अर्बपति, निर्माण र म्यानपावर व्यवसायीदेखि बैंकका सञ्चालकसम्म संसद्‍मा



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार रहेकामध्ये दर्जनभन्दा धेरै व्यवसायीहरुले जित निकालेका छन् ।

विभिन्न राजनीतिक दलकातर्फबाट र स्वतन्त्र रुपमा पनि यो निर्वाचन दुई दर्जनभन्दा धेरै व्यवसायीहरुले उम्मेदवारी दिएका थिए । र उनीहरुमध्ये दर्जन धेरैले जित निकालेका छन् ।

निर्वाचनमा चर्चित उम्मेदवारहरुमध्ये कांग्रेसकातर्फबाट व्यवसायी तथा अर्बपति विनोद चौधरी (नवलपरासी पश्चिम–१), पर्यटन व्यवसायी राजेन्द्र बजगाईं (गोरखा–१), मेडिकल व्यवसायी सुनिल शर्मा (मोरङ–३), निर्माण व्यवसायी कान्छामान तामाङ (रामेछाप), जलविद्युत व्यवसायी दीपक खड्का (संखुवासभा), निर्माण व्यवसायी मोहन आचार्य (रसुवा), वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङ (मनाङ), व्यवसायी मोहन बस्नेत (सिन्धुपाल्चोक–२), होटल व्यावसायी योगेश गौचन थकाली (मुस्ताङ), शिक्षा क्षेत्रका लगानीकर्ता दुर्लभ थापा क्षेत्री (भक्तपुर) लगायत निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका तर्फबाट व्यवसायी किसान श्रेष्ठ (बारा–४), काठ तथा होटल व्यावसायी प्रेम आले (डोटी)ले पनि जित निकालेका छन् ।

त्यस्तै, जसपाका वीरेन्द्रप्रसाद महतो (सिराहा–४), राप्रपाका विक्रम पाण्डे (चितवन–३), एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बु (झापा–४) ले पनि यो निर्वाचनमा आफ्नो संसदीय यात्रालाई निश्चित गरेका छन् । त्यस्तै, उद्यमी तथा स्टार्टअप व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल (काठमाडौं–६) निर्वाचित भएका छन् ।

नवलपरासी पश्चिम–१ कांग्रेसबाट निर्वाचित अर्बपति व्यवसायी विनोद चौधरीले त्यहाँ विगतमा निरन्तर जित निकालिरहेका ऋदयेश त्रिपाठीलाई पराजित गर्दै विजयी भएका हुन् ।

यो निर्वाचनमा भने नवपरासी पश्चिम–१ मा रोचक प्रतिस्पर्धा थियो । २०६४ मा एमालेकातर्फबाट समानुपातिक र २०७४ मा कांग्रेसको तर्फबाट समानुपातिक सांसदका रुपमा प्रतिनिधिसभामा पुगेका चौधरी यसपटक प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधिसभामा पुगेका छन् ।

अघिल्लो पटकको प्रतिनिधिसभा र स्थानीय तहसँगै गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा देखिएको परिणामको आधारमा मोरङ–३ एमालेको राम्रो प्रभाव भएको क्षेत्र हो । तर, सो क्षेत्रमा अघिल्लो पटक निर्वाचित भएका एमालेका उम्मेदवार भानुभक्त ढकालले संसद र मन्त्री हुँदा गरेको व्यवहारका कारण यसपटक परिणाम उल्टिएको छ । जसकारण अघिल्लो पटक पराजित भएका कांग्रेसका उम्मेदवार मेडिकल व्यावसायी उमेश श्रेष्ठ निर्वाचित भएका छन् ।

२०७४ को निर्वाचनमा एमालेका ढकालले ४२ हजार ४१३ मत पाएका थिए भने शर्माले ४० हजार ५०६ मत प्राप्त गरेका थिए । तर, यसपटक उल्टिएको परिणाममा शर्माले ४८ हजार ६३१ मत ल्याउँदै जित निकालेका छन् भने ढकाल २५ हजार ८९५ मतमा सिमित हुनु परेको छ । शर्माले २२ हजार ७३६ मतको अन्तरले जित निकालेका छन् ।

कांग्रेसको गढ मानिने मनाङमा पहिलो पटक २०७५ जितेको एमालेले यस निर्वाचनमा भने जित निकाल्न सकेन । मनाङमा यो निर्वाचनमा अर्को रोचक प्रतिस्पर्धा भने भएको थियो । दुई व्यवसायीहरुबीच नै भएको प्रतिस्पर्धामा कांग्रेसका उम्मेदवारसमते रहेका वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङ निर्वाचित भए ।

मनाङमा एमालेका तर्फबाट पोल्देन छोपाङ गुरुङ उम्मेदवार थिए । उनी स्याउ व्यवसायमा संलग्न छन् भने एसियाकै उत्कृष्ट स्याउ फार्मका सञ्चालन पनि हुन् ।

अघिल्लो निर्वाचनमा भएको परिणाम उल्टाउँदै यसपटक मनाङमा मत परिणाम आएको छ । जसमा अघिल्लो पटक पराजित भएका टेकबहादुरले जित निकालेका छन् । उनले २ हजार २४७ मत पाएर निर्वाचित भएका छन् भने पाल्देनले २ हजार २४७ मत पाएका छन् ।

यो निर्वाचनमा गोरखा–१ बाट कांग्रेस उम्मेदवार तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले पनि जित निकाले । उनले एमाले उम्मेदवार रामशरण बस्नेतलाई पराजित गरे । बजगाईंले कुल ३३ हजार ४२८ मत पाउँदा बस्नेतले कुल १६ हजार ७५८ मतमा चित्त बुझाउनु परेको छ ।

कालिका कन्स्टक्सन प्रालिका सञ्चालक समेत रहेका राप्रपाका विक्रम पाण्डे चितवन ३ बाट निर्वाचित भएका छन् । अघिल्लो पटकको निर्वाचनमा सोही क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ सँग पराजित भएका उनले यसपटक भने जित निकाले ।

पाण्डले माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई पराजित गरेका हुन् । अधिकारीले २५ हजार ८२२ मत ल्याउँदा पाण्डेले ३५ हजार ५५ मत पाएका छन् ।

‘टिच फर नेपाल’जस्तो स्टार्टअप हाँकेका उद्यमी शिशिर खनालले पनि यो निर्वाचनमा जित निकाले । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं–५ मा उम्मेदवार रहेका उनी एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै निर्वाचित भएका छन् ।

खनालले १४ जार २०४ मत ल्याउँदै जितेका हुन् । सो क्षेत्रमा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत र कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत ल्याएका छन् ।

एमालेबाट वैदेशिक रोजगार व्यावसायी लालप्रसाद (एलपी) साँवा लिम्बु निर्वाचित भएका छन् । उनले झापा–४ बाट कांग्रेस उम्मेदवार देउकुमार थेबेलाई पराजित गर्दै जित निकाले लिम्बुले कुल २९ हजार ३१५ मत ल्याएका थिए भने थेबेले कुल ६ हजार ८६७ मत ल्याए । लिम्बु अघिल्लो पटक पनि यहि क्षेत्रबाट निर्वाचित हुँदै संसद पुगेका थिए ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट एनसीसी बैंकका सञ्चालकसमेत रहेका व्यवसायी मोहन बस्नेत निर्वाचित भएका छन् । उनले नकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरे ।

त्यस्तै, पर्सा–३ बाट भाँडाकुँडा उद्योग सञ्चालक रहेका व्यवसायी राजकुमार गुप्ता निर्वाचित भएका छन् । उनले २४ हजार २६० मत प्राप्त गरे । सो क्षेत्रमा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी २४ हजार १०९ मतसहित दोस्रो भएका छन् ।

निर्वाचनमा चर्चिच व्यवसायीहरुमध्येमा कांग्रेसबाट विनोद चौधरी, उमेश श्रेष्ठ, राजेन्द्र बजगाई, सुनिल शर्मा, श्यामकुमार घिमिरे, एमालेबाट बालकृष्ण सिवाकोटी, राजकुमार गुप्ता, जालिम मिया, राप्रपाबाट बिक्रम पाण्डे, एकीकृत समाजवादीबाट किसान श्रेष्ठलगायत थिए । तर, यीमध्ये कतिपय भने पराजित हुनु परेको छ।

शिक्षा क्षेत्रको व्यवसायमा संलग्न उमेश श्रेष्ठलाई कांग्रेसले चितवन–१ बाट उम्मेदवार बनाएको थियो । तर, उनी पराजित भएका छन् । छाँया सेन्टरका सञ्चालक सुमन बिक्रम पाण्डे पनि पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनी नुवाकोट–३ मा उम्मेदवार थिए । त्यस्तै, झपट बोहोरा (अछाम–१), जालिम मिया (पर्सा–४)लगायतका उम्मेदवारहरु पनि पराजित भएका छन् ।


क्लिकमान्डु