प्राधिकरणका महानिर्देशकको दाबी गलत साबित, नेपाल युरोपियन युनियनको हवाई सुरक्षा चासोबाट हटेन



काठमाडौं । युरोपियन कमिसनको मोभिलिटी एण्ड टान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासो (कालोसूची)बाट हटाउन अस्वीकार गरेको छ ।

बिहीबार डिभिजनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका सबै वायु सेवा कम्पनीलाई सुरक्षा चासोमा राखेको हो । युरोपियन कमिसनले हवाई सुरक्षा चासोमा परेसँगै नेपाली वायु सेवा कम्पनीलाई युरोपको आकास प्रयोगमा लागेको प्रतिबन्धले निरन्तरता पाएको हो ।

नेपाली वायु सेवा कम्पनीको सुरक्षा अवस्था कमजोर हुनुको साथैं नेपालमा उड्डयन क्षेत्रको नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा एउटै संस्थाले काम गरिरहेको भन्दै युरोपियन कमिसनले सन् २०१३ देखि नेपाललाई हवाई सुरक्षा चासोमा राख्दै आएको छ ।

भदौं २८ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले युरोपियन युनियन (ईयू) ले नेपाली उड्डयन क्षेत्रमा अपेक्षाभन्दा बढी सुधार भएको निष्कर्ष निकालेको बताएका थिए ।

गत भदौंमा युरोपियन कमिसनको प्रतिनिधिमण्डल नेपालको उड्डयन सुरक्षाका विषयमा अध्ययन गर्न नेपाल आएको थियो । उड्डयन क्षेत्रमा भएका सुधारले नेपाल युरोपियन कमिसनको सुरक्षा चासोबाट हट्नेसमेत अधिकारीको दाबी थियो ।

‘नोभेम्बरमा बस्ने युरोपियन युनियन काउन्सिलको बैठकबाट नेपाल सुरक्षा चासोबाट बाहिरिने निश्चित छ,’ अधिकारीले भनेका थिए, ‘ईयूका प्रतिनिधिले नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको बताएका छन् ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक पूर्व महानिर्देशक नेपालले उड्डयन क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक नछुट्याउँदासम्म युरोपियन युनियनको सुरक्षा चासोबाट हट्ने सम्भावना नरहेको दाबी गर्छन् ।

‘सन् २००९ देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र सन् २०१३ देखि युरोपियन कमिसनले उड्डयन क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक छुट्याउनु पर्ने विषय उठाउँदै आएका थिए,’ ति अधिकारी भन्छन्, ‘तर, अहिलेसम्म प्राधिकरणलाई टुक्र्याएर नियामक र सेवा प्रदायक निकाय बनाउने गरी काम भएको छैन । जसले गर्दा नेपालमा हवाई सुरक्षा चासोमा परेको हो ।’

गत भदौंमा प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले नेपालमा प्राधिकरणलाई टुक्र्याएर दुईवटा संस्था बनाउनु पर्ने विषयमा युरोपियन युनियनले चासो नदिएको दाबी गरेका थिए ।

प्राधिकरणका एक उपमहानिर्देशक नेपालको उडान सुरक्षाको अवस्था राम्रो हुँदाहुँदै पनि नियमन गर्ने निकाय र सेवा प्रदायक एउटै हुँदा नेपाल हवाई सुरक्षा चासोमा परेको बताउँछन् ।

प्राधिकरणका अधिकारीहरु अहिलेका महानिर्देशक प्रदीप अधिकारीले सेवा प्रदायक र नियाकम नियाका छुट्उँदा आफ्नो अधिकार कम हुने भन्दै प्राधिकरणलाई टुक्रायर दुईवटा संस्था बनाउने विधेयक रोक्न भुमिका खेलेकाले नेपाल हवाई सुरक्षा चासोबाट नहटेको आरोप लगाउँछन् ।

अधिकारीले युरोपियन युनियनको नेपालका लागि राजदूत नोना डेप्रेजसँग सुमधुर सम्बन्ध बनाएर नेपालले उड्डयन क्षेत्रमा गरेका सुधारका विषयमा जानकारी दिन नसकेकोले पनि नेपाल हवाई सुरक्षा चासोबाट नहटेको प्राधिकरणका एक उपमहानिर्देश बताउँछन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला गत भदौमा युरेपियन कमिसनले नेपालको हवाई सुरक्षाका विषयमा गरेको अध्ययन प्रतिवेदन अहिलेको बैठकमा पेस नभएकाले नेपाल हवाई सुरक्षा चासोबाट नहटेको दाबी गर्छन् । आगामी मार्चमा कमिसनले जारी गर्ने हवाई सुरक्षा चासो सूचीबाट नेपाली वायुसेवा कम्पनी हट्ने निरौलाको दाबी छ ।


क्लिकमान्डु