बढ्यो बीमालेख धितो कर्जाको ब्याजदर, अब कति पुग्यो ?



काठमाडौं । बीमालेख धितो कर्जाको ब्याजदर बढेको छ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी लिने कर्जाको ब्याजदर बढाएका हुन् ।

कम्पनीहरुले विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइदै आएको ब्याजदरलाई परिमार्जन गरेका हुन् ।

कम्पनीहरुले हालको वार्षिक ब्याजदरलाई परिमार्जन गरी १२ प्रतिशतसम्म पुर्याएका छन् । यसअघि बीमालेख धितोमा राखी कम्पनीहरुले १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका थिए । बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ मा जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ ।

‘बीमकले बीमालेख अन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखी ऋण प्रदान गर्न सक्नेछ,’ बीमा प्राधिकरणद्धारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ मा उल्लेख छ ।

यसअघि बीमितिले २ किस्ता प्रिमियम तिरेपछि बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था थियो । निर्देशिकाअनुसार ऋणको रकम बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटीमा १ हजार रुपैयाँसम्म कायम गर्नुपर्ने छ ।

यस्तै, बीमकले बीमालेख धितो राखी कर्जा प्रदान गर्दा ब्याज लिन सक्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । तर, ब्याजदरको निर्धारण गर्दा बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदर भन्दा बढी नहुने गरी बीमकको सञ्चालक समितिको स्वीकृति लिई निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

‘बीमकले बीमालेख धितो राखी कर्जा प्रदान गर्दा ब्याज लिन सक्नेछ र ब्याजदरको निर्धारण गर्दा बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदर भन्दा बढी नहुने गरी बीमकको सञ्चालक समितिको स्वीकृत लिई निर्धारण गर्नुपर्ने छ,’ निर्देशिका भनिएको छ ।

ब्याजदरको निर्धारण गर्ने अधिकार निर्देशिकाले कम्पनीलाई दिएकाले सोही बमोजिम हाल भएको ब्याजदरलाई परिमार्जन गरिएको जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताए । बैंकहरुले हाल मुद्दती निक्षेपमा ब्याज बढाउन थालेपछि सोही बमोजिम बीमा कम्पनीहरु पनि ब्याजदर समायोजन गर्ने निर्णयमा पुगेका हुन् ।

बैंकहरुले मुद्दती निक्षेपमा बढी ब्याज दिने भएपछि बीमा कम्पनीहरुबाट बीमालेख धितोमा राखेर कर्जा लिएको रकम बैंकमा राख्ने गरेको उनको भनाइ छ । हाल बैंकहरूले निक्षेपकर्तालाई आकर्षण गर्न निक्षेप खातामा बीमाका विशेषता समेत राखी उक्त खातामा दिईने ब्याज पनि बढाएका छन् । जसले बीमा क्षेत्रको रकम बाहिर नजाओस् भनेर बीमालेख धितोमा कर्जाको ब्याजदर बढाउनु निर्णय गरिएको उनले बताए ।

‘नियामकले दिएको अधिकार बमोजिम ब्याजदर बढाउने सहमति संघले गरेको हो,’ मेट लाइफ इन्स्योरेन्सका सीईओ समेत रेहका श्रेष्ठले क्लिकमाण्डूसँग भने,‘यस अघि लिईदै आएको १० प्रतिशत ब्याजदरलाई १२ प्रतिशतसम्म लिन सकिने छ ।’

संघले गरेको निर्णयअनुसार कम्पनीहरुले ब्याजदर बढाउन थालेका छन् । सानिमा लाइफले हालको वार्षिक ब्याजदरलाई परिमार्जन गरी १२ प्रतिशत पुर्याएको हो । यस्तै, प्राइम लाइफ र ज्योति लाइफका बीमितले पनि बीमालेख धितोमा कर्जा लिँदा १२ प्रतिशत ब्याजदर तिर्नुपर्ने भएको हो ।

प्राइम लाइफले हालको वार्षिक ब्याजदरलाई परिमार्जन गरी १२ प्रतिशत पुर्याएको हो । यस्तै, ज्योति लाइफले भने कात्तिक १ गतेदेखि नै लागू हुने गरी १२ प्रतिशत (६ महिने चक्र वृद्धि) कायम गरेको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी नेपाल)ले भने साविकको १० प्रतिशत ब्याजदर परिमार्जित गरी नयाँ ब्याजदर ११ प्रतिशत कायम भएको जनाएको छ । वर्तमान आर्थिक परिस्थितिको कारण कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर कायम गरिएको कम्पनीको भनाइ छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले भने ब्याजदर बढाउने प्रक्रृयामा रहेको जानकारी दिएको छ । कम्पनीका सूचना अधिकारी संजिभ कुमार सिंहले हालाई १० प्रतिशत ब्याजदर मै कर्जा दिईदै आएको बताए । तर, अन्य कम्पनीहरुले बीमालेख धितो कर्जाको ब्याजदर बढाएपछि कम्पनीले पनि त्यसको लागि प्रक्रृया थालेको उनको भनाइ छ ।

नेपाल लाइफ इन्स्योरेन्सले पनि बीमालेख धितो कर्जाको ब्याजरदर १० प्रतिशतबाट बढाएर १२ प्रतिशत कायम गरेको छ । कम्पनीले उक्त ब्याजदर बढाएर बीमितमाथि अन्याय गरेको भन्दै यथाशिघ्र फिर्ता लिन समेत कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुले माग गरेका थिए ।

बीमालेख धितो कर्जामा लाग्ने ब्याजमा हालको आर्थिक विषम परिस्थितिलाई मध्यनजर नगरी गैह्र जिम्मेवार ढंगले वार्षिक १० प्रतिशतबाट १२ प्रतिशत वृद्धि गरिनु बीमित माथि गरिएको अन्याय भन्दै पेशागत बीमा अभिकर्ता संघ अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्समा रहेको बीमक केन्द्रीय समितिले कम्पनीलाई विरोध पत्र समेत बुझाएको छ ।

रिलायबल नेपाल लाइफले पनि संघले निर्णय गरेबमोजिम नै नयाँ ब्याजदर कायम गरिएको जानकारी दिएको छ । रिलायबल नेपाल लाइफका बीमितलाई आफ्नो बीमालेख धितोमा राखी कर्जा दिँदा १२ प्रतिशत ब्याज लाग्ने छ । बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्छन् ।

बीमालेख बाहेक अन्य कुनै पनि धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रिया झनझट मुक्त समेत मानिन्छ । गत आवमा बीमितले बीमालेख धितोमा राखी ६७ अर्ब रूपैयाँ भन्दा धेरै कर्जा लिएका थिए । बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितोमा राखी १९ जीवन बीमा कम्पनीबाट ६७ अर्ब ७० करोड रूपैयाँ कर्जा लिएका थिए । यस्तै, गत आवमा १९ जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर कर्जा प्रवाह गरी ५ अर्ब ९८ करोड रूपैयाँ आम्दानी थिए ।


क्लिकमान्डु