जीवन बीमा कोषमा नेपाल लाइफ सबैभन्दा बलियो, कुनको कति ?



काठमाडौँ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको बीमा कोष पाँच खर्ब नजिक पुगेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार १९ जीवन बीमा कम्पनीको जीवन बीमा कोषको आकार ४ खर्ब ९० अर्ब १० करोड ६० लाख रुपैयाँ पुगेको हो ।

गत आवको सोही अवधिको तुलनामा सबै जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार बढेको छ । जसले गर्दा गत आवको यसै अवधिको तुलनामा कम्पनीहरुको जीवन बीमा कोषको आकार २०.७८ प्रतिशतले बढ्न पुगेको छ ।

गत आवको सोही अवधिमा कम्पनीहरुको बीमा कोषको आकार ४ खर्ब ५ अर्ब ७८ करोड ८० लाख रुपैयाँ थियो ।

बीमा कोषमा जति धेरै रकम हुन्छ, ती कम्पनीहरुलाई बलियो मानिन्छ । बीमा ऐन, २०७९ को दफा ३८ मा बीमा कम्पनीहरुको बीमा कोषको व्यवस्था गरिएको छ । बीमकले प्राधिकरणले निर्धारण गरे बमोजिमको मात्रा र अनुपातमा बीमा कोष (इन्स्योरेन्स फण्ड) को व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ । बीमकले गर्ने प्रत्येक बीमा प्रकार (पोर्टफोलियो)को जोखिम व्यहोर्नको लागि छुट्टाछुट्टै कोष राख्नु पर्ने व्यवस्था छ ।

यस्तै, कुनै एक प्रकारको बीमा प्रकार (पोर्टफोलियो) सँग सम्बन्धीत कोषमा अर्को कोषमा अर्को प्रकारको बीमा प्रकार (फार्टफोलियो) सँग सम्बन्धीत रकम जम्मा गर्न वा त्यस्तो कोषबाट लायित्व व्यहोर्न नपाईने व्यवस्था समेत एनेले गरेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बीमा कोषमा सबैभन्दा बलियो नेपाल लाइफ छ । यस अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ४२ अर्ब ८ करोड रुपैयाँ सञ्चित छ । गत आवको सोही यसै अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार १९.६४ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा १ खर्ब १८ अर्ब रुपैयाँ थियो ।

बीमा कोषमा धेरै रकम जम्मा गर्ने कम्पनीमा नेपाल लाइफ पछि एलआइसी परेको छ । चालु आवको पहलिो त्रैमासको अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १६.९० प्रतिशतले बढेर ९७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८३ अर्ब ४० करोड रुपैयाँ जम्मा थियो ।

यस्तै, नेपाल लाइफ र एलआइसी नेपाल पछि बीमा कोषमा अब्बल देखिएका कम्पनीमा नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान, मेट लाइफ लगाएतका कम्पनी परेका छन् ।

यस अवधिमा नेशनल लाइफको बीमा कोषको आकार १९.६८ प्रतिशतले बढेर ५३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्रिय बीमा संस्थानले बीमा कोषको आकार ८.३५ प्रतिशतले बढाएको छ । यस अवधिमा कम्पनीको बीमा कोषमा ४० अर्ब २४ करोड रुपैयाँ सञ्चित छ ।

यस्तै, रिलायबल नेपाल लाइफको बीमा कोषको आकार सबैभन्दा धेरै प्रतिशतले बढेको छ । गत आवको सोही अवधिको तुलनामा रिलायबलको बीमा कोषको आकार ६९.९१ प्रतिशतले बढेर ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सको बीमा कोषमा ३ अर्ब ३ करोड रुपैयाँ सञ्चित थियो ।

यस्तै, सिटिजन लाइफ, ज्योति लाइफ, आइएमई लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफको बीमा कोषको आकार गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशत भन्दा धेरैले बढेको छ ।

गत आवको सोही अवधिको तुलनामा सिटिजनको बीमा कोषको आकार ५६.२४ प्रतिशत, ज्योतिको ५४.९६ प्रतिशत, आइएमई लाइफको ५२.९६ प्रतिशत, सानिमा लाइफको ५२.२६ प्रतिशत र महालक्ष्मी लाइफको ५५.३४ प्रतिशतले बढेको हो ।

बीमा कोषमा थोरै रकम सञ्चित भएको जीवन बीमा कम्पनी हो महालक्ष्मी लाइफ । गत आवको सोही अवधिको तुलनामा महालक्ष्मी लाइफको बीमा कोषको आकार ५६.३४ प्रतिशतले बढेर २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित रहेको थियो ।

कुनको कति ?


बिजया बास्कोटा