सहकारी डिप्लोमा कोर्ष गर्न भारत जानुपर्ने बाध्यता हट्यो, पुसबाट नेपालमै पढन पाइने



काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयबीच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष संचालन गर्ने विषयमा सम्झौता भएको छ ।

यो सँगै नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य भएको छ । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. देवी विडारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयले विश्वविद्यालयको सिकाई अध्यापनशास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुशरण गरेर कोर्ष संचालन गर्नेछ । पुस १ बाट सुरु हुन लागेको सहकारी व्यवस्थापन सम्बन्धी डिप्लोमा कोर्ष काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा सञ्चालन गरिनेछ ।

महासंघका महाप्रबन्धक सुब्बाले सहकारी संघ-संस्थाहरुमा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी अब्बल रुपमा संचालन गर्नका लागि यो कोर्ष कोशेढुङ्गा सावित हुने बताइन् ।

नेपालमा पहिलो पटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्ष संचालन हुन लागेको बताउँदै सुब्बाले यसअघि नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने बाध्यता अब अन्त्य भएको बताइन् । तीन महिने कोर्ष पुरा गरेपछि विश्वविद्यालयले प्रमाणित गर्ने सट्टिफिकेट हुने भएकाले यसमा आकर्षण बढेको छ ।

पहिलो पटक सिमित सिटमा कोर्ष पाइलटिङका रुपमा संचालन गर्न लागिएको सो कोर्षको पहिलो ब्याजका लागि आवेदन दिनेको संख्या उत्साहप्रद भएको भन्दै महासंघका महाप्रबन्धक सुब्बाले खुसी व्यक्त गरिन् ।

कार्यक्रकममा डिन विडारीले महासंघसँग मिलेर सहकारी व्यवस्थापन सम्वन्धी दक्ष जनशक्ति निर्माण गर्ने कोर्ष संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे । विश्वविद्यालयले यस्तो सम्झौता गरेर कोर्ष संचालन गरेको यो पहिलो पटक भएको बताए ।

केयुका उद्यमशिलता तथा मार्केटिङ विभागका प्रमुख डा. विनोद कृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समुह कार्य, र इन्टरसिशप लगायतका प्रयोगात्मक विधिबाट सो कोर्ष अध्यापन गराइने बताए ।

पहिलो ब्याजमा ३० जनाको सिट रहेको महासंघले जनाएको छ । महासंघले यस अघि पनि काठमाडौं विश्वविद्यालयसँग मिलेर कोर्ष डिजाइन गर्नेदेखि गरीविनिवारणमा सहकारीको योगदान सम्वन्धी अध्ययन अनुसन्धान कार्यसमेत सम्पन्न गरेको छ ।


क्लिकमान्डु