गोल्यान र एमएस ग्रुपको संयुक्त लगानी रहेको रिलायन्स स्पिनिङ मिल्सले गर्‍यो एकै वर्ष १० अर्बको व्यापार



काठमाडौं । गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानी रहेको रिलायन्स स्पाइनिङ मिल्सले एकै वर्ष १० अर्ब १० करोड ४० लाख (अपरिष्कृत) रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब बढीको व्यापार गरेको हो ।

नेपालको धागो क्षेत्रमा सबैभन्दा ठूलो उद्योगको रुपमा स्थापित रिलायन्स स्पाइनिङ मिल्स सन् १९९४ मा स्थापना भएको हो । कम्पनीले पोलिस्टर, भिस्कोस, एक्रिलिक/ब्लेन्डेड र पोलिस्टर टेक्चर धागो उत्पादन गर्दै आएको छ । कम्पनीसँग धागो उत्पादन गर्ने दुईवटा उद्योग छन् । कम्पनीअनुसार सुनसरीको खनार र दुहबीको धागो उद्योगबाट वार्षिक ४० हजार ६८० मेट्रिक टन धागो उत्पादन गर्दै आएको छ ।

कम्पनीको व्यापार सन् २०२१ को तुलनामा २९.६५ प्रतिशतले बढेको छ । जसमा कम्पनीले सन् २०२१ मा ७ अर्ब ७९ करोड २० लाख रुपैयाँ र सन् २०२० मा ६ अर्ब २६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२२ मा परिमाणको हिसाबले पनि उच्च व्यापार भएको छ । सन् २०२२ मा धागोको मूल्य २२ प्रतिशतले बढेकाले पनि आम्दानी धेरै देखिएको कम्पनीको भनाइ छ ।

सन् २०२१ मा धागोको मूल्य प्रतिकेजी २६५ रुपैयाँ रहेकोमा सन् २०२२ मा ३२३ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले सन् २०२२ मा १० अर्बको व्यापार गर्दा १ अर्ब ४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा ७५ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८ अर्ब ९५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ८७ करोड रुपैयाँ अर्थात् ए माइनस र अल्पकालीन कर्जाका लागि ५ अर्ब ८ करोड रुपैयाँ अर्थात् एटु प्लस रेटिङ पाएको छ ।

उत्पादन क्षेत्रमा २५ वर्ष अनुभव भएको गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यान र एमएस ग्रुपका शशीकान्त अग्रवालको संयुक्त लगानी रहेको उद्योगले धागो उत्पादन गरी विभिन्न देशमा निर्यात गर्दै आएको छ । कम्पनीअनुसार पछिल्लो समय क्षमता बढाएसँगै व्यापार पनि बढेको छ ।

त्यसैगरी, कम्पनीले सन् २०२३ बाट कटन स्पन धागो उत्पादन गर्ने भएको छ । उक्त धागो उत्पादन गरेसँगै बजारबाट फाइदा लिन सक्ने र आन्तरिक बजारलाई समेत सहज हुने कम्पनीको दाबी छ । कम्पनीले अधिकांश आम्दानी निर्यातबाट गर्ने गरेको उल्लेख छ । कम्पनीले आन्तरिक बजारसँगै भारत र टर्कीमा उच्च धागो निर्यात गर्दै आएको छ । जसमा कम्पनीले आम्दानी गरेकोमध्ये ७४ प्रतिशत भारत र टर्कीमा निर्यात गरेको धागोबाट भएको छ । त्यसमा भारतको हिस्सा १८ प्रतिशत रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले धागो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ चीन, भारत, हङकङ, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डबाट आयात गर्दै आएको छ । कम्पनीको मुख्य कच्चा पदार्थ अर्थात् पोलिस्टर स्ट्यापल फाइबरको मूल्य कच्चा तेलसँग जोडिएको छ । कच्चा तेलको मूल्यले गर्दा धागोको मूल्यमा निकै असर परेको कम्पनीको भनाइ छ । कम्पनीले उत्पादन गरेको सेन्थेटिक धागोको मुख्य बजारमा भारत र टर्की हुन् ।


क्लिकमान्डु