तरलता अभाव र ब्याजदर वृद्धिको असरः २८%ले माग घट्यो, थप लगानीबाट ७०% पछि हटे



काठमाडौं । बजारमा अहिले चरम तरलता अभाव छ । तरलता अभाव हुँदा बजारमा लगानीयोग्य क्षेत्रमा लगानी हुन सकेको छैन । एकातिर तरलता अभाव छ भने अर्कोतर्फ ब्याजदर वृद्धि झण्डै दोब्बर भएको छ ।

बजारमा तरलता अभाव र ब्याजदर वृद्धिले बजारको मागमा संकुचन आएको छ भने व्यवसायीहरु लगानीबाट पछि हटेका छन् । अहिले अधिकांश व्यवसायीहरुले तरलता अभाव र मूल्यवृद्धिको चेपुवामा परेको बताइरहेका छन् ।

नेपाल उद्योग परिसंघले गरेको पछिल्लो अध्ययनले तरलता अभाव र ब्याजदर वृद्धिले बजारको मागमा संकुचन आएको निष्कर्ष निकालेको छ । परिसंघले विभिन्न क्षेत्रको अध्ययन गरेको थियो । जसमा तरलता अभाव र व्याजदर वृद्धिले व्यवसायी मारमा परेको जनाएको छ ।

समग्र क्षेत्रको अध्ययनअनुसार अहिले बजारमा माग २८.२८ प्रतिशतले घटेको देखाउँछ । परिसंघले देशभर रहेका क्षेत्र र उपक्षेत्र गरी १८ वटा विभिन्न क्षेत्रको अध्ययन गरेको थियो । उक्त अध्ययनबाट अहिले बजार मागमा निकै संकुचन देखाएको हो ।

बजार समग्रमा २८ प्रतिशतले माग घटेको छ भने २५ प्रतिशतले कारोबार घटेको अध्ययनमा उल्लेख छ ।

नेपालले अधिकांश वस्तु आयात गरी बजारमा आपूर्ति गर्दै छ । तर, तरलता अभाव र ब्याजदर वृद्धिका कारण आयातित वस्तुमा समेत कमी आएको छ । परिसंघअनुसार अहिले वस्तु आयात गर्नका लागि खोलिने एलसी पनि २२ प्रतिशतले कमी आएको छ ।

अटोमोबाइल क्षेत्रमा ७८ प्रतिशतले मागमा कमी आउँदा अन्य क्षेत्रमा कति ?

बजारमा तरलता अभाव र मूल्यवृद्धिले अटोमोबाइल क्षेत्रमा ७८ प्रतिशतले मागमा कमी आएको अध्ययनले देखाएको छ । सरकारले उच्च आयातका कारण बजारमा तरलता अभाव भएको भन्दै आयातमा कडाइ गरेको थियो । साथै, सरकारले विलासिताको वस्तुको आयातमा प्रतिबन्धसमेत गरेको थियो ।

आयातमा प्रतिबन्ध र मार्जिनको व्यवस्थाले नै अटोमोबाइल क्षेत्रमा निकै धक्का पुगेको छ । त्यस्तै, अहिले थप तरलता अभाव र ब्याजदर वृद्धिले अटोमोबाइल क्षेत्रका व्यवसायीहरु मारमा परेका छन् । साथै, व्यवसायीहरुले तरलता अभाव र ब्याजदर वृद्धिले व्यवसायी धरासायी भएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

परिसंघको अध्ययनले पनि अटोमोबाइल क्षेत्रमा मागसँगै कारोबारमा निकै संकुचन आएको देखिन्छ । अध्ययनअनुसार ७८.१ प्रतिशतले माग घट्दा ७१.१ प्रतिशतले कारोबार घटेको छ । साथै, एलसी ८९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, बजारमा सिमेन्टको माग ४०.२ प्रतिशतले घटेको छ भने अधिकांश सिमेन्ट क्षेत्रको कारोबार ३९ प्रतिशतले घटेको छ ।

इन्जिनियररिङ र निर्माण कम्पनीको माग ४३.४ प्रतिशत, फुटवेयर ४५.३ प्रतिशत, एलपीजी ग्यास १२ प्रतिशत, अन्य उत्पादन क्षेत्रमा २९.४ प्रतिशत, औषधी क्षेत्रमा १८.८ प्रतिशत, प्लास्टिक उत्पादन क्षेत्रमा ३८.२ प्रतिशत, घरजग्गा क्षेत्र ५२.८ प्रतिशत, एसएमईज ३३.७ प्रतिशत र स्टिल उद्योग क्षेत्रको ६१.१ प्रतिशतले माग घटेको छ ।

यो अवधिमा ई–कमर्सको माग ५.५ प्रतिशत, एफएमसीजी २.५ प्रतिशत, आइटी क्षेत्र १४.५ प्रतिशत र गोर्मन्ट क्षेत्रको माग १.१ प्रतिशतले बढेको छ ।

करिब ७० प्रतिशत व्यवसायी थप लगानीबाट पछि हटे

बजारमा लगानीयोग्य पुँजी नभएको र ब्याजदर वृद्धिले गर्दा करिब ७० प्रतिशत व्यवसायी थप लगानीबाट पछि हटेका छन् । अध्ययनअनुसार विभिन्न क्षेत्रका ६९.४४ प्रतिशतले थप लगानीबाट पछि हटेका हुन् ।

बजारमा अधिकांश कच्चा पदार्थको मूल्य बढेकाले उद्योगको लगानी बढ्ने देखिन्छ । साथै, बजारको मागसँगै कारोबार घटेको अवस्थामा थप लगानीबाट व्यवसायीहरु डराइरहेका छन् ।

त्यस्तै, उद्योग विभागको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष निकै कम उद्योग दर्ता भएका छन् । त्यसमा पनि ठूला खालको उद्योगमा कमी आएको छ ।

परिसंघले गरेको अध्ययनमा कृषि क्षेत्रका ८५.७१ प्रतिशत, अटोमोबाइल क्षेत्रका शतप्रतिशत, सिमेन्ट उत्पादन क्षेत्रका ८३.३ प्रतिशत, इन्जिनियरिङ र निर्माण कम्पनी क्षेत्रको ७१.४ प्रतिशत, ई–कमर्स क्षेत्रको ५० प्रतिशत, एफसीजी क्षेत्रको ४१.७ प्रतिशत, एपलपीजी ग्यासको ५० प्रतिशत, आइटी क्षेत्रको ४५.५ प्रतिशत र अन्य क्षेत्रको ७२.२ प्रतिशत व्यवसायी थप लगानीबाट पछि हटेका छन् ।

त्यस्तै, प्लास्टिक क्षेत्रको ८० प्रतिशत, रियल स्टटे क्षेत्रको ४० प्रतिशत, एसएमईज क्षेत्रको ४२.९ प्रतिशत, स्टिल क्षेत्रको ८५.७ प्रतिशत र गार्मेन्ट क्षेत्रको ८५.७ प्रतिशत व्यवसायी तरलता अभाव र ब्याजदर वृद्धिले गर्दा थप लगानी गर्नबाट डराएका छन् ।

साथै, औषधी, फुटवेयर र अटोमोबाइल क्षेत्रका व्यवसायीहरुले भने कुनै पनि थप लगानी गर्ने मनिस्थितिमा छैनन् । अहिले बजारमा कच्चा पदार्थको समग्र मूल्य २३ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । साथै, ब्याजदर बढेर करिब १४ प्रतिशत पुगेको छ । यो अवस्थामा कुनै पनि क्षेत्रका व्यवसायीले जोखिम मोलेर थप लगानी ल्याउन नसक्ने व्यवसायीहरुको भनाइ छ ।


क्लिकमान्डु