आईपीओ ल्याउनु अघि बीमा कम्पनीले प्राधिकरणको सहमति अनिवार्य लिनुपर्ने



काठमाडौं । अबदेखि बीमा कम्पनीहरुले सर्वसाधरण सेयर(आईपीओ)जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिनुअघि नेपाल बीमा प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आईपीओमा जानु अघि प्राधिकरणको सहमति अनिवार्य लिन निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘आईपीओ जारी गर्दा बीमा प्राधिकरणको स्वीकृत लिन भनेको हो’ प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डू भने,‘यो ऐनले गरेको व्यवस्था हो । आईपीओ जारी गर्ने बेलामा हाम्रो सहमति लिनु भनेको हो।’

धितोपत्रको निष्कासन गर्ने अधिकार धितोपत्र बोर्डको भएपनि आईपीओ जानुअघि प्राधिकरणको सहमति लिनुपर्ने उनको भनाइ छ ।

‘धितोपत्रको निष्कासन गर्ने धितोपत्र बोर्ड नै हो । उनीहरुको क्षेत्राधिकार हो,’ उनले भने, ‘हामीले कम्पनीहरुलाई आईपीओ जानु भन्दा अघि हामीसँग सहमति लिनुमात्रै भनेको हो।’

सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये ५ वटा जीवन बीमा कम्पनीहरुले आईपीओ जारी गरेका छैनन् । सिटिजन लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ र सन नेपाल लाइफले आईपीओ ल्याउन बाँकी छ ।

ती मध्ये रिलायबल नेपाल लाइफले आईपीओ जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । उनले रिलायबलले धितोपत्र बोर्डमा आवेदन दिनुअघि प्राधिकरणसँग सहमति माग गरेको उनको भनाइ । तर, स्वीकृति भने नपाएको उनले बताए । ‘हामीले सहमति नदिएसम्म धितोपत्र बोर्डले अनुमति नै दिदैन,’पौडेलले भने,‘हामीले सहमति दिएपनि बोर्डले अनुमति नदिन पनि सक्छ ।’

अब जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले आईपीओ जारी जारी गर्न बाँकी छ । ती कम्पनीहरुले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिनुअघि प्राधिकरणको अनिवार्य स्वीकृति लिनुपर्ने उनको भनाइ छ ।

रिलायबल लाइफ इन्स्योरेन्सले कात्तिक १५ गते बोर्डमा आवेदन दिएको थियो । इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँमा (प्रमियम मूल्य सहित) १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । उक्त आईपीओ जारी गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

के छ ऐनमा ?

बीमा ऐन, २०७९ को दफा ४५ मा विवणपत्र तथा सेयर निष्कासनसम्बन्धी व्यवस्था छ । जसमा बीमकले धितोपत्रको सार्वजनिक निष्कासन गर्नुअघि प्रचलित कानून बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराएको विवरणपत्र प्राधिकरण समक्ष पेश गर्नुपर्ने उल्लेख छ ।

विवरणपत्र पेस नगरेसम्म सो बीमक वा निजको तर्फबाट कसैले पनि त्यस्तो विवरणपत्र प्रकासन गर्न नपाउने उल्लेख छ । यस्तै, बोर्डबाट विवरणपत्रमा स्वीकृत प्रदान गरेको लिखित जानकारी प्राधिकरणलाई प्राप्त नभएसम्म प्राधिकरणले त्यस्तो विवरणपत्र दर्ता नगर्ने समेत व्यवस्था ऐनले गरिदिएको छ ।


क्लिकमान्डु