५ महिनामा १ खर्बको लगानी प्रतिबद्धता, जलविद्युतमा मात्रै ७६ अर्ब स्वीकृत



काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा १ खर्ब रुपैयाँ बढी लगानी प्रतिबद्धता आएको छ । देशभर स्वदेशी र विदेशी गरी १ खर्ब ८ अर्ब ६९ करोड ५५ लाख रुपैयाँको प्रतिबद्धता आएको हो ।

उद्योग विभागको तथ्याङ्कअनुसार साउनदेखि मंसिर २३ गतेसम्ममा देशभरमा १०२ उद्योग दर्ता भएका छन् । उक्त दर्ता उद्योगबाट ७ हजार बढी रोजगारी सिर्जना हुनेछन् । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ५ अर्ब ७ करोड ८८ लाख रुपैयाँको लगानीसहित ३८ वटा साना उद्योग र १५ अर्ब ३६ करोड ४३ लाख रुपैयाँ लगानीमा ३३ वटा मध्यम वर्गका उद्योग दर्ता भएका छन् ।

त्यस्तै, देशभर विदेशी तथा स्वदेशी लगानीमा ८८ अर्ब २५ करोड २३ लाख रुपैयाँमा ३१ वटा ठूला उद्योग दर्ता भएका छन् । विभागअनुसार गत वर्षको ५ महिनाको अवधिमा देशभर १३३ वटा उद्योग दर्ता भएका थिए । तर, यो वर्ष घटेर १०२ वटा उद्योगमात्रै दर्ता भएका छन् ।

अहिले बजारमा तरलताको चरम अभाव छ । तरलता अभाव हुँदा लगानीयोग्य क्षेत्रमा लगानी हुन सकेको छैन । त्यससँगै ब्याजदर दोब्बरले बढेको अवस्थामा उद्योग दर्ता कम भएको व्यवसायीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका सभापति तथा उद्योग समिति भरत आचार्यले बजारमा लगानीयोग्य पूँजीको अभाव र ब्याजदर वृद्धिले गर्दा ठूलो आकारको उद्योग दर्ता हुन नसकेको बताए । उनकाअनुसार अहिले बैंक तथा वित्तिय संस्थाहरुले पनि सहजै कर्जा गर्न सक्दैनन् । त्यसैले पनि पछिल्ला दिनहरुमा उद्योग दर्ता सुस्त देखिएको छ ।

चालु आर्थिक वर्षको साउनमा २७ वटा उद्योग दर्ता भएका थिए । त्यस्तै, भदौमा ३२ अर्ब लगानीसहित ३९ वटा उद्योग दर्ता भएका थिए । असोजमा चाडपर्वको समय भएकाले १३ वटा मात्रै उद्योग दर्ता भएका थिए भने कात्तिकमा १२ वटा उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाउँछ ।

त्यसैगरी, मंसिर २३ गतेसम्ममा ४ वटा मात्रै उद्योग दर्ता गरेका छन् । मंसिरको तथ्याङ्क हेर्दा विगतको तुलनामा निकै कम संख्यामा उद्योग दर्ता भएका छन् । जसमा ४ वटा उद्योग दर्ता भएकामध्ये साना र मध्यम उद्योग मात्रै छन् । मंसिर महिना ३ वटा साना र एउटा मध्यम खालको उद्योग दर्ता हुँदा ठूलो लगानीमा एउटा पनि उद्योग दर्ता हुन सकेको छैन ।

तर, चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा विदेशी तथा स्वदेशी लगानीमा ३१ वटा ठूला उद्योग दर्ता भई ८८ अर्ब २५ करोड २३ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

अधिकांश ठूला आयोजना जलविद्युत्

चालु आर्थिक वर्षमा ३१ वटा ठूला उद्योगमा ६० करोडदेखि साढे १६ अर्ब रुपैयाँसम्मको आयोजनामा लगानी प्रतिबद्धता जनाएका छन् । विभागको तथ्याङ्कअनुसार ठूला उद्योगको रुपमा जलविद्युत क्षेत्रमा मात्रै लगानी प्रतिबद्धता जनाएको देखिन्छ । त्यसबाहेक होटल क्षेत्रमा लगानी प्रतिबद्धता जनाएका छन् ।

ठूला उद्योगको रुपमा दर्ता भएको उद्योगमध्ये २३ वटा जलविद्युत छन् भने ६ वटा होटल क्षेत्र र दुई वटा उत्पादन क्षेत्रको उद्योग दर्ता भएका छन् । विभागअनुसार देशभर ८८ अर्ब लगानी प्रतिबद्धता जनाउँदा २३ वटा जलविद्युत क्षेत्रबाट मात्रै ७६ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ लगानी स्वीकृत भएको छ ।

विभागअनुसार चालु आर्थिक वर्षको ५ महिनामा दर्ता भएको उद्योगमध्ये तामाकोशी जलविद्युत कम्पनी लिमिटेड (तामाकोशी पाँचौ जलविद्युत आयोजना) मा मात्रै १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँको लगानी प्रस्ताव गरेको छ ।

त्यसपछि जलविद्युत क्षेत्रमै कार्बोनलेस इनर्जी फण्ड प्रालिले ५ अर्ब ९६ करोड ७२ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएको छ । त्यसैगरी, डायनामिक हाइड्रो इनर्जी प्रालिले ५ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ, यारु हाइड्रोपावर प्रालिले ५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ, ट्रष्ट इनर्जी लिमिटेडले ५ अर्ब ३८ करोड ८० लाख रुपैयाँ र दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड (म्याग्दी खोला–ए जलविद्युत आयोजना)ले ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, सुम्निमा हाइड्रोपावर कम्पनी प्रालि (पिखुवा पशुपति जलविद्युत आयोजना) ले ७७ करोड ६५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (बुदुम खोला जलविद्युत आयोजना) ले २ अर्ब ५३ करोड २६ लाख रुपैयाँ, एसके इनर्जी डेभलेपमेन्ट प्रालिले १ अर्ब ३२ करोड ८ लाख रुपैयाँ, ओमेगा इनर्जी डेभलपर प्रालि (माथिल्लो सुनीगाड जलविद्युत आयोजना)ले ३ अर्ब ३ करोड २७ लाख रुपैयाँ, नुम्बुर दुधकुण्ड हाइड्रोपावर प्रालिले २ अर्ब १६ करोड २ लाख रुपैयाँ र हलेसी हाइड्रोपावर प्रालिले १ अर्ब ७ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

गोर्खाज हिमालय हाइड्रो प्रालिले ८३ करोड ७८ लाख रुपैयाँ, शिखर पावर डेभलेपमेन्ट लिमिटेड (लोवल भिमखोला क्यास्केड जलविद्युत आयोजना) ले १ अर्ब ९ करोड ४० लाख रुपैयाँ, एलायन्स इनर्जी सोलुसन प्रालिले ८८ करोड २४ लाख रुपैयाँ, डाइनमिक पावर प्रालिले ८४ करोड ३४ लाख रुपैयाँ, मेवा डेभलपर्स लिमिटेड (सिवाखोला जलविद्युत आयोजना) ले २ अर्ब ७ करोड ४५ लाख रुपैयाँ, सिल्क पावर पावर प्रालिले ४ अर्ब ४० करोड रुपैयाँ र बागमती वाटर इनर्जी प्रालिले १ अर्ब ३५ करोड ७५ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् ।

माउन्टेन इनर्जी नेपाल लिमिटेड (मिस्ट्री खोला २ क्यास्केड जलविद्युत आयोजनाले १ अर्ब ६१ करोड २१ लाख रुपैयाँ, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड २ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ र दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड (सुपर इन्खु जलविद्युत आयोजना) ले ४ अर्ब ८४ करोड १९ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् ।

जलिविद्युतबाहेक पर्यटन क्षेत्रमा बुढानिलकण्ठ हेरिटेज लिमिटेडले २ अर्ब ४० करोड रुपैयाँ, होटल ईष्टर्न नेपाल प्रालिले १ अर्ब ६९ करोड रुपैयाँ, आयुष्मान होटल्स लिमिटेडले २ अर्ब ५१ करोड रुपैयाँ, ग्राण्ड सेन्ट्रल होटल प्रालिले ६० करोड रुपैयाँ, दोर्जेज फार्म रिसोर्ट प्रालिले ५५ करोड रुपैयाँ, बन्दीपुर केवलकार एण्ड टुरीजम लिमिटेडले ८६ करोड ४० लाख रुपैयाँ र मार्स हस्पिटालिटी ग्रुप प्रालिले १ अर्ब ३८ करोड २६ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

साथै, उत्पादन क्षेत्रमा जानकी पोलिकेम प्रालिले १ अर्ब ५० करोड रुपैयाँ र जेनेरिका फर्मास्युटिकल्स प्रालिले ८५ करोड ५३ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।


अरिष्मा मोक्तान