बीमा कम्पनीहरुले यी ११ क्षेत्रमा लगानी गर्न पाउने, कुनमा कति ?



काठमाडौं । जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुले विभिन्न ११ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुलाई लगानी गनुपर्ने क्षेत्र तोकिदिएको हो ।

बीमा प्राधिकरणले बीमकको लगानीसम्बन्धी निर्देशिका, २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।

लगानीको दायरा फराकिलो भए पनि कम्पनीहरुको लगानी भने बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै सीमित हुँदै आएको छ ।

लगानीको दायरा फराकिलो बनाए पनि सो व्यवस्थाअनुसार कम्पनीहरुको लगानी भने विविधिरण हुन सकेको छैन ।

यस अघिको निर्देशिका बमोजिम बीमा कम्पनीहरुले लगानी विविधिकरण नगरेपछि प्राधिकरणले पुनः निर्देशिका नै जारी गरी लगानीका क्षेत्रहरु तोकिदिएको हो ।

प्राधिकरणले जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीका लागि छुट्टा छुट्टै निर्देशिका जारी गरी लगानीको क्षेत्र निर्धारण गरिदिएको हो ।

प्राधिकरणले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा गरिनुपर्ने अंशलाई घटाएको छ । प्राधिकरणले नेपाल सरकारको बचतपत्रमा गरिने लगानीको अंशलाई वृद्धि गरेको छ ।

यस क्षेत्रमा जीवन बीमा कम्पनीहरुले २५ प्रतिशत, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुले २०/२० प्रतिशत लगानी गर्न पाउनेछन् । यस अघि कम्पनीले नेपाल सरकारको बचतपत्रमा कुल लगानीको न्यूनतम ५ प्रतिशत मात्रै लगानी गर्न सक्ने व्यवस्था थियो ।

कम्पनीहरुले वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ३०/३० प्रतिशत लगानी गर्न पाउने छन् । यस अघि प्राधिकरणले वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेमा गरिने लगानीलाई छुट्टाछुट्टै शिर्षकमा राखेको थियो ।

यस अघिको व्यवस्था बमोजिम कम्पनीहरुले वाणिज्य बैंक र नेपाल पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा न्यूनत ४०/४० प्रतिशत लगानी गर्न पाउथे ।

प्राधिकरणले कम्पनीहरुलाई विकास बैंकको मुद्दती निक्षेपमा गरिनसपर्ने लगानीको अंश घटाईदिएको छ । जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले विकास बैंकको मुद्दती निक्षेपमा कुुल लगानीको बढीमा १० प्रतिशत लगानी गर्न पाउने भएका छन् । यस अघि यस क्षेत्रमा कुल लगानीको न्यूनतम २० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था प्राधिकरणले गरिदिएको थियो ।

यस्तै, प्राधिकरणले फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा गरिने लगानीको अंश समेत घटाएर ५ प्रतिशतमा झारिदिएको छ । नयाँ व्यवस्थाअनुसार कम्पनीहरुले फाइनानसको मुद्दती निक्षेपमा कुल लगानीको बढीमा ५ प्रतिशत लगानी गर्न पाउनेछन् । यस अघि कम्पनीहरुले यस क्षेत्रमाकुल लगानीको बढी १० प्रतिशत लगानी गर्न सक्थे ।

नयाँ व्यवस्थाअनुसार क, ख र ग बर्गको ऋणपत्रमा जीवन बीमा कम्पनीहरुले ३० प्रतिशत, निर्जीवनले २० प्रतिशत र पुनर्बीमाले २० प्रतिशत लगानी गर्न पाउने छन् । यस अघि कम्पनीहरुले यस क्षेत्रमा कुल लगानीको बढीमा २०/२० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था थियो ।

यस्तै, नयाँ व्यवस्थाअनुसार कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १०/१० प्रतिशत लगानी गर्न पाउनेछन् । यस अघिको व्यवस्थामा पनि कम्पनीहरुले यस क्षेत्रमा कुल लगानीको बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउथे ।

प्राधिकरणले हाल नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ । यस अघिको व्यवस्थामा पनि कम्पनीहरुले यस क्षेत्रमा ५ प्रतिशत नै लगानी गर्न पाउथे ।

प्राधिकरणले घर जग्गा व्यवसायमा कम्पनीहरुले गर्नुपर्ने लगानीको अंश बढाएको छ । नयाँ व्यवस्था अनुसार कम्पनीहरुले यस क्षेत्रमा १० प्रतिशत लगानी गर्न सक्नेछन् । यस अघि प्राधिकरणले कम्पनीहरुले घर जग्गामा कुल लगानीको बढीमा ५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिदिएको थियो । तर, पनि नेशनल लाइफ बाहेक अरु कम्पनीले लगानी गरेका छैनन् ।

प्राधिकरणले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा कुल लगानीको १० प्रशिततसम्म लगानी गर्न सकिने व्यवस्था कम्पनीहरुलाई गरिदिएको छ ।

यस्तै, प्राधिकरणले कम्पनीहरुलाई इन्भेष्टमेन्ट कम्पनीको सेयरमा पनि लगानीगर्न सक्ने व्यवस्था गरिदिएको छ । यस क्षेत्रमा कम्पनीहरुले कुल लगानीको ५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

लगानी नीति तयार गर्नुपर्ने

बीमकले यस निर्देशनको अधिनमा रही लगानी नीति तयार गर्नुपर्नेछ र उक्त लगानी नीतिमा कम्पनीमा विभिन्न सात वटा विषयहरु खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

कम्पनीहरुले बीमकको लगानीमा रहन सक्ने अन्तर्निहित जोखिम र सोको व्यवस्थापन, सम्पत्ति दायित्व तथा तरलता व्यवस्थापन, लगानी गर्ने सम्बन्धमा प्रक्रियागत व्यवस्था, अख्तियार प्रत्यायोजन, लगानीसँग सम्बन्धित आन्तरिक नियन्त्रण प्रणाली, लगानीका सम्बन्धमा सञ्चालक समिति तथा उच्च व्यवस्थापन समक्ष पेश गर्नुपर्ने प्रतिवेदन र बीमकले आवश्यक ठानेका अन्य विषय खुलाउनुपर्ने छ ।

कम्पनीहरुले लगानी गर्दा बीमा सम्बन्धी दायित्वको अवधिलाई ख्याल गरी लगानी गर्नुपर्ने छ ।

स्वीकृति लिनुपर्ने

बीमा कम्पनीहरुले कम्पनीको सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने छ ।

लगानीको सीमा प्रत्येक दिन कायम गर्नुपर्ने

कम्पनीहरुले यस निर्देशिकाबमोजिम कुल लगानीको आधारमा कायम गर्नुपर्ने लगानीको सीमा प्रत्येक दिन कायम गर्नुपर्ने छ । कुनै कारणले निर्देशनमा भएको न्यूनत भन्दा कम र उच्चतम भन्दा बढी भएको अवस्था देखिएमा त्यसरी सीमा नाघेको ३० कार्यदिन भित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याई सक्नुपर्ने छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप वा डिवेन्चरमा गरिएको लगानी परिपक्व नभएसम्म सो रकम बराबरको लगानी यस निर्देशन बमोजिम भएको मानिने प्राधिकरणले जनाएको छ।

यस्तै, कम्पनीहरुले यस निर्देशनमा उल्लेख भएको क्षेत्र तथा सीमा भन्दा बढी हुने गरी लगानी गर्न पाउने छैनन् ।


क्लिकमान्डु