बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्ने समय चार महिना बाँकी, १३ कम्पनी मर्जर प्रक्रियामा



काठमाडौं । नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति)ले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि निर्णय गरेको थियो ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।

प्राधिकरणले कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्न दिएको समय अवधि अब चार महिना मात्रै बाँकी छ  । प्राधिकरणकाअनुसार २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गरिसक्नुपर्ने छ ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरुलाई ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने बाटो प्राधिकरणले खोलिदिएको थियो ।

जसअनुसार जीवन तथा निर्जीवन बीमा गरी १९ वटा कम्पनीहरुले एक आपसमा मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

जसमध्ये हिमालयन एभरेष्ट (हिमालयन र एभरेष्ट इन्स्योरेन्स) र सानिमा जीआईसी (सानिमा जनरल र जनरल इन्स्योरेन्स) ले भने एकीकृत कारोबार समेत शुरु गरिसकेका छन् । यी बाहेकका अन्य कम्पनीले पनि मर्जरमा जाने सैद्धान्तिक सहमति पाईसकेका छन् ।

मर्जरमा जाने सैद्धान्तिक सहमति पाएका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इस्योरेन्स, रिलायन्स लाइफ र सानिमा लाइफ, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल, महालक्ष्मी लाइफ र प्रभु लाइफ, प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जान लागेका हुन् ।

७ जीवन बीमा कम्पनी मर्जर प्रक्रियामा

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले एक आपसमा गाभ्ने, गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ती मध्ये सूर्या र ज्योति लाइफले एकीकृत कारोबारको मिति तय गरेका छन् । कम्पनीहरुले ‘सूर्य ज्योति लाइफ इन्स्योरेन्स’को नामबाट पुस ७ गते बिहीबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

भने सात वटा जीवन बीमा कम्पनी मर्जर प्रक्रियामा छन् ।

प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । मर्जरमा जान लागेका प्राइम लाइफको दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब ८ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड चुक्ता पुँजी छ । एक बराबर एक अनुपातमा मर्जर भएपछि नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी सात अर्ब रुपैयाँ नाघ्ने छ ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीले एक बराबर एकको अनुपातमा गाभिने निर्णय गरेका थिए । मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । कम्पनीको पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

रिलायन्स लाइफ र सानिमा लाइफले एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा असार २९ गते हस्ताक्षर गरेका थिए । कम्पनीहरु समान हैसियतमा गाभिन लागेका हुन् । मर्जर पश्चात यो कम्पनीको पुँजी ४ अर्ब १० करोड पुग्ने छ ।

६ निर्जीवन बीमा कम्पनी मर्जर प्रक्रियामा

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १० वटाले एक आपसमा मर्जरमा गई पुँजी वृद्धि गर्ने निर्णय गरी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तीमध्ये हिमालयन जनरल, एभरेष्ट इन्स्योरेन्स र जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्सले एकीकृत कारोबार गरिसकेका छन् ।

जसअनुसार ६ निर्जीवन बीमा कम्पनीहरु मर्जरको प्रक्रियामा छन् ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले असार २७ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीहरुले बराबरी हैसियतमा गाभ्ने÷गाभिने निर्णय गरेका थिए ।

हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ र प्रिमियरको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ ।नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेका थिए ।

दुबै कम्पनीले १०० बराबरका ८० को अनुपातमा मर्जरमा जान सहमति जनाएका थिए । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १००ः८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ ।

अजोड र प्रभु इन्स्योरेन्सले असार ३२ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । प्रभु र अजोड इन्स्योरेन्सबीच १००ः७० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको थिए ।

हाल प्रभुको चुक्ता पुँजी एक अर्ब २८ करोड ९७ लाख रुपैयाँ र अजोडको एक अर्ब रुपैयाँ छ । मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ ।

शिखरको पुँजी पुग्यो, अन्य कम्पनीको के छ अवस्था ?

शिखर इन्स्योरेन्सको हालको चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने छ । जुन नियामकले तोकेको न्यूनतम चुक्ता पुँजी भन्दा बढी हो ।

हाल नेपाल इन्स्यारेन्सको चुक्ता पुँजी एक अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लगानीकर्ताका लागि हाल कायम रेहेको चुक्ता पुँजीको ८.४२ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

आइएमई जनरलको चुक्ता पुँजी एक अर्ब ७० करोड १६ लाख ५१ हजार रुपैयाँ छ । यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको हालको चुक्ता पुँजी एक अर्ब १८ करोड ६१ लाख ४५ हजार रुपैयाँ छ । कम्पनीले आव २०७८÷७९ को मुनाफाबाट लगानीकर्तालाई वितरण गरिने लाभांश घोषणा गरेको छैन ।

एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३२ करोड ६६ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ, यूनाइटेड इन्स्योरेन्सको एक अर्ब २ करोड ८१ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको एक अर्ब ७४ करोड ९८ लाख रुपैयाँ छ ।

नेपाल लाइफको पुँजी पुग्यो, नेशनलको नजिक

जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफको पुँजी प्राधिकरणले तोके बमोजिम पुगिसकेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब माथि छ । जुन नियामकले तोके भन्दा बढी हो ।

यस्तै, नेशनल लाइफको पुँजी भने प्राधिकरणले तोके बमोजिम नजिक पुगेको छ ।

हाल नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रुपैयाँ छ । यस्तै, एलआइसी नेपालको हालको पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । एशियन लाइफको हालको पुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँ छ ।

यस्तै, राष्ट्रिय बीमा संस्थानको पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ छ । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा ऐन, २०७९ कात्तिक २२ गतेदेखि लागू भईसकेको छ । उक्त ऐन लागू भएको एक वर्षभित्रमा संस्थान कम्पनीमा परिणत हुने उल्लेख छ ।

यस्तै, आईपीओ निष्कासन गर्न बाँकी रहेका ५ वटा जीवन बीमा कम्पनीमध्ये आईएमई लाइफ बाहेक अन्य सबैले संस्थापकमार्फत थप रकम उठाईसकेका छन् ।

आइएमई लाइफले भने संस्थापकमार्फत थप रकम उठाईसकेको छैन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले साविक सेयरुधनीहरुबाट सेयरमा लगानी भएको रकमको थप १०० प्रतिशत पुँजी मा गर्ने निर्णय गरेको थियो ।

कम्पनीले मंसिर २० गतेसम्म उक्त रकम जम्मा गर्न आग्रह गरेको छ ।

यस्तै, सिटिजन लाइफलेसंस्थापक सेयरधनीहरूलाई ५० प्रतिशत रकम जम्मा गरेको थियो । सन नेपाल लाइफले संस्थापक सेयरधनीहरुबाट सेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गरेको थियो ।

महालक्ष्मी लाइफले पनि संस्थापक सेयरधनीहरुमार्फत सेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गरेको थियो । रिलायबल नेपाल पनि संस्थापक सेयरधनीहरुलाई सेयर वापतको बराबर १ का दरले थप रकम उठाईसकेको छ ।

यस्तै, रिलायबल नेपाल लाइफले आइपीओ जारी गर्न बाँकी रहेका ५ कम्पनीमध्ये रिलायबल नेपाल लाइफले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँमा (प्रमियम मूल्य सहित) १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

विदेशी बीमकको रुपमा दर्ता भएका कम्पनी

मेट लाइफ, नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स विदेशी बीमा कम्पनीका शाखा कम्पनी हुन् । ‘विदेशी बीमकको रुपमा दर्ता भई सञ्चालनमा रहेका बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका,२०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी बराबरको निर्धारित पुँजी(असाइन क्यापिटल) कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लेखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको छ,’ प्राधिकरणले भनेको छ ।


बिजया बास्कोटा