साहूले वार्षिक कति प्रतिशतसम्म ब्याज लिन पाउँछन्, के साँवाभन्दा बढी लिन पाइन्छ ?



काठमाडौं । दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीच कुनै शर्त राखि कुनै रकम वा वस्तु लिनु दिनु गरेमा निजहरूबीच लेनदेन भएको मानिन्छ । लेनदेन भएकोमा रकम वा वस्तु लिनेले रकम वा वस्तु दिनेलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।

कुनै व्यक्तिले कुनै किसिमले कसैलाई कुनै रकम वा वस्तु दिनु पर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिए सरह मानिनेछ र त्यस्तो व्यक्तिले व्यवस्थाको अधिनमा रही सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नु पर्नेछ । सरकारले कसैले पनि कानून बमोजिम लिखत नगरी लेनदेन गर्न नहुने व्यवस्था छ ।

लेनदेन गर्दा लेनदेन गर्ने व्यक्तिहरूको नाम, थर, उमेर, ठेगाना तथा बाबु, आमा, बाजे, बजैको नाम खुलाउनुपर्ने हुन्छ । तर विवाहित व्यक्तिले भए पति, पत्नीको नाम समेत उल्लेख गर्नु पर्नेछ । 

त्यसैगरी, लेनदेन गर्नु परेको कारण, लेनदेनको परिमाण, कुनै वस्तु लेनदेन गरेकोमा त्यस्तो वस्तुको मूल्य, कुनै वस्तु निश्चित समय पछि फिर्ता गर्ने गरी सापटी, पैँचो वा अन्य तवरले लिनु दिनु गरेको भए त्यस्तो व्यहोरा, कुनै वस्तु सट्टा पट्टा गरेको भए त्यस्तो व्यहोरा, लेनदेन गरेको रकम बुझाउने मिति, लेनदेन गर्दा ब्याज लिने, दिने भए ब्याजको दर,लेनदेनको रकम निर्धारित समयमा नबुझाए वा लिखत बमोजिमको अन्य शर्त पूरा नगरेमा लेनदेन बमोजिमको रकम साहूले ऋणीको सम्पत्तिबाट असुल गरी लिन पाउने कुरा, लिखत गरिएको ठाउँ, लिखत तयार गरिएको मिति र लेनदेनको प्रकृति बमोजिम खुलाउनु पर्ने अन्य आवश्यक कुराहरू खुलाउनुपर्छ ।

लेनदेन सम्बन्धी लिखत हुँदा लिखतमा ब्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहूले ऋणीबाट लिखतमा लेखिए बमोजिमको ब्याज लिन पाउनेछ । त्यसमा, साहूले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक १० प्रतिशतभन्दा बढी हुन नहुने मुलुकी देवानी संहिता, २०७४ मा उल्लेख छ ।

त्यसैगरी, लिखत हुँदा लिखतमा ब्याजको दर किटान नगरी ब्याज लिनेदिने कुरासम्म उल्लेख भएकोमा साहूले ऋणीबाट साँवा रकमको वार्षिक १० प्रतिशतका दरले ब्याज लिन पाउनेछ ।

लिखत हुँदा लिखतमा ब्याज उल्लेख नगरी मुनाफा लिने कुरा उल्लेख भएकोमा र त्यस्तो मुनाफा के कति लिने कुरा लिखतबाट नदेखिए साहूले ऋणीबाट ब्याज सरह लिन पाउनेछ । त्यस्तै, लेनदेन हुँदा लिखतमा ब्याज लिने दिने कुरा उल्लेख नभएमा साहूले ऋणीबाट ब्याज लिन पाउने छैन । साथै, साहूले ऋणीबाट ब्याजको ब्याज लिन पाउने छैन ।

तर, कुनै साहूले ऋणीबाट ब्याजको ब्याज लिएको रहेछ भने साँवामा कट्टी हुनेछ र साँवा चुक्ता भइसकेको रहेछ भने त्यस्तो ब्याज फिर्ता गर्नु पर्नेछ । नेपालको कानुनअनुसार साहूले ऋणीबाट साँवाभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था छ ।

त्यसका लागि साँवा, ब्याज लिँदा दिँदा ऋणीले साहूलाई साँवा, ब्याजको सबै रकम चुक्ता गरेमा साहूसँग भएको लेनदेनको लिखत च्याती वा त्यस्तो लिखतमा रकम असूल भएको व्यहोरा लिखतको कुनै ठाउँ वा पिठमा खुलाई साहूले सहीछाप गरी ऋणीलाई लिखत फिर्ता गर्नु पर्ने, साँवा, ब्याजको रकम दिँदाका बखत सो लिखत फेला नपरेमा साहूले सोही व्यहोरा जनाई यो मितिमा यति रकम बुझी लिएको भनी भरपाई गरी ऋणीलाई दिनु पर्ने, साँवामध्ये केही रकम वा ब्याज बुझाउँदा साहूले ऋणीसँग कुन मितिमा के कति रकम बुझेको हो त्यस कुरा लिखतको पिठमा खुलाई ऋणीको सहीछाप गराई र तत्काल लिखत फेला नपरे वा साथमा नभए त्यस बमोजिम रकम बुझेको छुट्टै भरपाई गरी ऋणीलाई दिनु पर्ने रीत पु¥याउनु पर्नेछ ।

त्यसैगरी, बढीमा १० वर्षको अवधिभित्र नालिस रहेछ भने अदालतबाट साहूले ब्याज समेत पाउने गरी फैसला भएकोमा साहूले ऋणीबाट फैसला बमोजिम भरिभराउँदाको मितिसम्मको ब्याज समेत पाउनेछ । घरसारमा भएको लिखतको अवधि बढीमा दश वर्षको हुने व्यवस्था छ ।

१० वर्षको अवधिभित्र ऋणीले साहूलाई साँवा वा ब्याजमध्ये केही रकम बुझाएमा वा साँवा ब्याज बुझाउनको लागि लिखतको अवधि थप गरेमा त्यसरी साँवा वा ब्याज बुझाएको वा अवधि थप गरेको मितिले अर्को १० वर्षको अवधि थप हुनेछ । कसैले असक्षम वा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले कानूनी मान्यता पाउने छैन ।

कसैले कुनै व्यक्तिसँग लेनदेन गरेकोमा त्यस्तो लेनदेनको लिखतमा घरको मुख्य व्यक्तिको सहीछाप नभएको भए सगोलको सम्पत्तिमा ऋणीको हक नपुगेसम्म साहूले त्यस्तो सम्पत्तिबाट आफ्नो रकम भराई लिन पाउने छैन । त्यस्तै, घरको मुख्य भई काम गर्ने व्यक्तिले त्यस्तो रकम तिरिदिएमा साहूले लिन पाउनेछ ।

कुनै व्यक्तिले ऋणीसँग रकम लिन नसक्ने भएमा १० वर्षभित्र साहूले ऋणी उपर नालिस गरी आफ्नो हक कायम गरी राख्नु पर्नेछ । ऋणीसँग हक कायम गरेकोमा सगोलको सम्पत्तिमा निजको हक पुगेपछि साहूले निजबाट कानूनबमोजिम आफ्नो रकम भरार्ई लिन पाउनेछ । रकम भरार्ई लिनको लागि असामीको हक पुगेको मितिले नालिस गर्नेे हदम्याद शुरु हुनेछ ।

एकासगोलका उमेर पुगेका व्यक्तिले घरको मुख्य व्यक्तिको मञ्जुरी नलिई संगोलको कुनै सम्पत्ति सट्टा पट्टा गर्न हुँदैन । तर आफ्नो निजी सम्पत्ति सट्टापट्टा गर्न घरको मुख्य भई काम गर्ने व्यक्तिको मञ्जुरी लिनु पर्ने छैन । कसैले सम्पत्ति सट्टापट्टा गरेमा घरको मुख्य भई काम गर्ने व्यक्तिले मञ्जुर नगरे त्यस्तो सम्पत्ति सट्टापट्टा गरेको मान्य हुने छैन । सम्पत्ति सट्टापट्टा गरेकोमा घरको मुख्य भई काम गर्ने व्यक्तिको मञ्जुरी नभए पैँतीस दिनभित्र आफ्नो सम्पत्ति फिर्ता लिन सकिने छ ।

कसैले रीत पु¥याई लिखत नगरे पनि कुनै लिखत, बैंकिङ कारोबार, विनिमय अधिकारपत्र, चेक, भौचरबाट वा बही खातामा लेखिएको व्यहोराबाट कुनै व्यक्तिसँग लेनदेन भएको कुरा देखिन आएमा अदालतले त्यस्तो लेखिएको आधारमा नालिस गर्ने व्यक्तिलाई ऋणीबाट त्यस्तो रकम भराई दिन सक्नेछ ।

घरसारमा भएको लिखत हराएमा वा काबू बाहिरको परिस्थिति परी नासिएमा साहूले सोही व्यहोरा खुलाई लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको मितिले पन्ध्र दिनभित्र सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ । त्यसैगरी, निवेदन परेमा सम्बन्धित स्थानीय तहले त्यसको व्यहोरा खुलाई भरपाई लेखी कार्यालयको छाप लगाई त्यसको भरपाई निवेदन दिने व्यक्तिलाई दिनु पर्नेछ ।

कुनै निवेदन परेमा स्थानीय तहले लिखत गरिदिने व्यक्ति जीवित भए निजलाई र नभए निजको नजिकको हकवालालाई सात दिनभित्र झिकाई निजले मञ्जुर गरे साबिक बमोजिमको लिखत तयार गराई त्यस्तो लिखत प्रमाणित गरी निवेदन दिने व्यक्तिलाई दिनु पर्नेछ ।

लिखत गरिदिने व्यक्तिले लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको जनाई अर्को लिखत गरी दिन मञ्जुर नगरेमा साहूले त्यस्तो म्याद नाघेको ३५ दिनभित्र लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको प्रमाण देखाई नालिस गरी आफ्नो हक कायम गर्नु पर्नेछ ।


क्लिकमान्डु