आन्तरिक राजस्व विभागका महानिर्देशक मैनाली भन्छन्: कर छली गर्नेविरुद्ध कडा हुन्छौं, गर वा मरको अवस्था छ



काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनालीले कानून विपरित काम गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् । उनले अहिले गर् या मरको अवस्था रहेको बताए ।

‘विभाग र कार्यालयहरुले करदातालाई कुनै दबाव दिँदैनन् । ठूला करदातालाई एक रुपैयाँ पनि अतिरिक्त कर लगाउनु पर्ने अवस्था आउँदैन । पारर्दर्शी कारोबार गर्ने माथि थ्रेट हुँदैन,’ मैनालीले क्लिकमाण्डूसँग भने,‘ अहिले गर या मरको अवस्था छ । गलत गतिविधि गर्ने माथि झनै कडा हुनेछौ ।’

मैनाली चालु आर्थिक वर्षको अन्त्य सम्ममा गत वर्षभन्दा बढी राजस्व संकलन हुनेसमेत दाबी गर्छन् ।

कात्तिक मसान्तसम्म १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको विभागले १ खर्ब २४ अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ ।

जबकी गत वर्ष कात्तिक मसान्तसम्म विभागले १ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वर्षको ४ महिनामा गत वर्षभन्दा ३ प्रतिशत कम राजस्व संकलन भएको छ ।

यो वर्षको ४ महिनामा लक्ष्यअनुसार राजस्व संकलन नभएपछि सरकारी कोष निरन्तर घाटामा गएको छ ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य दिइएको छ ।

‘मौद्रिक नीति र वित्त नीतिबीच तालमेल मिलाउनु पर्नेछ । विभागमा सुधारका काम अगाडि बढेका छन्,’ मैनालीले भने, ‘असार मसान्तसम्म राजस्व लक्ष्य सहज अवस्थामा पुग्छ । अर्थमन्त्री, अर्थसचिव, मुख्यसचिव सबै जना चिन्तित हुनुहुन्छ । अवस्था धेरै विग्रेको पनि छैन । राजस्व अनुसन्धान विभाग र भन्सार विभाग पनि गम्भीर भएका छन् । त्यसैले राजस्व संकलनको अवस्थामा सुधार हुन्छ ।’

मैनाली ठूला करदातालाई दबाव दिएर अतिरिक्त कर तिराउने वा धरपटक गर्ने कुनै योजना नरहेको बताउँछन् । आफ्नो कर दायित्व एकिन गरेर बुझाउने करदातालाई विभाग र कर कार्यालयले कुनै प्रेसर नदिने मैनालीको भनाइ छ ।

‘कतै करदाताले सही विवरण नबुझाउने र कतै कर कार्यालयले करदातालाई दबाव दिने ग्याप छ, यसलाई हटाउनु पर्नेछ,’ मैनालीले भने, ‘लक्ष्यअनुसार राजस्व संकलन गर्नु पर्ने छ भनेर हामी अनावश्यक कडिकडाउ गर्दैनौं । कानूनअनुसार काम गरिरहेका व्यवसायी पीडित हुने अवस्था आउँदैन ।’

निर्माण सामाग्रीको व्यापार घट्नुको साथै आर्थिक गतिविधि घटेकोले राजस्व संकलन घटेको मैनालीले बताए ।
‘विगतका वर्षहरुमा पनि निर्वाचनका क्रममा राजस्व संकलनमा गिरावट आएको थियो,’ मैनालीले भने, ‘ अब मध्यअवधि समीक्षा हुन्छ । सरकारी खर्च बढ्छ । त्यसैले राजस्व संकलनमा पनि सुधार हुन्छ । ’

कर प्रशासन सुधारका विषयमा समेत विभागले काम गर्ने मैनाली बताउँछन् ।

‘हामी प्रशासकीय पुनरावलोकनमा तिब्रता दिनेछौं, चालु आर्थिक वर्षको ४ महिनामा ४४ वटा विवादमा निर्णय भएको छ, अहिले विभागमा करिब १ हजार ५०० मुद्दा विचाराधीन छन्,’ मैनालीले भने, ‘आगामी दिनमा कर विवाद सम्बन्धी मुद्दामा तिब्रताका साथ फैसला हुन्छ । मैले २ वर्षभित्र काम गर्न पाए भने आयकर ऐनमा भएको व्यवस्थाअनुसार प्रशासकीय पुनरावलोकन गर्दा ६० दिनमै निर्णय हुने प्रणाली बनाउनेछु ।’

मैनाली राजस्वका क्याडर हुन् । शाखा अधिकृत र उपसचिव हुँदा मैनालीले राजस्व प्रशासनका काम गरेका थिए । २०६६ सालमा कर छली गर्न नक्कली मूल्य अभिवृद्धि कर बिल बनाउने प्रकरणको छानबिनमा मैनाली संलग्न थिए । मैनालीलाई कर प्रशासनको राम्रो ज्ञान भएको प्रशासकको रुपमा लिइने गर्छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा मैनाली राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए । त्यहाँ पनि मैनाली नक्कली बिल बनाएर कर छली गर्ने प्रकरण र कोकाकोलाको पूँजीगत लाभकर प्रकरणको छानबिन गरेका थिए ।

चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन नभएको अवस्थामा मैनालीलाई आफ्नो पूर्व छबिअनुसार काम फत्ते गरेर देखाउने ठूलो चुनौती छ ।

चालु आर्थिक वर्षको ४ महिनामा विभागले लक्ष्य भन्दा १२ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि लक्ष्य भन्दा कम राजस्व संकलन गरिरहेको विभागले कात्र्तिकमा पनि लक्ष्य अनुसार राजस्व उठाउन सकेन ।

कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा विभागले २९ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गरेको छ । कात्तिकमा विभागले लक्ष्य भन्दा २० प्रतिशत कम कर उठाएको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा आयकर लक्ष्यको ७८.३० प्रतिशत र मूल्य अभिवृद्धि लक्ष्यको ८२.४ प्रतिशतमात्रै संकलन भएपछि समग्र राजस्व लक्ष्य प्रभावित भएको हो ।

विभागले कात्तिक मसान्तसम्म ४८ अर्ब ९१ करोड रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य राखेकोमा ३८ अर्ब २९ करोड रुपैयाँ मात्रै संकलन भएको छ । यस्तै, ४१ अर्ब ९४ करोड रुपैयाँ मूल्यअभिवृद्धि कर संकलन गर्ने लक्ष्य राखेको विभागले ३४ अर्ब ४७ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

गत वर्ष ४ महिनामा विभागले ४७ अर्ब २२ करोड रुपैयाँ आयकर र ३५ अर्ब ९७ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर संकलन गरेको थियो ।


क्लिकमान्डु