अम्बे स्टिलले एकै वर्ष गर्यो ११ अर्बको व्यापार, साढे ४ अर्ब ऋण लिँदै



काठमाडौं । अम्बे ग्रुपद्वारा सञ्चालित अम्बे स्टिल प्रालिले एकै वर्ष ११ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ९३ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो ।

आइरन तथा स्टिल उत्पादन क्षेत्रमा स्थापित कम्पनीले सन् २०२१ मा ९ अर्ब २८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२० मा ६ अर्ब ३७ करोड ६० लाख र सन् २०१९ मा ८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००९ मा स्थापना भई उत्पादन सुरु गरेको कम्पनीले टीएमटी बार, बान्डिङ वायर र जीआइ तार ‘अम्बे स्टिल’को ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनी टीमटी बार उत्पादनका लागि आवश्यक बिलेट उत्पादनमा पनि संलग्न छ । कम्पनीले स्टिलजन्य सामग्री उत्पादनका लागि विशेषगरी आइरन बिलेट, पिग आइन, स्पञ्ज आइरन जस्ता कच्चा पदार्थ भारतबाट आयात गरी नेपालमा डण्डी उत्पादन गर्दै आएको छ ।

कच्चा पदार्थको रुपमा प्रयोग हुने आइरन बिलेट करिब ६० प्रतिशत कम्पनी आफैले उत्पादन गर्दै आएको छ । जसमा कम्पनीलाई आवश्यक ५० देखि ६० प्रतिशत अर्थात् वार्षिक ८० हजार मेट्रिक टन कम्पनी आफैले उत्पादन गरी खपत गर्दै आएको जनाएको छ ।

त्यसैगरी, कम्पनीले डण्डीलाई आवश्यक कच्चा पदार्थ आपूर्तिका लागि थप वार्षिक ४५ हजार मेट्रिक टन क्षमतामा बिलेट उत्पादन गर्ने उल्लेख छ । अहिले ६० प्रतिशत बिलेट कम्पनीले उत्पादन गरेको र बाँकी ४० प्रतिशत भारतबाट आयात गरी पूर्ति गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा आम्दानी बढेपनि कच्चा पदार्थको मूल्य उच्च बढ्दा नाफा भने घटेको जनाएको छ । सन् २०२२ मा करिब ११ अर्बको व्यापार गर्दा ८३ प्रतिशत आम्दानी डण्डीबाट भएको कम्पनीको भनाइ छ । त्यसपछि जीआइ तार, गबियन बक्स र बान्डिङ तारबाट आम्दानी भएको कम्पनीले जनाएको छ ।

न्यौपाने, अग्रवाल र पौडेल परिवारको संयुक्त सेयर रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्ब ५२ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६४ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लािग ३ अर्ब ८७ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीमा शोभाकर न्यौपानेको ६० प्रतिशत, अग्रवाल परिवार (रमेशकुमार अग्रवाल र सज्जनकुमार अग्रवाल) को २५ प्रतिशत र पूर्णबहादुर पौडेलको १५ प्रतिशत हिस्सा छ ।


क्लिकमान्डु