस्था तथा निकायबीच लिखित सहमति भएको थियो । त्यसमा प्रदेश १ सरकारले पनि सहयोग गर्ने प्रतिवद्धद्धता जनाएको थियो।

आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी अर्थतन्त्रको गतिविधिलाई चलायमान बनाउने उद्देश्यले आयोजना गरेको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता भएको एक्स्पो आयोजक समितिले जनाएको छ ।

समापन समारोहमा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले संगठनले २०५३ सालदेखि निरन्तररुपमा एक्स्पो आयोजना गर्दै आए पनि प्रदर्शनी स्थलको आयोजनाका लागि स्थायी स्थलको अभाव अहिलेसम्म खड्किरहेको गुनासो व्यक्त गरे।

विराटनगरमा स्थायी प्रदर्शनी स्थल निर्माणका लागि उद्योगी व्यवसायीले लामो समयदेखि नेपाल सरकारका सबै निकायहरुमा अनुरोध गर्दा पनि यसतर्फ कसैको चासो नगएको उनले भनाइ थियो ।

एक्स्पोको अवधिमा ६ वटा थिममा २१ वटा प्राविधिक सत्रहरु संचालन गरिएको उनले बताए । उनका अनुसार एक्स्पोमा उत्पादन लागत घटाउन, लगानी बिस्तार गर्न, अग्र तथा पृष्ठ अन्तरसम्बन्ध कायम गर्न तथा नवप्रर्वतक उद्यमशिलताको विकासका लागि नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने विषयहरुमा छलफल भएका छन् ।

५७ जना विज्ञहरुको उपस्थितिमा भएको प्रत्येक थिमेटिकल सेशनमा देखिएको उल्लेख्य सहभागिता र विज्ञहरुबाट भएको प्रस्तुतीले एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सफल भएको छ ।

एक्स्पोमा उद्योग व्यवसायको व्यावसायिक स्वास्थ्य परीक्षण, तदनुरुपको परामर्श सेवा, रोजगारीका लागि वृत्ति विकास मार्गनिर्देश, सीप विकास तालिमको अवसर, निजी उद्योगहरुमा अन द स्पष्ट रोजगारको अवसर पनि मिलेको उनले बताए ।

एक्स्पोमा करिब १५ करोड रुपैयाँको कारोबार भएको प्रचारप्रसार समितिका संयोजक नन्दकिशोर राठीले बताए । उनका अनुसार ११ दिनसम्म सञ्चालन भएको एक्स्पोमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको जानकारी दिए । समापन कार्यक्रममा उत्कृष्ठ उद्यमीहरूलाई पुरस्कार गरिएको थियो ।

एक्सपोको खर्च र कारोबारका सम्बन्धमा एक्सपो सकिएके एक महिनाभित्रमा जानकारी सार्वजनिक गरिने एक्सपो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले बताए ।

सो एक्सपोमा ११ दिन नै साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरेर युवाहरूलाई मनोरञ्जन दिइएको थियो । साँझ ४ बजेदेखि राति ९ बजेसम्म सञ्चालित मनोरञ्जनमा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूको सहभागिता थियो ।
द्यच्त् ल्भधक


क्लिकमान्डु