कोरोना बीमाको दाबी भुक्तानी शुरु, १८ हजार ६० जना बीमितले रकम पाउने



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मंगलबार (आज)देखि कोरोना बीमाको दाबी भुक्तानी सुरु गरेका छन् ।

कम्पनीहरुले व्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमालेख गर्ने बीमितहरुलाई पहिलो प्राथमिकतामा राखी भुक्तानी सुरु गरेका हुन् ।

गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोहवरमा कम्पनीहरुसँग बसेको बैठकले भोलिदेखि रकम भुक्तानी गर्ने निर्णय भएको थियो ।

संघकाअनुसार नेपाल पुनर्बीमा कम्पनीले आफ्नो भागमा परेको थप रकम संघमा पठाएको छैन । सो कम्पनीबाट रकम प्राप्त भएपश्चात रकम पुनः बाँटफाँट गर्ने निर्णय भएको र संलग्न बमोजिमको चेक बुझिलिइ कम्पनीले थप गर्नुपर्ने २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँ रकम थपि दाबी भुक्तानी प्रकृया शुरु गर्न अन्य कम्पनीलाई आग्रह गरेको छ ।

बीमक संघकाअनुसार व्यक्ति तथा परिवारलाई पहिलो प्राथमिकता दिई दाबी भुक्तानी दिइने छ ।

बीमक संघमा भएको थप निर्णयको आधारमा रकम बाँडफाँड गर्दा केहि कम्पनीहरुले थप गर्नुपर्ने रकम नै अत्याधिक भएकोले सो रकमबाट नै दाबी भूक्तानी गर्न समेत संघले आग्रह गरेको छ ।

यस्तै, संघले मर्जर भएका कम्पनीहरुको हकमा भने मर्जर पछि बनेको कम्पनीको नाममा चेक काटिएको संघले जनाएको छ । संघकाअनुसार मर्ज भएका कम्पनीले दुबै कम्पनीहरुको दाबी रकम भूक्तानी गर्नु पर्नेछ ।

संघबाट चेक पाउनको लागि कम्पनीहरुले दावी तिर्ने व्यक्ति तथा परिवारको सूची बनाई कोरोना पूल र बीमा समितिमा बुझाएको एक छायाँ प्रति बीमक संघलाई उपलब्ध गराउनुपर्ने छ ।

१८ हजार ६० जना बीमितले रकम पाउने

संघकाअनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ  । सोमध्ये १८ हजार ६० वटा बीमालेखको मात्रै भुक्तानी गरिने बीमक संघले बताएको छ ।

यो संख्या कम्पनीहरुमा परेको व्यक्ति वा परिवारको बीमालेख संख्याको ७२ प्रतिशत हो ।

संघले उपलब्ध गराएको तथ्यांकअनुसार अजोड इन्स्योरेन्सले एक हजार तीन सय ५५ वटा पोलिसीको दाबी रकम भुक्तानी गर्नेछ ।

एभरेष्ट इन्स्योरेन्सले ४ सय ७४, जनरल इन्स्योरेन्सले ८ सय ९, हिमालयन जनरलले एक हजार २५९, आइजिआईले ७०७, लुम्बिनीले ५२४, नेशनल इन्स्योरेन्सले १४०, नेको इन्स्योरेन्सले एक हजार ६६५ र नेपाल इन्स्योरेन्सले ८८७ वटा बीमालेखको दाबी भुक्तानी गर्ने संघले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

यस्तै, एनएलजी इन्स्योरेन्सबा कोरोना बीमालेख खरिद गरेका बीमितमध्ये २४९, ओरियन्टलका बीमितले १४१, प्रभु इन्स्योरेन्सका २५६, प्रिमियरका ९५२, प्रुडेन्सियलका १२५, राष्ट्रिय बीमा कम्पनीका १ हजार ८६३ र सगरमाथाका एक हजार ५४२ जनाले बीमितले रकम पाउनेछन् ।

संघकाअनुसार सानिमा जनरल इन्स्योरेन्सले २२०, शिखरले तीन हजार ६१४, सिद्धार्थ इन्स्योरेन्सले ७७३ र युनाइटेड इन्स्योरेन्सले ५०४ वटा बीमालेखको भुक्तानी गर्नेछन् ।


क्लिकमान्डु