कोरोना बीमा भुक्तानी: सरकारले निकासा गरेको १ अर्ब बीमक संघको खातामा आयो, वितरण कहिले ?



काठमाडौं । कोरोना बीमाअन्तर्गत भुक्तानी हुन बाँकी रहेको रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढेको छ ।

सरकारले कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब रूपैयाँ निकासा गरेको थियो । सरकारले दिएको १ अर्ब रूपैयाँलाई ५५ प्रतिशत मानि नेपाल पुनर्बीमा कम्पनीबाट १२ प्रतिशत, बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा समितिबाट ८ प्रतिशत रकम भुक्तानी गर्ने योजना बनाएर १ अर्ब ८१ करोड रुपैयाँ वितरण गर्नका लागि अर्थसँग अनुमति माग गरेको थियो ।

सो रकम वितरण गर्न अर्थमन्त्रालयले अनुमति दिएको समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए ।

उनकाअनुसार अर्थमन्त्रालयसँग भएको कुराकानीमा जो बीमितले दाबी भुक्तानीका लागि पहिले आवेदन दिएका छन्, उनीहरु पहिलो प्राथमिकतामा पर्नेछन् ।

त्यसपछि बाँकी रहेका बीमितलाई भने पुनः रकम निकासा भएपछि क्रमशः भुक्तानी गरिने उनको भनाइ छ । सरकारबाट निकासा भएको १ अर्ब रुपैयाँ बीमक संघको खतामा समितिले पठाइसकेको छ ।

बीमक संघका महासचिव अशोककुमार खड्काले सरकारबाट निकासा भएको १ अर्ब रुपैयाँ बीमक संघको खतामा आएको जानकारी दिए।

‘सरकारले निकासा गरेको १ अर्ब रुपैयाँ बीमक संघको खातामा आइसेको छ,’ नेको इन्स्योरेन्सका प्रमुख कार्यकारीसमेत रहेका खड्काले क्लिकमाण्डूसँग भने, ‘रकम वितरण भने फस्ट कम फस्ट सर्भिसका आधारमा गर्न निर्देशन आएको छ ।’

तर, बीमितहरुलाई रकम कहिले वितरण गरिने भन्ने निष्कर्ष भने संघले निकालेको छैन ।

समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले थप्नु पर्ने रकम बीमक संघको खातामा जम्मा भएपछि कोरोना बीमा पुलमार्फत वितरण हुने संघको भनाइ छ ।

सबै कम्पनीहरुसँग एकपटक छलफल गरेर चाडै रकम वितरण गरिने संघको भनाइ छ ।

बीमा समितिकाअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले उक्त बीमालेख खरिद गरेका थिए । जसमध्ये लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको समितिको तथ्यांक छ ।

सो संख्या बराबर बीमा कम्पनीमा १५ अर्ब ४२ करोड २३ लाख रूपैयाँको दाबी परेको थियो ।

जसमध्ये हालसम्म २० निर्जीवन बीमा कम्पनीबाट ५१ हजार ६६९ बीमितलाई ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार २३५ रूपैयाँ बराबरको दावी भुक्तानी भएको हो । जुन कुल दाबी भुक्तानी संख्याको ३१.३० प्रतिशत हो । भने कुल दाबी रकमको ३१.४८ प्रतिशत मात्रै भुक्तानी भएको हो ।

सरकारले भुक्तानी गर्न बाँकी रकम १० अर्ब ४ करोड ६ लाख ८३ हजार ३१९ रूपैयाँ र अनुदान रकम २ करोड ३ लाख ६४ हजार ११६ रूपैयाँ समेत गरी १२ अर्ब ३ करोड २५ लाख ३५ हजार ६७० रूपैयाँ दिन बाँकी छ ।

कोरोना बीमा मापदण्डमा १ अर्ब रूपैयाँसम्म बीमकले र १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्ने उल्लेख छ ।

साथै, २ अर्ब रुपैयाँदेखि २ अर्ब ५० करोड रुपैयाँसम्म बीमकको महाविपत्ति पुलमार्फत र २ अर्ब ५० करोड रुपैयाँभन्दा माथि ३ अर्ब ५० करोड रुपैयाँसम्म बीमा समितिले बेहोर्ने उल्लेख छ ।

मापदण्डअनुसार बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीले दायित्व बहन गरिसकेका छन् ।


बिजया बास्कोटा