क्रिप्टोकरेन्सी र वित्तीय अपराधको अन्तरसम्बन्ध, कसरी नियन्त्रण गर्ने ४ लाख नेपालीको अर्बौं लगानी ?



क्रिप्टोकरेन्सी एक भर्चुअल डिजिटल मुद्रा हो । यसमा हुने कारोबार गोप्य रहने, न्यून शुल्क र सुरक्षित तथा विश्वव्यापी पहुँच हुने, कारोबारको सीमा नरहने र सञ्चालन गर्न सहज हुने भएकाले धेरै जोखिम हुँदाहुँदै पनि यसमा लगानी गर्नेहरुको सङ्ख्या बढी रहेको पाइन्छ।

क्रिप्टोकरेन्सीको वित्तीय आपराधमा प्रयोग विश्वब्यापी चुनौतीका रुपमा रहँदै आएको छ । समयमा नै यसले पार्न सक्ने प्रभावका बारेमा सम्बोधन गर्न नसके पुँजी पलायन हुने, लगानी डुब्न सक्ने, रेमिट्यान्स घट्न सक्ने, अनौपचारिक अर्थतन्त्रको आकार बढन सक्ने, वातावरणमा नकारात्मक असर पर्ने तथा समग्र वित्तीय स्थायित्वमा असर पर्न सक्दछ ।

क्रिप्टोकरेन्सी र हुण्डी कारोबारबीच घनिष्ठ सम्बन्ध रहेकाले क्रिप्टो कारोबारमा नियन्त्रण गर्न हुण्डी कारोबारलाई पनि नियन्त्रण गर्नु त्यत्तिकै जरुरी छ । यसको समयमै व्यवस्थापन गरेर चुनौतीलाई अवसरमा बदल्नु आजको आवश्यकता हो ।

पृष्ठभूमिः

वर्तमान युग सूचना प्रविधिको युग भएकाले सूचना प्रविधिमा आएको नवीनतम परिवर्तनवाट नेपाल पनि अछुतो रहन सक्दैन । क्रिप्टोकरेन्सी विश्वव्यापी चुनौतीका रुपमा रहँदै आएको छ । समयमा नै यसले पार्न सक्ने प्रभावका बारेमा सम्बोधन गर्न नसके पुँजी पलायन हुने, लगानी खतरामा पर्ने, रेमिट्यान्स घट्ने, अनौपचारिक अर्थतन्त्रको आकार बढने, वातावरणमा नकारात्मक असर पर्ने तथा समग्र वित्तीय स्थायित्वमा असर पर्न सक्दछ । यसको समयमै व्यवस्थापन गर्नु आजको आवश्यकता हो । समस्यासँगै सम्भावना पनि रहने भएकाले चुनौतीलाई अवसरमा बदल्नु पर्दछ ।

मुद्रा भन्नाले सामान्यतया केन्द्रिय बैङ्कबाट जारी गरिने, सरकारद्वारा प्रत्याभूत गरिएको र कानुनी मान्यता प्रदान गरेको कागजी नोट तथा सिक्कालाई जनाउँदछ । मुद्राको अर्को स्वरुपका रुपमा विद्युतीय मुद्रालाई लिन सकिन्छ । विद्युतीय मुद्राअन्तर्गत भर्चुअल मुद्रा र ई-मनी दुबै पर्दछन् ।

ई-मनि फियट मुद्राकै विद्युतीय स्वरुप हो, जुन वास्तविक मुद्राको मुल्यलाई विद्युतीय माध्यमबाट ट्रान्सफर गर्न प्रयोग गरिन्छ । मोबाइल बैङ्किङ्गमा रकमान्तर हुने मुद्रादेखि भुक्तानी सेवा प्रदायक संस्थाको इ–वालेटमा भएको रकम ई-मनी हो । केन्द्रिय बैङ्कले कागजी मुद्राको सट्टा केन्द्रिय बैङ्क भर्चुअल करेन्सी जारी गर्न सक्दछ । सीबीडीसीलाई वास्तविक मुद्राकै अभौतिक स्वरुपका रुपमा लिन सकिन्छ ।

भर्चुअल करेन्सीलाई चार भागमा विभाजन गर्न सकिन्छ, जुन निम्नअनुसार छन्ः

क) परिवर्त्य भर्चुअल करेन्सीः फियट करेन्सीमा परिवर्तन गर्न सकिने भर्चुअल करेन्सीलाई परिवर्त्य भर्चुअल करेन्सी भनिन्छ ।

ख) अपरिवर्त्य भर्चुअल करेन्सीः फियट करेन्सीमा परिवर्तन गर्न नसकिने भर्चुअल करेन्सीलाई अपरिवर्त्य भर्चुअल करेन्सी भनिन्छ ।

ग) केन्द्रिकृत भर्चुअल करेन्सीः निष्काशन गर्ने निकाय केन्द्रीय प्रशासक रहनेलाई केन्द्रिकृत भर्चुअल करेन्सी भनिन्छ । जस्तैः इ गोल्ड, भिडियो गेम आदि ।
घ) विकेन्द्रिकृत भर्चुअल करेन्सीः केन्द्रीय प्रशासक नरहनेलाई विकेन्द्रिकृत भर्चुअल करेन्सी भनिन्छ । यो केन्द्रिकृत रुपमा संग्रहित हुँदैन ।

यसको मूल्य प्रयोगकर्ता र विनिमयकर्ताहरुले निर्धारण गर्दछन् । यसको मूल्यको केन्द्रीय मध्यस्थकर्ता हुँदैन । यसको कारोबार नेटवर्कमार्फत् पियर टु पियर आधारितमा हुने गर्दछ ।

क्रिप्टोकरेन्सी

क्रिप्टोकरेन्सी एक भर्चुअल डिजिटल मुद्रा हो । यसलाई विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने, वास्तविक मुद्राजस्तै कार्य गर्न सक्ने, लिगल टेण्डर प्राप्त नगरेको, राज्य जमानी नभएको स्पेकुलेटिभ एसेटका रुपमा बुझ्न सकिन्छ ।

क्रिप्टोकरेन्सी स्पेकुलेटिभ प्रकृतिको हुने भएकाले यसमा जोखिम उच्च रहन्छ । यो विद्युतीय माध्यमबाट कुनै वित्तीय संस्थाको मध्यस्थताबिना नै रकमान्तर गर्न सकिन्छ । यसको लेखाङ्कन विकेन्द्रित रुपमा ब्लकचेन प्रविधिमार्फत् गरिन्छ ।

सन् २०२२ जनवरीसम्ममा करिब ८००० प्रकारका क्रिप्टोकरेन्सी रहेको अनुमान गरिएको छ । यसमा सबैभन्दा बढी प्रचलनमा रहेको क्रिप्टोकरेन्सी बिटक्वाइन हो । यसको आन्तरिक मूल्य र लिगल टेण्डर हुँदैन । यो निजी क्षेत्रले जारी गर्दछ । क्रिप्टोकरेन्सीहरुको प्रयोग र गैरकानुनी दुबै रुपमा प्रयोग गरेको पाइन्छ ।

बास्केटबलको टिकट तथा गाडी किन्न गरिने प्रयोग कानुनी प्रयोग हो भने गैरकानुनी वस्तु खरिद तथा आपराधिक, कर छली कार्यमा प्रयोग गर्नु गैर कानुनी प्रयोग हो । बिटक्वाइन, इथिरियुम, टेटर, एक्सआरपी, अमेरिकी डलर क्वाइन, टेरा, कार्डानो, सोलाना लगायत हाल प्रचलनमा रहेका प्रमुख क्रिप्टोकरेन्सीहरु हुन् ।

क्रिप्टो वालेट एक प्रकारको सफ्टवेयर प्रोग्राम वा भौतिक उपकरण हो, जहाँ सार्वजनिक र व्यक्तिगत कि स्टोर र व्यवस्थापन गरिन्छ । यसले प्रयोगकर्तालाई विद्युतीय प व्यवस्थापन गर्न अनुमति प्रदान गर्दछ । प्राईभेट मोबाइल, वेब, डेस्कटप पेपर र हार्डवेयर वालेट्समा सङ्ग्रह गरी राखिन्छ । केही गरी वालेट हरायो, चोरी भयो वा नष्ट भयो भने क्भभम उजचबकभ प्रयोग गरेर रिकभर गर्न सकिन्छ । सिड फारेस १२ देखि २४ शब्दको वाक्यांश मिलेर बनेको हुन्छ । एड्रेस बैङ्कको खाता नम्बर जस्तै हो, जुनचाँही २५-२६ वटा अल्फान्यूरिक क्यारेक्टर्सबाट बनेको हुन्छ । निजी किज बैङ्क खाताको पासवर्ड÷पिन जस्तै हो, जसले ब्लकचेनमा पहुँच प्रदान गर्दछ ।

क्रिप्टोकरेन्सी बनाउने प्रक्रिया अर्थात माईनिङको क्रममा ठूलो परिमाणमा विद्युतीय फोहोर उत्पादन हुने गर्दछ । रिसोर्सेस, कन्जर्भेसन एण्ड रिसाईक्लिङ नामक जर्नलमा उल्लेख भएअनुसार औषत प्रति कारोबार २७२ ग्राम फोहर उत्पादन हुन्छ । साथै माइनिङको क्रममा ठूलो परिमाणमा उर्जा खपत हुन्छ । एक अध्ययनका अनुसार फिलिपिन्स देशमा खपत हुने विद्युतभन्दा बढी रहेको अनुमान छ ।

क्रिप्टोकरेन्सीलाई कानुनी मुद्राको मान्यता प्रदान गर्ने पहिलो राष्ट्र एल साल्भाडोरलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले जनवरी २०२२ मा विटकोइनलाई कानुनी मुद्राको मान्यताबाट हटाउन आग्रह गरेको भएतापनि एल साल्भाडोरले यसलाई अस्विकार गरेको देखिन्छ । एल साल्भाडोरमा अन्तर्राष्ट्रिय विटकोइन सम्मेलन, २०२२ मे १६,२०२२ मा सम्पन्न भएको छ । जसमा नेपाल सहित विभिन्न देशका ३२ केन्द्रिय बैङ्क र १२ वित्तीय संस्थाहरु सहभागी भएका थिए । जहाँ वित्तीय समावेशिता, डिजिटल अर्थतन्त्र र बैंकिंग फर अनबैंक्ड आदिका बारेमा छलफल भएको थियो ।

विकेन्द्रित भर्चुअल करेन्सीको कारोबारमा पठाउनेको ठेगाना, रकम र पाउनेको ठेगाना गरी तीन तत्व रहेको हुन्छ । सबै कारोबारहरु ब्लकचेनमा अभिलेखीकरण भएको हुन्छ ।

ब्लकचेनलाई कारोबारको लेजरका रुपमा पनि लिने गरिन्छ । ब्लकचेन आदानप्रदान गरिएको तथ्याङ्कीय आधार हो, जहाँ तथ्याङ्कहरु समूहमा स्टोर गरिन्छ, यिनीहरु क्रिप्टोग्राफिकका माध्यमबाट जोडिन्छन् । विकेन्द्रित ब्लकचेन अपरिवर्तनीय हुन्छ अर्थात् यसमा राखिएका तथ् परिवर्तन गर्न सकिदैँन ।

यसमा कुनै व्यक्ति वा समूहको नियन्त्रण रहँदैन । क्रिप्टोकरेन्सीको कारोबारको शुरुमा बिक्रेताले क्रेताको एड्रेस र क्वाईन संख्या राखेर निजी किज् प्रयोग गरेर कारोबारलाई वैद्यता प्रदान गर्दछ । कारोबारलाई पियर टु पियर नेटवर्कमार्फत् भेरीफिकेशन गरी ब्लकचेनमा आवद्ध गरेपछि क्रेताले क्वाइन प्राप्त गर्दछ । यसमा हुने कारोबार गोप्य रहने, न्यून शुल्क र सुरक्षित तथा विश्वब्यापी पहुँच, कारोबारको सीमा नरहने र सञ्चालन गर्न सहज हुने भएकाले धेरै जोखिम हुँदाहुँदै पनि यसमा लगानी गर्नेहरु बढी रहेको पाईन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास

एल साल्भाडोर र सेन्ट्रल अफ्रिकन रिपब्लिकबाहेक विश्वका अन्य कुनै पनि मुलुकले यसलाई लिगल टेण्डरका रुपमा लिएको पाइदैन । बिट क्वाइनको सीमा २१ मिलियनमध्ये २० मिलियन माइनिङ भइसकेको अनुमान छ ।

अन्तर्राष्ट्रिय बजारले यसको मूल्य निर्धारण गर्दछ, जसको मूल्य घटबढको अनुमान गर्न सकिदैन । ब्लक चेन प्रविधिमा सफ्टवेयर निर्माताको नियन्त्रण हुँदैन र यसमा आवद्ध विश्वभर छरिएर रहेका कम्प्युटर्सहरुले यसको प्रोसेसिङ गर्दछन् । यस क्रममा अत्यधिक उर्जा खपत गरेर वातावरणलाई असर गर्ने भएकाले एलन मस्कले आफ्नो विद्युतीय टेस्ला कार खरिद बिटक्वाईन मार्फत गर्नसक्ने भनी गरेको प्रबन्धलाई फिर्ता लिएका छन् ।

बेलायतको राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदन सन् २०२० मा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीमा बिट क्वाइनको जोखिम सन् २०१७ को तुलनामा न्यूनबाट मध्यमतर्फ बढेको उल्लेख भएको देखिन्छ । सन् २०२१ मा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी तथा साइबर क्राइममा कूल क्रिप्टो कारोबारको ०.१५ प्रतिशत अर्थात १४ बिलियन अमेरिकी डलर प्रयोग भएको अनुमान छ । अमेरिकामा ३ हजार अमेरिकी डलरभन्दा बढीको अभिलेख राख्नुका साथै १० हजार अमेरिकी डलरभन्दा बढीको क्रिप्टो कारोबारको प्रतिवेदन बैङ्क तथा वित्तीय संस्थाले सम्बन्धित निकायमा गर्नुपर्ने व्यवस्था रहेको देखिन्छ ।

केही मुलुकहरुले क्रिप्टोकरेन्सीलाई मुद्राका रुपमा मान्यता नदिएता पनि डिजिटल एसेटका रुपमा स्वीकार गरी किनबेच, माइनिङ र स्वामित्व परिवर्तन गर्न दिई करको दायरामा ल्याएको पाइन्छ । भारतले सन् २०२२२३ को बजेटमा क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिका रुपमा मान्यता दिई त्यसबाट प्राप्त हुने आयमा ३० (तीस) प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरेको पाइन्छ । यसका साथै हरेक डिजिटल ट्रान्जेक्सनमार्फत् हुने कारोबारमा १ (एक) प्रतिशत थप कर लाग्ने व्यवस्था गरेको देखिन्छ ।

फाइनान्सियल कन्डक्ट अथुरिटीले क्रिप्टोकरेन्सी एटिएम बन्द गर्ने नभए कारबाही गर्ने चेतावनी दिएपश्चात १३ मार्च २०२२ देखि बेलायतमा संचालित सवै क्रिप्टोकरेन्सी एटिएम बन्द गर्ने आदेश दिइएको थियो । अमेरिकाले उत्तरकोरियाका तीन कम्प्युटर प्रोग्रामरहरुलाई १.३ अर्ब अमेरिकी डलर बराबरको पैसा र क्रिप्टोकरेन्सी चोर्ने उद्देश्यले श्रृखलावद्धरुपमा ह्याकिङ गरेको अभियोग लगाएको थियो ।

गत वर्ष उत्तरकोरियाली ह्याकरहरुले विभिन्न क्रिप्टोकरेन्सी मंचमा कम्तिमा सात पटक आक्रमण गरी करिब ४० करोड अमेरिकी डलर बराबरको डिजिटल मुद्रा चोरेको दाबी एक प्रतिवेदनले गरेको छ । गेराल्ड कोटेनको भारत भ्रमणको क्रममा भएको मृत्युपश्चात् क्वाडरिगर नामक क्यानडाको सबै भन्दा ठूलो क्रिप्टोकरेन्सीका लगानीकर्ताहरुको करिब १५ अर्व ७५ करोड रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी मुद्रा उनको मृत्युसँगै पासवर्डको अभावमा गायव हुने देखिएको छ ।

एक विटकोइनको मुल्य गतवर्ष ७० हजार युएस डलर रहेकोमा हाल २७ हजार युएस डलर रहन गएको छ । टेरा युएसडी नामक स्टेवल कोइनसँग सम्बन्धित टेरा लुना नामक टोकनको मूल्य गत महिना ११८ युएस डलर रहेकोमा २०७९ वैशाख २९ मा ०.०८ युएस डलर रहन गएको छ । यसबाट यसको प्रकृति अति नै स्पेकुलेटिभ रहेको देखिन्छ ।

नेपालमा क्रिप्टोकरेन्सी

नेपालले क्रिप्टोकरेन्सीलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको मुद्रा वा विदेशी मुद्रा वा विदेशी विनिमयको मान्यता नदिइएकोले यसलाई भुक्तानी गर्न, सटही गर्न प्रतिबन्ध लगाइएको छ । नेपालमा मात्र होइन विदेशमा बस्ने नेपालीहरुले पनि क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रतिवन्ध लगाइएको छ । यसका बाबजुद बिदेशमा रहेका करिब ४ लाखभन्दा बढी नेपालीले क्रिप्टोकरेन्सीमा अर्बौं रुपैयाँ लगानी गरेको अनुमान गरिएको छ ।

वैदेशिक रोजगारीमा जानेहरुले यसमा लगानी गरेका कारण रेमिट्यान्समा पनि नकारात्मक असर परेको अनुमान छ । अनौपचारिक माध्यमबाट हुण्डीको प्रयोग गरी भुक्तानी पठाई विदेशमा क्रिप्टोमा लगानी गर्नु उल्लेखित दुवै ऐनको प्रतिकूल रहने हुँदा यस्तो कार्यलाई गैरकानुनी मानिन्छ । नेपालमा कानुनी रुपमा हालसम्म क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिको रुपमा मान्यता दिइएको छैन ।

राजस्व अनुसन्धान विभागले चालु आवमा ४ प्रतिवादीविरुद्ध यससम्बन्धी कसुरमा संलग्न भएको अभियोगमा करिव ३७ करोड बिगो दाबी गरी मुद्दा दायर गरेको छ । यसैगरी राजस्व अनुसन्धान विभागको मिति २०७८/१२/०१ मा प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार आपसी मिलोमतोमा मोबाईल एप्स प्रयोग गरी बिदेशी विनिमय अमेरिकन डलरको अनलाइनमार्फत् अवैध कारोबार गरेको भनी ९ करोड ७५ लाख विगो दाबी गरी मुद्दा दायर गरेको पाइन्छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सन्दर्भमा वित्तीय कारबाही कार्यदलको सिफारिश नं. १५ मा नयाँ प्रविधिसम्बन्धी व्यवस्था रहेको छ । यसले मुलुक र वित्तीय संस्थाहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सन्दर्भमा जोखिम पहिचान गर्दा नयाँ उत्पादन, नयाँ व्यवसायको अभ्यास र नयाँ वितरण प्रणालीको विकास र पुरानो तथा नयाँ वस्तुको कारोबारमा नयाँ र विकसित प्रविधिको प्रयोग गर्नुपूर्व जोखिम समाधान गर्ने प्रबन्ध गर्नु पर्दछ भन्नेतर्फ जोड दिएको पाइन्छ ।

भर्चुअल एसेटको जोखिमको पहिचान र भर्चुअल एसेट सर्भिस प्रोभाइडरको पहिचान गरी दर्ता/लाइसेन्स तथा तिनीहरुको नियमन तथा अनुगमनको प्रभावकारी व्यवस्था गरिनुपर्दछ । यसका लागि भर्चुअल एसेटलाई एसेटका रुपमा मान्यता दिन आवश्यक हुन्छ । नेपालमा क्रिप्टोलाई भर्चुअल एसेटका रुपमा मान्यता दिइएको छैन । यसको कारोबार गर्ने भर्चुअल एसेट सर्भिस प्रोभाइडरको पहिचान गरी दर्ता गर्न कठिन रहेको देखिन्छ ।

प्रचलित कानुनी व्यवस्थाः

क) विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९,
ख) विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१.
ग) वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन ) गर्ने ऐन, २०७४,
घ) वित्तीय कारबाही कार्यदलको सिफारिश नं. १५ (नयाँ प्रविधि) र
ङ) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७८. मा नयाँ प्रविधि वा आफै उपस्थित नहुने ग्राहक वा कारोबारसम्बन्धी व्यवस्था रहेको छ ।

क्रिप्टोकरेन्सी र वित्तीय आपराध

क्रिप्टोकरेन्सीको कारोबारमा पेमेन्ट सर्भिस प्रोभाईडर जस्तै ई-वालेट, ई-सेवा, खल्ती आदिको प्रयोग भएको अनुमान छ । तसर्थ, आईपी एड्रेस ट्र्याकिङ गरेर छानबिन गरिनुपर्दछ ।

यसको स-साना कारोबारमा इ-वालेटहरु प्रयोग भएपनि ठूला कारोबारहरुमा बैङ्क तथा वित्तीय संस्थाहरु पनि कुनै न कुनै रुपमा संलग्न रहन सक्ने देखिन्छ । बैङ्क स्टेटमेन्टमा क्रिप्टो वा हाइपर नलेखी विविध वा रासन आदि उल्लेख गरेकोमा अनुसन्धानको क्रममा पहिचान गर्न कठिन हुने भएकाले यसतर्फ पनि अनुसन्धानको क्रममा विशेष ध्यान दिनु आवश्यक छ । क्रिप्टोकरेन्सी र हुण्डी कारोबारबीच घनिष्ठ सम्बन्ध रहेको देखिन्छ ।

क्रिप्टो कारोबारको नियन्त्रण गर्न हुण्डी कारोबारलाई पनि नियन्त्रण गर्नु उत्तिकै जरुरी देखिन्छ । उत्तरदायित्व र सुरक्षाको अभाव रहने भएकाले आतङ्कवादी क्रियाकलाप तथा लागूऔषधको कारोबार आदिमा समेत यसको प्रयोग हुन सक्ने सम्भावना देखिन्छ । यो कर छली, मानव तस्करी, वित्तीय आपराध लगायतका गैरकानुनी कार्यमा प्रयोग हुने सम्भावना बढी रहन्छ ।

विद्युतीय मुद्राको पहिचान, वित्तीय अभिलेखको पुनरावलोकन, स्टिङ्ग अपरेशन र विद्युतीय उपकरणको विधिविज्ञान परीक्षण आदिवाट क्रिप्टो कारोबारको पहिचान गर्न सकिन्छ । बरामद गरिएको क्रिप्टो व्यवस्थापनका लागि नियन्त्रणमा लिने निकायको पनि आफ्नो वालेट हुनु आवश्यक हुन्छ । सीम कार्ड र मानिस पक्राउ परेको अवस्थामा पनि अर्को सिमकार्ड निकाली क्रिप्टो डिलिट गर्न सक्ने भएकाले तत्काल बरामद गरिनु पर्दछ । यसका लागि विद्यमान जनशक्तिको क्षमता विकास र अनुसन्धानकारी निकायहरुबीचको समन्वयलाई थप सुदृढ बनाउनु पनि त्यत्तिकै आवश्यक छ । यस सम्बन्धमा नयाँ युवाहरुको संलग्नता बढी रहेको देखिएकाले उनीहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्दछ ।

पैसालाई पछ्याई अपराधीहरु पत्ता लगाउने अनुसन्धानकर्ताहरुका लागि धेरै पुरानो जुक्ति हो । क्रिप्टोकरेन्सीको प्रकृति अज्ञात भए पनि विगत केही वर्षमा यससँग सम्बन्धित दर्जनौं साइवर अपराधीहरु पक्राउ परेका छन् ब्लकचेन भरी भएका उनीहरुको रकमलाई पत्ता लगाउने नयाँ तरिकाका कारण यो सम्भव भएको हो ।

सुझाव

१, ऐन नबन्दासम्म नेपाल राष्ट्र बैङ्कले सम्बद्ध निकायलाई निर्देशन जारी गरी नियन्त्रण गर्ने,
२, यथाशीघ्र कानुनको निर्माण गरी कार्यान्वयनमा ल्याउने,
३, वास्तविक धनीको पहिचान गरेर कानुनको दायरामा ल्याउने,
४ क्रिप्टोकरेन्सीमा लगानी गर्दा हुन सक्ने जोखिम तथा कानुनी झन्झटबाट बच्न जनचेतना अभिवृद्धिमा जोड,
५, भर्चुअल एसेटको जोखिम न्यून गर्न भर्चुअल एसेट सर्भिस प्रोभाइडरहरुलाई दर्ता गरी प्रभावकारी रुपमा अनुगमन गर्ने व्यवस्था मिलाउने,
६, सरोकारवालाहरु समेतको सहभागितामा अध्ययन गरी प्राप्त सुझावको तत्काल गुणात्मक रुपमा कार्यान्वयन गर्ने,
७, हुण्डीलगायतका अनौपचारिक माध्यमबाट हुने भुक्तानीको नियमनलाई थप प्रभावकारी बनाउने,
८, पैसा पठाउँदाको लागत र समयका कारण हुण्डी र क्रिप्टोले प्रश्रय पाएको हुनसक्ने भएकाले यसको उचित सम्बोधन गर्ने,
९ सूचक संस्था, नियामक निकाय र अनुसन्धानकारी निकायले जोखिममा आधारित दृष्टिकोणको अवलम्बन गर्ने,
१०, क्षमता अभिवृद्धिका लागि अध्ययन, तालिमको व्यवस्था गर्ने,
११, नेपाल दूरसञ्चार प्राधिकरणमार्फत यस कार्यमा प्रयोग हुनसक्ने वालेटहरु बन्द गर्ने,
१२ रेमिट्यान्सको कारोबार गर्नेहरुसँग रेमिट्यान्स प्राप्तिको विवरण लिई त्यसको विश्लेषण तथा अनुसन्धान गरी कानुनको दायरामा ल्याउने,
१३,विज्ञको रोष्टर बनाई सेवा लिने र
१४, अनुसन्धानकारी निकायहरुवीचको समन्वयलाई थप सुदृढ गर्दै संयुक्त तथा समानान्तर अनुसन्धानमा जोड दिने ।
निष्कर्षः क्रिप्टोकरेन्सीको वित्तीय आपराधमा हुन सक्ने प्रयोगलाई न्यूनीकरण गर्न जोखिममा आधारित दृष्टिकोणको अवलम्बन गर्नुपर्दछ।

विश्वब्यापी समस्याका रुपमा रहेको क्रिप्टोकरेन्सीका सम्बन्धमा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्दै, भर्चुअल सम्पत्तिको कारोबार एवं सेवा प्रदायकहरुलाई नियमनको दायरामा ल्याई यसको प्रभावकारी रुपमा व्यवस्थापनमार्फत सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको जोखिमसमेत न्यूनीकरण गर्न जरुरी छ ।

अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई देशको वास्तविकतामा ढालेर प्रयोग गर्नु आजको आवश्यकता हो । (सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रकाशन गरेको सम्पत्ति नामक जर्नलबाट)


क्लिकमान्डु