मोरङ ६: शेखर कोइराला र लालबाबु पण्डितबीच प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?



विराटनगर । २०७४ को चुनावमा मोरङ क्षेत्र नं ६ बाट नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा (एमाले)का लालबाबु पण्डितबीच प्रतिस्पर्धा भएको थियो । सो चुनावमा पण्डितले कोइरालालाई ६ सय ७५ मतले हराएका थिए ।

त्यसबेला कोइरालालाई आफ्नै पार्टीभित्रबाट अन्तर्घात भएको धेरैले आँकलन गरेका थिए । त्यो बेला प्रदेशका दुबै क्षेत्रमा कांग्रेसकै उम्मेद्वारले जित्दा प्रतिनिधिसभा सदस्यमा कोइरालाको पराजय भएको थियो ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धन भएकाले उक्त गठबन्धनको देशैभर माहोल थियो । र, त्यसबेला लालबाबु पण्डित निकै लोकप्रिय र चर्चित थिए । तर, जब पण्डित सामान्य प्रसाशन मन्त्री भए । त्यसपछि उनको लोकप्रियताको उचाई ढल्यो । मन्त्रीका रुपमा पनि पण्डित असफल भएको र निर्वाचन क्षेत्रको विकासमा ध्यान नदिएको मतदाताहरुको बुझाइ छ ।

यसपटक फेरि कोइराला र पण्डितबीच पुनः चुनावी प्रतिस्पर्धा हुँदैछ । पण्डितलाई यसपटक निर्वाचन जित्नु फलामको च्यूरा चपाएसरह हुने स्थानीयहरु बताउँछन् ।

जसकारण, अघिल्लो चुनावको तुलनामा मोरङ ६ मा कोइरालालाई चुनौति कम देखिएको कांग्रेस कार्यकर्ताहरु बताउँछन् । अघिल्लो चुनावमा कोइरालासँग असन्तुष्ट रहेको भनिएका सो क्षेत्रका पार्टीका केही नेताहरु यसपटक कोइरालासँग नजिकिएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, सुन्दरहरैंचाका पूर्वमेयर शिवप्रसाद ढकाललगायत थारु समुदायका नेताहरु यसपटक कोइरालाका पक्षमा खुलेर लागेका छन् ।

गठबन्धन भएपनि आफ्ना क्षेत्रका आदिवासी थारु समुदायलाई समानुपातिकतर्फको उम्मेदवार बनाएर उनले सो समुदायलाई विश्वासमा लिन खोजेको कतिपयको भनाइ छ । प्रदेशसभाको समानुपातिकतर्फ वीरेन्द्र माझी र प्रतिनिधिसभाको समानुपातिकमा चुमनारायण तवदार उम्मेदवार छन् ।

रमेशजंग रायमाझीलाई राष्ट्रियसभामा संसदीय दलको नेता बनाउन कोइरालाले पनि महत्वपूर्ण भूमिका खेलेको जस पनि छ । त्यसैले हुनुपर्छ रायमाझी अहिले कोइरालाको चुनावी कमाण्डर नै बनेर हिँडेका छन् ।

उनले कोइरालालाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर चुनावी माहोल बनाउँदै आएका छन् । उनले भन्ने गरेका छन्, ‘डा शेखरले चुनाव जितेर संसदमा पुग्दा प्रधानमन्त्रीको दावेदार बन्न सक्नुहुन्छ, त्यसैले उहाँलाई जिताउनुपर्छ ।’ गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला परिवारको विरासतको राजनीति थाम्ने जिम्मेवारी पनि शेखरकै काँधमा छ ।

२०६४ को पहिलो संविधानसभादेखि शेखर निरन्तर चुनावी चुनावी प्रतिस्पर्धामा छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जागिरे जीवनको अन्त्य गरेर पूर्णकालीन राजनीतिमा आएका शेखरले हालसम्म एक उपनिर्वाचनसहित चारवटा चुनाव लडे, जसमा दुई पटक सफलता प्राप्त गरे ।

कोइराला २०६४ को संविधानसभा निर्वाचनमा मोरङको तत्कालीन क्षेत्र नम्बर ७ मा त्यतिबेला मधेसी जनाधिकार फोरमका विजयकुमार गच्छदारसँग ५ हजार १ सय ५५ मतले पराजित भएका थिए । पहिलो संविधानसभामा सुनसरी ३ बाट पनि निर्वाचित गच्छदारले मोरङ ७ छाडेपछि २०६५ चैत २८ गते भएको उपनिर्वाचनमा कांग्रेसबाट कोइराला नै उम्मेद्वार बने ।

तत्कालीन फोरमका चुमनारायण तबदारलाई पराजित गर्दै संविधासभा सदस्य निर्वाचित भए । सो निर्वाचनमा शेखरले १२ हजार ७१ मत पाउँदा तबदारले ११ हजार तीन ९७ मत प्राप्त गरेका थिए ।

२०७० सालको दोस्रो संविधासभा निर्वाचनमा कोइराला तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई पराजित गरे । १२ हजार नौ सय ८२ मतका साथ कोइरालाल विजयी हुँदा गच्छदारले १० हजार पाँच सय ६४ मत पाएका थिए ।

अहिले राजनीतिक परिस्थितिमा फेरबदल आएको छ । अघिल्लो २०७४ को चुनावका बेला असन्तुष्ट रहेका सुन्दरहरैंचाका पूर्वमेयर ढकाल पनि पछिल्लो समय कोइरालासँग नजिक देखिएका छन् । गत वैशाखमा भएको निर्वाचनपछि उनी कोइराला समूहसँग नजिक भएको बताइएको छ । सो चुनावमा उनी सुन्दरहरंैचाको मेयरमा एमालेसँग पराजित भएका थिए ।

अन्य उम्मेदवारबाट शेखरलाई समर्थन

यसैबीच प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका डा. शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न व्यक्तिले उम्मेदवारी नै फिर्ता गर्न थालेपछि कोइराला बलियो हुँदै गएका छन् ।

क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले कांग्रेसका कोइरालालाई समर्थन गरेका छन् । पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समर्थन गर्ने निर्णय गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

पासवानले प्रेस विज्ञप्ति प्रकाशित गरी लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । अब आफू र आफ्नो पार्टीका सबै कार्यकर्ता कांग्रेस उम्मेदवार कोइरालाको समर्थनमा चुनावी अभियानमा सक्रिय हुने उनले जानकारी सार्वजनिक गरेका छन् । यस्तै कोइरालाकै पहलमा लोकतान्त्रिक समाजवादीका उम्मेदवार राजु मण्डलले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।

विगतको मत परिणाम

मोरङ ६ मा स्थानीय तहको चुनावको मत परिणामअनुसार सत्ता गठबन्धन दलको ३५ हजार ५ सय मत रहेको छ । एमालेको तालमेल तालमेलसहित करिब ३० हजारको हाराहारीमा मत देखिएको छ । त्यसमध्ये पनि विराटनगर क्षेत्रको मत निर्णायक हुने देखिन्छ ।

विराटनगर क्षेत्रमा ४, ५, ६, ११ र १२ वडाहरू पर्दछन् । यी वडाहरूमध्ये तीन कांग्रेस र तीन वटा वडाहरूमा एमालेले विजय हासिल गरेका छन् । त्यसमध्ये ११ नं. वडामा एमालेले वडाध्यक्षमात्र जितेको छ । मत खसाइएको आधारमा कांग्रेस नै अगाडि देखिएको छ । त्यस्तै बूढीगंगा गाउँपालिका पूरै र सुन्दरहैंचाका २ देखि ७ सम्मका ६ वटा वडाहरू यस निर्वाचन क्षेत्रमा पर्दछन् । बूढीगंगामा स्थानीय चुनावमा कांग्रेसले विजय हासिल गरेको छ । सुन्दरहैंचाको वडाहरूमा भने एमाले बलियो देखिएको छ । यो त भयो स्थानीय निर्वाचनको आधारको तथ्यांक ।

पछिल्लो समय ७ हजार ४ सय ५५ मतदाताहरू थपिएका छन् । स्थानीय चुनावमा १ लाख १९ हजार ३ सय ६ मतादाहरू थिए भने अहिले १ लाख २६ हजार ७ सय ६१ मतदाताहरू रहेका छन् । थपिएका मतदाहरू नै निर्णायक बन्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

अब माथि उल्लिखित तथ्यांकको अलवा संसदीय चुनावमा स्थानीय तहको चुनावलाई नै पूर्ण आधार बनाउन भने नसकिने राजनीति विश्लेषकहरू बताउँछन् । पहिलेको संसदीय चुनावमा एमाले एकीकृत भई नेकपा भएर चुनाव लडेको थियो । एमाले जसपासँगको तालमेलमा चुनावमा छ । यसपालि कांग्रेस गठबन्धनबाट चुनाव लड्दैछ । नेकपा विभाजन भई एमाले एक्लै चुनाव लड्दैछ ।

जसपासँगको तालमेलले मात्र एमालेलाई विजय हासिल गर्न सहज अवस्था नभएको जानकारहरू बताउँछन् । तर, एमाले नेतृत्व पंक्ति भने विजय हासिल हुन्छ भन्ने विश्वासमा छ । कांग्रेस नेतृत्व पनि विजय हासिल गर्ने कुरामा उत्तिकै ढुक्क देखिन्छ ।

असन्तुष्टि त दुवै पार्टीका कार्यकर्ताहरूमा उत्तिकै देखिन्छ । आम जनमानसमा पनि सधैं एउटै खाले अनुहारका उम्मेदवार भएका व्यक्तिलाई मात्र दोहोर्याएर कतिपटक मतदान गर्नु भन्ने दिक्दारी पनि उत्तिकै छ । यसै सन्दर्भमा यस क्षेत्रका मतदाता गेहेन्द्र शर्मा ढुंगाना भन्छन् ‘खोइ यसपटक त भोट हाल्ने खालको गतिलो मान्छे नै उठेन । तीनै बूढा र पुराना उठेका छन् ।’

यस क्षेत्रका मतदाताहरूले उम्मेदवार परिवर्तनकको चाहना राखेको बुझ्न सकिन्छ । तथापि अहिले उठेका कोइराला र पण्डितमध्ये एउटा उम्मेदवारलाई त मतदाताले मत दिनै पर्ने बाध्यता छ । यी दुई व्यक्तिबाहेक मत धेरै ल्याउन सक्ने ल्याकत भएको अन्य दलबाट दरिलो उम्मेदवार भएर चुनावमा उठेको पनि छैन ।

राप्रपा नेपालबाट पूर्वमाओवादी कार्यकर्ता गोपाल कटुवाल उठेका छन् । उनी यसअघि संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव लडेका व्यक्ति हुन् । उनले जित्नेभन्दा पनि सो क्षेत्रमा राप्रपाको मत कति रहेछ भन्ने एकिन हुन सजिलो हुन्छ ।

प्रदेशसभा सदस्यको लागि कांग्रेसले एक जनामात्रै प्रत्यक्षमा उठाएको छ । गठबन्धनका कारण अर्को उम्मेदवार माओवादी केन्द्रले पाएको छ । यदि दुवै प्रदेशसभा सदस्यका उम्मेदवार कांग्रेसको भागमा परेको भए चुनाव जित्न कांग्रेसका शेखरलाई निकै सहज हुने थियो भन्ने आँकल गर्ने राजनीतिक विश्लेषकहरू पनि नभएका होइनन् ।

यदि कांग्रेसका शेखरले चुनाव नजितेमा उनको राष्ट्रिय राजनीतिमा पर्ने प्रभाव न्यून हुने आँकल गरिएको छ । अर्थात् अब उनले संसदीय राजनीतिबाट टाढा रहनुपर्ने पनि हुन सक्छ भनिन्छ । किनकी, उनको उमेरले पनि साथ नदिन सक्छ । तसर्थ, शेखरलाई यसपटकको चुनाव जित्नैपर्ने बाध्यता छ ।

शेखर देउवाका बलिया प्रतिस्पर्धी

पछिल्लो पाँच वर्षमा परिस्थिति फेरिएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा प्रतिस्पर्धा गरेका उनी ४० प्रतिशत मत पाएर पार्टीभित्रकै ‘प्रतिपक्षी’ नेताका रूपमा उदाएका छन् । पार्टीको प्रतिपक्षी नेता भएका कारण उनले आफ्नो समर्थन पनि बढाएका छन् ।

कांग्रेसभित्र फरक लवीको वकालत गर्ने शेखर पार्टी संस्थापन इतर पक्षका नेताको राम्रै पकड राख्ने अवस्थामा हेरिन्छन् । तथापि यस चुनावमा उनको चुनाव प्रचारप्रसारमा पार्टी संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरू एक मत भएर लागेको कारण उनले जित्ने संभावना प्रबल बन्दै गएको जिल्ला कांग्रेस नेतृत्व बताउँछ ।

कांग्रेस उम्मेदवार कोइरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेक पास नभएको भन्ने गम्भीर आरोप लगाएर राष्ट्रिय राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने मुद्दा उठाएका छन् । त्यस्तै ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने भन्ने प्रतिवद्धता व्यक्त गरेर स्थानीय मुद्दालाई पनि प्राथमिकता दिएको देखिन्छ ।

उता उनका प्रतिद्वन्द्वी एमाले उम्मेद्वार पण्डितले आफूले जितेर सो क्षेत्रमा गरेका विकासका कुराहरूलाई प्राथमिकताका साथ उठाइरहेका छन् । एमाले उम्मेदवार पण्डित पाँच वर्षयता आफूले सुरु गरेका विकास निर्माणका योजना पूरा गर्न पुनः चुनावी मैदानमा आएको बताउँछन् । पाँचवर्षे कार्यकालमा विकास निर्माणको उल्लेख्य काम गरेको बताउँदै उनले ती काम पूरा गर्न आफूले उम्मेदवारी दिएको धारणा राखेका छन् ।

सो पार्टीले प्रदेशसभा सदस्यका लागि क र ख दुवै क्षेत्रमा उम्मेदवारी दिएको छ । तथापि सो पार्टीले पनि प्रदेशसभाका दुवै उम्मेदवार खस आर्य समुदायबाट दिएको छ । जसले गर्दा थारू र मधेसी समुदाय त्यति सन्तुष्ट देखिँदैन । हुन त कांग्रेसले प्रदेशसभा सदस्यको एकजना मात्रै उम्मेदवार खासआर्य समुदायबाटै चुनावमा उठाएको छ । यसरी यी दुवै दलले प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा जातीय सन्तुलन कायम गर्न सकेका छैनन् । समानुपातिक उम्मेदवारको हकमा भने दुबै पार्टीले चौधरी समुदायलाई समेटेका छन् ।

आर्थिक क्षेत्रका मुद्दा फितलो

संघीय संसदका लागि उठेका दुवै पार्टीका उम्मेदवार कोइराला र पण्डितले आर्थिक रूपमा दीर्घककालीन प्रभाव पार्ने मुद्दाहरूलाई प्राथमिकतामा राखेका छैनन् । हरेक पटक चुनावमा उठ्ने गरेको आर्थिक र जनजीविकाको मुद्दा दुबै दलको कार्यान्वयन पक्ष फितलो भएको विराटनगरका मतदाता घुरन चौधरी बताउँछन् ।

उदाहरणको रूपमा विराटनगर बिमानस्थलको स्तरउन्नति, औद्योगिक कोरिडोर, विराटनगरको चक्रपथ निर्माण, पर्यटनको विकास आदि विषयहरूलाई लिन सकिन्छ । त्यस्तै स्थानीय जनजीविका र उत्पादन क्षेत्रको मुद्दा पनि ओझेल परेको मतदाताको गुनासो रहँदै आएको छ।

विराटनगर बिमानस्थलको स्तरउन्नति गर्ने र क्षेत्रीय विमानस्थल बनाउने विषयमा अघिल्लो संघीय सरकारले तदारुकता देखाएर काम सुरु भएको थियो । त्यस कार्यलाई वर्तमान सरकारले खारेज गरिदियो । यसबाट औद्योगिक कोरिडोरका मतदाताहरू रुष्ट बनेको व्यवसायी पुन्य भट्टराई बताउँछन् । ‘विकासका नाममा राजनीति नगरेको भए हुने थियो’ उनले भने ।

सुन्दरहरैंचाका नवीन कँडेल ‘चुनाव हो, कस्ले जित्छ यसै भन्न सकिँदैन । जो जिते पनि विकासका मुद्दामा राजनीति गरिनु हुँदैन’, उनी भन्छन्।

चुनावमा बोलेका वाचा पूरा गर्ने बानी नेताहरूमा हराएको छ भन्छन् बूढीगंगाका मिलन सरदार ।


क्लिकमान्डु