त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा चलाउने निर्णय ५ महिना टिकेन, मंसिर १ देखि २१ घण्टा चलाउन परिपत्र



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालन नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कात्तिक ३० गते अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधी २४ घण्टाबाट घटाएर २१ घण्टा कायम गरेका हुन् ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)लाई पत्र लेख्दै अर्काे निर्णय नहुँदा मंसिर १ गतेबाट विमानस्थल सञ्चालको अवधी घटाएको जानकारी दिएको हो ।

नोटाम (नोटिस टु एयरम्यान) जारी गरेर विमानस्थल सञ्चालनको अवधी घटाउनु पर्नेमा आन्तरिक परिपत्र गरेर विमानस्थल सञ्चालनको अवधी घटाइएको छ ।

प्राधिकरणले गत जेठ १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयपछि रातीको समयमा उडान गर्न वायु सेवा कम्पनीले चासो नदेखाएकाले विमानस्थल सञ्चालनको अवधी घटाइएको हो ।

विमानस्थल विहान ६ बजेसम्म सञ्चालन हुँदा समेत राति १ बजेदेखि ६ बजे सम्म कतार एयरलाइन्स र जजिरी एयरलाइन्सले मात्रै उडान गर्ने गरेका थिए ।

प्राधिकरणका एक अधिकारी गत जेठमा हचुवाका आधारमा टिआइएलाई २४ घण्टा सञ्चालन गर्ने निर्णय गरिएकाले अहिले सेवा स्थगित गर्नु परेको बताउँछन् ।

‘विमानस्थल सञ्चालन गर्नु एउटा व्यवसाय हो । प्राधिकरणको नेतृत्वले २४ घण्टा विमानस्थल सञ्चालन गर्ने निर्णय गर्यो । तर, विमानस्थल नियमित सञ्चालन हुने वातावरण बनाउन प्रचारप्रसार गर्न सकेन,’ प्राधिकरणका एक अधिकारी भन्छन्,‘त्यसैले अहिले सेवा अवधी घटाउने निर्णय गर्नु परेको हो ।’

प्राधिकरणका अर्का अधिकारी भैरहवा र पोखरा विमानस्थल सञ्चालनको माहोल बनाउन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधी घटाएको बताउँछन् ।

‘अहिले २४ घण्टाबाट घटाएर २१ घण्टा बनाउने र माघ देखि टिआइएलाई १८ घण्टामात्रै चलाउने भन्ने हल्ला छ,’ प्राधिकरणका एक अधिकारी भन्छन्, ‘पोखरा र भैरहवामा नयाँ बिजनेस ल्याउन नसकेपछि काठमाडौंको विमानस्थल बन्द गरेर भएपनि बिजनेस गर्नु परेको छ।’

भैरहवा विमानस्थलमा उडान थप गर्न सकिए हालको टर्मिनल भवन पर्याप्त नभएको पुष्टि गराएर करिब २२ अर्ब लागतमा नयाँ भवन बनाउने प्राधिकरणका महानिर्देशक अधिकारीको चाहना छ ।

विगतमा हचुवाका आधारमा पोखरा र भैरहवामा विमानस्थल निर्माण गरेकाले अहिले जसरी पनि ती विमानस्थल सञ्चालन गर्न टिआइए सञ्चालनको सेवा अवधी घटाउनु उपयुक्त नभएको प्राधिकरणका कर्मचारीको तर्क छ ।

काठमाडौं आउने कम्पनीलाई जबरजस्ती भैरहवा पठाएर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम बताउँछन् ।

टिआइएका प्रमुख प्रेमनाथ ठाकुर राती ३ बजेपछि काठमाडौमा उडान गर्न कुनै पनि कम्पनीले चासो नदिएपछि प्राधिकरणको नियमित विमानस्थल खुल्ने अवधी घटाएको बताउँछन् ।

‘सेवा अवधी घटेपनि विमानस्थल २४ घण्टा नै सञ्चालन हुन्छ । कुनै पनिले रातिको समयमा उडान गर्नु पर्यो भने प्राधिकरणले सेवा दिन्छ,’ ठाकुरले भने,‘अहिले विमानस्थलमा नियमित मर्मतको काम समेत गर्नु परेकाले अर्काे निर्णय नहुँदा सम्म सेवा अवधी घटाइएको हो ।’

प्राधिकरणले राती ३ बजेदेखि ६ बजेसम्म ३ जना एयर ट्राफिक कन्ट्रोलन (एटीसी) विमानस्थलमा खटिने भएकाले विमानस्थल सञ्चालन गर्न कठिन हुने टिआइएमा कार्यरत एक एटिसी बताउँछन् ।

२०७५ जेठभन्दा अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन हुने गरेको थियो । तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारीको पहलमा २०७५ जेठबाट टिआइएलाई २१ घण्टा सञ्चालन गरिएको थियो ।

कोरोना महामारीको क्रममा घटेको विमानस्थल सञ्चालनको अवधी गत जेठमा १८ घण्टा पुगेको थियो । तत्कालिन पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा जेठ १५ गतेदेखि भैरहवा र टिआइएलाई २४ घण्टा सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

कर्मचारी असन्तुष्ट

प्राधिकरणले राति ३ बजेपछि विमानस्थल बन्द गर्ने र ३ बजेदेखि ६ बजेसम्म आकस्मिक उडानका लागि विमानस्थलमा केही कर्मचारीमात्रै खटाउने र ३ बजेपछि काम खटिने एटिसीलाई तलबको १ प्रतिशतमात्रै अतिरिक्त भत्ता दिने निर्णय गरेपछि एयर ट्राफिक कन्ट्रोलर (एटिसी) हरु असन्तुष्ट बनेका छन् ।

‘राति ३ बजे डिउटी सक्किएर घर जाउ भन्नु उपयुक्त होइन,’ प्राधिकरणका एक एटीसीले भने, ‘अर्बौं रुपैयाँ लगानी भएको विमानस्थल सञ्चालन गराएर आम्दानी बढाउनु पर्नेमा तलब भत्तामा केही पैसा खर्च भयो भन्ने तर्क गरेर विमानस्थल सञ्चालन गर्ने अवधी घटाउन मिल्छ ?’

प्राधिकरणले राति १ बजेपछि ओभरटाइम काम गर्ने कर्मचारीलाई प्रति घण्टा तलब स्केलको दुई प्रतिशत ओभरटाइम सुविधा दिँदै आएको थियो ।

विमानस्थल सञ्चालन नभएको अवस्थामा ओभरटाइम सुविधामा १ करोड ५० लाख रुपैयाँ खर्च भएपछि विमानस्थलको नियमित सञ्चालन स्थगित गरिएको टिआइएका प्रमुख ठाकुर बताउँछन् ।

विमानस्थलको नियमित सञ्चालन २४ घण्टा नगर्ने निर्णपछि अब प्राधिकरणले १ बजेदेखि ३ बजेसम्म काम गर्ने कर्मचारीलाई तलब स्केलको प्रतिघण्टा २ प्रतिशत ओभरटाइम भत्ता दिने र ३ बजेपछि काम गर्नेलाई तलब स्केलको प्रतिघण्टा १ प्रतिशत ओभरटाइम सुविधा दिनेछ ।


क्लिकमान्डु