सात बैंकसहित ४७ कम्पनीले गरे लाभांश घोषणा, बोनसभन्दा नगदमा जोड



काठमाडौं । अहिलेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ४७ वटा कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा सात वटा वाणिज्य बैंकसहित बीमा कम्पनी, जलविद्युत कम्पनी, होटल, म्यूचुअल फण्ड लगायत रहेका छन् ।

लाभांश घोषणा गरेका कम्पनीमा यो वर्ष अधिकांशले बोनसमा भन्दा नगद लाभांशमा जोड दिएका छन् । अघिल्ला वर्षहरुमा कम्पनीले बोनसमा जोड दिने गरेका थिए । तर, यो वर्ष बैंक तथा वित्तीय संस्थालाई बोनस भन्दा नगद लाभांशलाई प्राथमिकता दिएका छन् ।

अहिलेसम्म लाभांश घोषणा गर्नेमा वाणिज्य बैंक सात वटा रहेका छन् । यस्तै बीमा कम्पनी ६ वटा, जलविद्युत कम्पनी तीन वटा तथा म्युचुअल फण्डसहितका विभिन्न कम्पनी रहेका छन् ।

केही म्युचुअल फण्डहरुले लाभांशसमेत लगानीकर्ताको खातामा पठाइसकेका छन् । केही कम्पनीको भने साधारणसभा बोलाउन बाँकी नै छ ।

सात वाणिज्य बैंक

सञ्चालनमा रहेका २६ वटा बैंकमध्ये लाभांश घोषणा गर्नेमा बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स, एनसीसी, स्टयान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई र सानिमा बैंक रहेको छ । बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ६ र नगद १४.९५ प्रतिशत रहेको छ ।

कुमारीले १२.५ प्रतिशत नगद लाभांश दिने भएको छ भने सिटिजन्सले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । सिटिजन्स बैंकले लाभांश घोषणा गरेर पनि साधारणसभा बोलाएर घोषणा गरेको लाभांश सभाले पारित गरिसकेको छ ।

कुमारी बैंकले सभा बोलाएको छ । कात्तिक २१ गते सभा बोलाएको बैंकले कात्तिक १४ गतेका लागि बुक क्लोज गरिसकेको छ । कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जान लागेका कारण अहिले कारोबार रोक्का रहेको छ ।

असोज १० गतेसम्म कायम रहेका लगानीकर्ताले लाभांश पाउने छन् । बैंकले १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै एनसीसी बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेकामा ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले नगद मात्रै लाभांश दिने भएको छ ।

ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ३ र १०.६ प्रतिशत नगद लाभांश रहेको छ ।

सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश घोषणा गरेकामा १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेका हुन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

६ वटा बीमा कम्पनी

अहिलेसम्म नेपाल लाइफ, गुराँस लाइफ, नेशनल लाइफ र एशियन लाइफ, प्राइम लाइफ र नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन् ।

जसमा नेपाल लाइफ इन्स्योरेन्सले १५.७८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले लगानीकर्तालाई बोनस नदिएर नगद मात्रै दिने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट १५ प्रतिशत नगद र कर तिर्नका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने भएको छ । प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।

गुराँस लाइफ इन्स्योरेन्सले आव २०७६/७७ को नाफाबाट ७.८३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ७.४४ प्रतिशत र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले घोषणा गरेको लाभांश बीमा समितिले स्वीकृत दिएर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

नेसनल लाइफ इन्स्योरेन्सले १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लाभांश बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १४.५० प्रतिशत र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्राइम लाइफ इन्स्योरेन्सले १३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १३ कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

नेपाल इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ८ र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

यस्तै सूर्या लाइफले भने लगानीकर्ताको हात खाली बनाउने भएको छ । कम्पनीको प्रयाप्त विरणयोग्य नाफा भएपनि जगेडा कोष बलियो. बनाउन भन्दै लगानीकर्ताको हात खाली बनाएको छ । यो वर्ष कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

तीन वटा जलविद्युत् कम्पनी

अहिलेसम्म तीन वटा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा रु रु जलविद्युत परियोजना, अरुण काबेली पावर कम्पनी र सानिमा माइ हाईड्रोपावर रहेका छन् ।

सानिमा माई हाइड्रोपावरले लगानीकर्तालाई बोनस सेयर नदिने भएको छ । कम्पनीले २०७८/७९ को मुनाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले घोषणा गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

यस्तै अरुण काबेली पावर कम्पनीले लगानीर्तालाई बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

रु रु जलविद्यु्त परियोजनाले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

यता बोटलर्स नेपाल तराई र बालाजुले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल तराईले ६० प्रतिशत नगद र बालाजुले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् । दुवै कम्पनीको प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल ल्युब आयलले लाभांश घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनस र ५ प्रतिशत नगदसहित ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले असोज २८ गते ३१ औं बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि असोज १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सभा याक प्यालेस पुल्चोकमा हुने भएको छ । उक्त सभाले लाभांश पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

हाथवे इन्भेष्टमेन्ट कम्पनीले पनि लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारणसभाले परित गरेपनि लगानीकर्ताले पाउनेछन् ।

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले पनि लगानीकर्तालाई ४.२१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरको छ । यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

सोल्टी होटलले २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ५ र २१.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

२४ वटा म्युचुअल फण्ड

अहिलेसम्म २४ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा बढी एनआईसी एसिया क्यापिटलको रहेको छ । क्यापिटलले ५५ प्रतिशत लाभांश दिने छ ।

जसमा सनराइज क्यापिटल फण्ड अन्तर्गतको सनराइज फस्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट करसहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सानिमा इक्विटी फण्डले इकाईधनीलाई २२ प्रतिशत लाभांश घोषणा गरेको छ भने सानिमा क्यापिटलले १५.७८ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ५ प्रतिशत, एनआईसी एसिया क्यापिटलले ५५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ५ प्रतिशत लाभांश दिने भएको छ ।

यस्तै एनएमबी हाईब्रिड फण्ड एल-१ ले २१.०५ प्रतिशत, एनएमबी-५० ले २१.०५, सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले १० प्रतिशत, कुमारी क्यापिटलले ५ प्रतिशत, एनआईबीएल प्रगति फण्डले ४.२ प्रतिशत र एनआईबीएल सहभागिता फण्डले ७.२ प्रतिशत लाभांश दिने भएका छन् ।

यस्तै सिद्धार्थ क्यापिटलले २५, आरबीबी मर्चेन्ट बैंकिङ ७.५, सिद्धार्थ सहभागीता फण्ड ७.२, बिओके क्यापिटल मार्केट ५.७९, एनएमबी क्यापिटल २१.०५, नबिल इक्विटी ५, नबिल ब्यालेन्स फण्ड-२ को ७, सनराइज क्यापिटल २५, एनआईबीएल एस क्यापिटल २०, एनआईसी एशिया नाइनामिक डेफ्त फण्ड ६, एनआईसी एशिया ग्रोथ फण्ड १३ र एनआईसी एशिया ब्यालेन्स फण्डले १३ प्रतिशत लाभांश दिने भएको छ ।


क्लिकमान्डु