तरलता अभाव र ब्याजदरको चेपुवामा घरजग्गा कारोबार, कात्तिकमा २८ हजारमात्रै किनबेच



काठमाडौं । बजारमा अहिले तरलताको चरम अभाव छ । बैंक तथा वित्तीय संस्थाहरुले बजारमा बजारमा पर्याप्त कर्जा प्रवाह गर्न नसक्दा अधिकांश क्षेत्र संकटमा पर्न थालेका छन् ।

तरलता अभावसँगै अहिले ब्याजदर वृद्धिले पनि अधिकांश क्षेत्रमा आतंक मच्चाएको छ । त्यस्तै, तरलता अभाव र ब्याजदरको चेपुवामा घरजग्गा पनि परेको छ । कोरोनाको समयमा पनि उच्च कारोबार भएको घरजग्गा किनबेच पछिल्ला दिनमा मन्दीतर्फ धकेलिएको छ ।

घरजग्गा किनबेचमा अहिले भूउपयोग नियामवलीले पनि प्रभाव परेकाे भूमि व्यवस्थापन तथा अभिलेखले जनाएको छ ।

भूउपयोग नियामवलीले गर्दा देशभर कित्ताकाटमा निकै समस्या आएको छ । त्यसको प्रत्यक्ष असर जग्गा किचबेच देखिएको विभागको भनाइ छ । त्यस्तै, अहिले चुनावको माहोलले पनि घरजग्गा किनबेचमा कमी आएको विभागले जनाएको छ ।

भूउपयोग नियामवली, चुनावसँगै अहिले तरलता अभाव र ब्याजदर वृद्धिले घरजग्गा किनबेचमा प्रभाव परेको विभागको भनाइ छ । अहिले धितोमा बन्धक राखेर ऋण लिएका व्यक्तिहरुले समयमै ऋण तिर्न सकेका छैनन् । जसले गर्दा अर्थतन्त्र संकुचन हुँदै गएको छ । त्यसैगरी, धितो बन्धक राखी ऋण तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले ३५ दिनको लिलामीको सूचना जारी गरिरहेका छन् ।

तरलता अभाव र ब्याजदरले गर्दा पछिल्ला दिनहरुमा ३० हजारको हाराहारीमा पनि घरजग्गा किनबेच हुन सकेको छैन । विभागअनुसार कात्तिक महिनामा देशभर २८ हजार मात्रै घरजग्गा किनबेच भएको छ ।

गत असोजमा देशभर २५ हजार ७८९ घरजग्गा किनबेच भएको थियो । असोजको तुलनामा कात्तिकमा कारोबार बढे पनि विगतको महिनामा जस्तो घरजग्गा किनबेच हुन सकेको छैन ।

विगतको दिनमा मासिक ७० हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदै आएको थियो । विभागको तथ्याङ्अनुसार गत असारमा देशभरका मालपोत कार्यालयबाट ४७ हजार २७ वटा घरजग्गा किनबेच भएको थियो ।

त्यस्तै, साउन महिनामा भने उक्त कारोबार संख्या घटेर ३३ हजार ८३४ वटा र भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट ३४ हजार ७२० घरजग्गा किनबेच भएको थियो ।

कात्तिक महिनामा देशभरका मालपोत कार्यालयबाट २७ हजार ९३९ वटा घरजग्गा लिखत पारित हुँदा २ हजार २८१ नामसारी, २७ सय ५५ संशोधन, २० हजार ५६४ रोक्का, १५ हजार ५४६ फुकुवा र ७३७ वटा घरजग्गा दाखिला खारेज गरेको छ ।

कात्तिकमा सबैभन्दा बढी कारोबार इनरुवा सुनसरी कार्यालयबाट भएको छ । उक्त कार्यालयबाट कात्तिकमा १ हजार १७६ घरजग्गा किनबेच भएको छ । त्यस्तै, बाँके नेपालगञ्ज मालपोत कार्यालयबाट १ हजार १४२ वटा, जनकपुरधाम धनुषाबाट १ हजार ७, बेलबारी मोरङबाट ९५०, भद्रपुर झापाबाट ८५२, राजविराजबाट ८०३ र चितवनबाट ७६० वटा घरजग्गा किनबेच भएको छ ।

३ अर्ब राजस्व संकलन

कात्तिक महिनामा विभागले देशभरको मालपोत कार्यालयबाट ३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले कात्तिकमा ३ अर्ब ७६ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

विभागअनुसार असोजमा सेवा करबापत १३ करोड ५७ लाख रुपैयाँ, बागमतिबापत ६ करोड ५० लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ८८ करोड ३५ लाख ५६ हजार रुपैयाँ, पूँजीगत लाभकरबापत ७० करोड २२ लाख ९४ हजार रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत १ करोड ७६ लाख ५० हजार रुपैयाँलगायत अन्य विभिन्न सेवा दिएबापत राजस्व संकलन गरेको छ । साथै, विभागले सो अवधिमा २० करोड रुपैयाँ राजस्व छुट दिएको छ ।

देशभरका मालपोत कार्यालयमध्ये चितवनबाट सबैभन्दा बढी राजस्व संकलन गरेको छ । चितवनबाट कात्तिकमा कम घरजग्गा किनबेच भएपनि महंगा घरजग्गा किनबेच हुँदा ५९ करोड ८ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी, भक्तपुरबाट १७ करोड ५६ लाख रुपैयाँ, चावहिलबाट १५ करोड ९० लाख रुपैयाँ, लगनखेलबाट १५ करोड ८४ लाख रुपैयाँ, कलंकीबाट १४ करोड रुपैयाँ, डिल्लिबजारबाट १३ करोड ७६ लाख रुपैयाँ, कास्कीबाट ७ करोड १२ लाख रुपौयँ र धनगढीबाट ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

१० हजार जग्गा कित्ताकाट

सरकारले भूउपयोग नियामवली जारी गर्दै कित्ताकाटमा निकै कडाइ गरेको छ । उक्त कडाइ गरेकाले देशभरमा हुने कित्ताकाटमा शतप्रतिशत कमी आएको छ । सरकारले आगामी मंसिर २३ गतेसम्ममा कृषि, गैह्रकृषिमा अनिवार्य जग्गा वर्गीकरण गर्न निर्देशन दिएको छ । तर, स्थानीय तहमा भने वर्गीकरणको अन्यौल नै देखिएको छ ।

विभागअनुसार गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता कायम भएको थियो । भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता कायम भएको छ । त्यस्तै, असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ वटा कित्ता कायम भएको थियो । त्यस्तै, कात्तिकमा १० हजार ५४४ जग्गा कित्ताकाट भई २२ हजार ५६५ कित्ता कायम भएको छ ।


क्लिकमान्डु