स्वास्थ्य बीमा बोर्डले गर्यो ४ अर्ब ४० करोड रुपैयाँ भुक्तानी



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ४ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ४ अर्ब ४० करोड ९९ लाख ५१ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

चालु आवमा बोर्डले बोर्डमा आवद्ध भएका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ भुक्तानी गरेको थियो ।

बोर्डको भदौ २० गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की र्छ्यौट गर्ने निर्णय गरेको थियो ।

बोर्डले दोस्रो पटक ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ भुक्तानी गरेको थियो । बोर्डको असोज १४ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की र्छ्यौट गर्ने निणर्य गरेको थियो ।

यस्तै, बोर्डले तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको हो । बोर्डको कात्तिक २९ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छ्यौट गर्ने निर्णय गरेको हो ।

बोर्डले तस्रो पटक बोर्डमा आवद्ध भएका ३४८ सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई रकम भुक्तानी गरेको जनाएको छ ।

बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रुपमा शुरु भएको यस कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

हाल बोर्डसँग ४४९ वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत छन् ।

स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका यी सेवा प्रदायक संस्थाहरुले बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछन् ।

बोर्डकाअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आकस्मिक पेस्की फर्छौट गरिएको हो ।

बोर्डसँग सम्झौता भएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा पुर्याएका सेवाग्राहीको उपचार प्याकेजसहित एक हप्ताभित्र निर्दिष्ट गरिएको ढाँचामा दाबी प्रविष्ट हुने गरेको र त्यसको समीक्षा/मूल्याङ्कन पश्चात् बोर्डबाट दाबीको भुक्तानी गर्ने प्रक्रिया अवलम्वन गरिन्छ ।

बोर्डसँग सम्झौता भएका सूचीकृत स्वास्थ्य संस्थाहरुले कार्यक्रममा बीमित सदस्यहरुलाई सेवा प्रदान गरे बापतको लागत रकम माग दाबी गर्न बोर्डको बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत पठाउँछन् ।

भुक्तानीको लागि प्राप्त दाबीहरु मूल्यांकन र सूचना प्रविधि शाखाबाट थप मूल्यांकनसहितको प्रतिवेदनका साथ भुक्तानीका लागि बोर्डका कार्यकारी निर्देशकसमक्ष पेश हुने र आवश्यक प्रक्रिया पुर्याई बैंकिङ प्रणालीमार्फत सम्बन्धीत सेवा प्रदायक संस्थालाई भुक्तानी हुन्छ ।

स्वास्थ्य बीमा कार्यक्रममा परिवारलाई इकाईको रूपमा मानिन्छ र परिवारको योगदानको आधारमा स्वास्थ्य सेवा प्रवाह र उपभोग हुने गर्छ ।

प्रतिपरिवार (५जनासम्म) ३५ सय रुपैयाँ योगदानको आधारमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा र थप परिवार सदस्य ७ सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाख रुपैयाँ (१० जनाको परिवार सदस्य) सम्म रहेको छ ।


क्लिकमान्डु