फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिन मिल्छ ?



काठमाडौं । कसैले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति, त्यसबाट प्राप्त हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा अर्को व्यक्तिले प्रयोग गर्न सक्ने गरी निःशुल्क रूपमा दिएकोमा फलोपभोगको व्यवस्था भएको मानिन्छ ।

मुलुकी देवानी संहित २०७४ मा फलोपभोगको व्यवस्था गरेको छ । सरकारले सहज र व्यवस्थित गर्नका लागि फलोपभोगमा विभिन्न मापदण्डको व्यवस्था गरेको पाइन्छ ।

मुलुकी देवानी संहिताअनुसार फलोपभोगको व्यवस्था सम्बन्धित व्यक्तिहरू बीच भएको करार बमोजिम हुनेछ । करार बमोजिम कायम भएको फलोपभोगको व्यवस्था करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक करार प्रारम्भ भएको मितिदेखि प्रभावकारी हुनेछ । त्यस्तै, कसैले आफ्नो अचल सम्पत्ति फलोपभोग गरी दिँदा कानून बमोजिम लिखत गर्नु पर्नेछ । साथै, कसैले सगोलको सम्पत्ति फलोपभोगको रूपमा दिँदा एकासगोलको अंशियारको सहमति लिनु पर्नेछ ।

त्यसैगरी, कसैले आफ्नो सम्पत्ति कसैलाई फलोपभोग गर्न दिएकोमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने फलोपभोगीले सम्पत्ति, त्यसबाट प्राप्त वा आर्जन हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा र त्यसबाट बढे बढाएको प्रतिफल, लाभ, आम्दानी वा सुविधा आफ्नो सम्पत्ति सरह प्रयोग गर्न पाउनेछ ।

तर, सम्पत्ति प्राप्त गर्ने एकभन्दा बढी फलोपभोगी भएकोमा प्रत्येक फलोपभोगीले सामूहिक रूपमा वा एक्ला एक्लै त्यस्तो सम्पत्ति प्रयोग गर्न पाउनेछन् ।

फलोपभोगको व्यवस्थाअन्तर्गत प्राप्त भएको सम्पत्ति अंशबण्डा भएकोमा अंशबण्डा बमोजिम फलोपभोग गर्न पाउने प्रत्येक अंशियारले सम्पत्ति प्रयोग गर्न पाउनेछन् ।

फलोपभोगीले फलोपभोगको व्यवस्थाअन्तर्गत प्राप्त भएको सम्पत्तिको संरक्षण वा भोगचलनको लागि आवश्यकतानुसार अदालतमा नालिस दिन सक्नेछ ।

त्यसैगरी, सरकारले फलोपभोगअन्तर्गत फलोपभोगीले सबै प्रकारका सम्पत्ति प्रयोग गर्न नसक्ने व्यवस्था गरेको छ । जसमा सरकारले सम्पत्तिसँग सम्बन्धित खानी तथा खनिज पदार्थ सम्पत्ति फलोपभोगीले प्रयोग गर्न नसक्ने उल्लेख छ । तर खानी नै फलोपभोग अन्तर्गत प्रयोग गर्न दिएकोमा त्यस्तो खानी प्रयोग गर्न सकिनेछ ।

साथै, हुर्किसकेका रुख पनि फलोपभोगील प्रयोग गर्न पाउने छैन । तर रुखबाट प्राप्त हुने फल, फूल वा अन्य पैदावार प्रयोग गर्न सकिनेछ।

त्यस्तै, फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त भएको सम्पत्ति स्वामित्ववालाको पूर्व स्वीकृति बिना त्यस्तो सम्पत्तिको मौलिक अवस्था (सब्स्टयान्स) वा त्यसको स्वरूप (फर्म) मा उल्लेख्य रूपमा हेरफेर गर्न वा त्यस्तो सम्पत्ति बिनाश गर्न पाउने छैन ।

तर फलोपभोग अन्तर्गत दिइएको सम्पत्तिको स्वरुप हेरफेर वा त्यसको बिनाश बिना प्रयोग गर्न नसकिने भए करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो सम्पत्ति फिर्ता गर्दा कायम हुन सक्ने मूल्य तिरी त्यस्तो सम्पत्तिको स्वरुप हेरफेर वा बिनाश गरी प्रयोग गर्न सकिनेछ।

त्यसैगरी, सरकारले फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिन सक्ने व्यवस्था गरेको छ । फलोपभोगीले चाहेमा फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति करारको अधीनमा रही लिखत गरी बहाल, लिज वा बन्धकीमा दिन सक्नेछ ।

तर, मासिक २० हजार रुपैयाँसम्ममा सम्पत्ति बहालमा दिँदा लिखत गर्नु पर्ने छैन । त्यसरी बहाल, लिज वा बन्धकीमा सम्पत्ति दिएकोमा फलोपभोगीले स्वामित्ववालालाई जानकारी गराउनु पर्नेछ । फलोपभोगअन्तर्गत प्राप्त सम्पत्ति फलोपभोग कायम रहनेभन्दा बढी अवधिको लागि बहाल, लिज वा बन्धकीमा दिन सकिने छैन ।

फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिँदा त्यस सम्बन्धी लिखतमा फलोपभोग अन्तर्गतको सम्पत्ति भएको कुरा उल्लेख गर्नु पर्नेछ ।

यदि नियम विपरीत कसैले फलोपभोगअन्तर्गत प्राप्त गरेको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिएको भए त्यस्तो व्यवहार स्वतः बदर हुनेछ । बहाल, लिज वा बन्धकीमा लिएको सम्पत्ति बहाल, लिज वा बन्धकी लिने व्यक्तिले फलोपभोगीले सरह प्रयोग गर्न सक्नेछ ।

फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति आफ्नै सम्पत्ति सरह मानी उचित र मनासिब तवरले मर्मत सम्भार तथा हेरविचार गर्नु पर्नेछ । कुनै व्यक्तिले फलोपभोगअन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा लिएकोमा निजले त्यस्तो सम्पत्तिको उचित र मनासिब तवरले हेरविचार गर्नु पर्नेछ । फलोपभोगीले फलोपभोगअन्तर्गत प्राप्त गरेको सम्पत्तिको मर्मत सम्भार आफ्नै खर्चमा गर्नु पर्नेछ ।

तर विपद्को कारण सारभूत रकम खर्च गरी त्यस्तो सम्पत्ति मर्मत र सम्भार गर्नु परेमा स्वामित्ववालाको पूर्व स्वीकृति लिनु पर्नेछ र त्यसरी भएको मर्मत सम्भारको खर्च स्वामित्ववालाले व्यहोर्नु पर्नेछ ।

फलोपभोगीले बहाल, लिज वा बन्धकीमा लिने व्यक्तिले सम्पत्ति प्रयोग गर्दा कुनै किसिमबाट हानि, नोक्सानी भएमा फलोपभोगी जिम्मेवार हुनेछ । तर विपद् परी त्यस्तो सम्पत्ति हानि, नोक्सानी भएकोमा फलोपभोगी जिम्मेवार हुने छैन ।

सम्पत्ति प्रयोग गर्दा हुन सक्ने हानि, नोक्सानीका विरुद्ध फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको संरक्षणको लागि बीमा वा अन्य आवश्यकं सुरक्षात्मक उपाय अपनाउन सक्नेछ ।

फलोपभोगअन्तर्गत प्राप्त गरेको सम्पत्तिको कानून बमोजिम लाग्ने कर, मालपोत वा दस्तुर फलोपभोगीले व्यहोर्नु पर्नेछ । तर फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति वापत भुक्तान गर्नु पर्ने सम्पत्ति कर स्वामित्ववालाले व्यहोर्नु पर्नेछ । फलोपभोगको व्यवस्था करारमा उल्लेख भएको अवधिसम्मको लागि बहाल रहनेछ ।

सरकारले कुनै प्राकृतिक व्यक्ति फलोपभोगी भएमा निजको मृत्यु भएको वा फलोपभोगको व्यवस्था भएको ४९ वर्ष पूरा भएकोमध्ये जुन पहिले हुन्छ त्यस्तो अवधि र कुनै कानूनी व्यक्ति फलोपभोगी भएमा त्यस्तो व्यक्ति विघटन भएको वा फलोपभोगको व्यवस्था भएको २९ वर्ष पूरा भएकोमध्ये जुन पहिले हुन्छ त्यस्तो अवधि फलोपभोगको व्यवस्था बहाल रहने छैन ।

एकभन्दा बढी व्यक्ति फलोपभोगी भएकोमा करारमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै फलोपभोगीको मृत्यु वा विघटन भएको अनुपातमा फलोपभोगको सम्पत्ति स्वामित्ववालामा हस्तान्तरण हुनेछ ।

फलोपभोगीले फलोपभोगअन्तर्गत प्राप्त गरेको सम्पत्ति हानि, नोक्सानी गरेमा, दुरूपयोग गरेमा, जुन प्रयोजनको लागि फलोपभोग अन्तर्गत सम्पत्ति लिएको हो त्यस अनुरूप सम्पत्ति प्रयोग नगरेमा वा अन्य कुनै किसिमले त्यस्तो सम्पत्तिमा स्वामित्ववालाको हक अधिकार उपर प्रतिकूल असर पार्ने कुनै काम गरेमा सम्बन्धित स्वामित्ववालाले जुनसुकै बखत फलोपभोगको व्यवस्था रद्द गर्न सक्नेछ । फलोपभोगको व्यवस्था रद्द भएमा फलोपभोगीले फलोपभोगअन्तर्गत प्राप्त गरेको सम्पत्ति फिर्ता गर्नु पर्नेछ ।

त्यसैगरी, फलोपभोगअन्तर्गत प्राप्त गरेको सम्पत्ति फलोपभोगीले प्रयोग गर्न नचाहेमा निजले जुनसुकै बखत त्यस्तो सम्पत्ति कम्तीमा पैँतालीस दिनको सूचना दिई स्वामित्ववालालाई फिर्ता गर्न सक्नेछ ।

त्यस्तै, एकभन्दा बढी प्राकृतिक व्यक्ति फलोपभोगी भएकोमा सबभन्दा पछि जुन फलोपभोगीको मृत्यु हुन्छ सोही मितिबाट फलोपभोग समाप्त भएको मानिनेछ । साथै, एकभन्दा बढी कानूनी व्यक्ति फलोपभोगी भएकोमा सबभन्दा पछि जुन फलोपभोगी कानूनी व्यक्तिको विघटन हुन्छ सोही मितिबाट फलोपभोग समाप्त भएको मानिनेछ ।

साथै, फलोपभोग रद्द भई सम्पत्ति फिर्ता भएमा, फलोपभोगीले फलोपभोगको सम्पत्ति फिर्ता गरेमा, फलोपभोगीले मनासिब कारण बिना फलोपभोगको व्यवस्था प्रभावकारी भएको मितिले छ महिनासम्म सो व्यवस्था अन्तर्गत प्राप्त सम्पत्ति प्रयोग नगरेमा, कुनै खास उद्देश्य पूरा गर्नको लागि फलोपभोगको व्यवस्था कायम गरिएको भए त्यस्तो उद्देश्य पूरा भएमा, फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फलोपभोगीको नाममा कानून बमोजिम हस्तान्तरण हुन गएमा र फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको पूर्ण रूपमा बिनाश भएमा फलोपभोग समाप्त भएको मानिनेछ ।

कुनै व्यक्तिको निश्चित उमेर पूरा नभएसम्म बहाल रहने शर्तमा कुनै सम्पत्ति फलोपभोगको व्यवस्थाअन्तर्गत दिएकोमा त्यस्तो व्यक्तिको त्यस्तो उमेर पूरा हुनु अगावै मृत्यु भएमा पनि निज जीवित रहे सरह त्यस्तो उमेर पूरा हुने मितिसम्म फलोपभोगको व्यवस्था बहाल रहनेछ ।


क्लिकमान्डु