अचल सम्पत्तिको हकसफा कसरी लिन सकिन्छ ? दान वा बकसमा दिएको घर हकसफा गर्न पाइन्छ ?



काठमाडौं । कसैले आफ्नो हक, भोग र स्वामित्वको कुनै अचल सम्पत्ति अन्य व्यक्तिलाई कुनै किसिमले हक हस्तान्तरण गरी दिएकोमा त्यस्तो सम्पत्तिको सन्धिसर्पन पर्ने व्यक्तिले निखनी लिएमा हकसफा गरेको मानिन्छ ।

सरकारले मुलुकी देवानी संहिता, २०७४ मा कसैले आफ्नो अचल सम्पत्ति बिक्री गरेकोमा त्यस्तो सम्पत्तिमा सन्धिसर्पन पर्ने हकवालाले सम्पत्ति खरिद गर्ने व्यक्तिले तिरेको रकम र लिखत पारित गर्दा लागेको दस्तुर निजलाई बुझाई त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्नेछ ।

हकसफा गरी लिन चाहने हकवाला एकभन्दा बढी भएमा सबैभन्दा नजिकको हकवालाले, त्यस्तो हकवाला एकभन्दा बढी भएमा सबभन्दा बढी सन्धिसर्पन पर्ने हकवालाले र हकवाला पनि एकभन्दा बढी भएमा समान अनुपातमा सबै हकवालाहरूले त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्नेछन् ।

त्यसैगरी, नजिकको हकवालाले सम्पत्ति हकसफा गरी नलिएमा प्राथमिकताक्रमको आधारमा सबैभन्दा नजिकको हकवालाले सम्पत्ति हकसफा गरी लिन सक्नेछ । सरकारले सन्धिसर्पन पर्ने हकवाला नभएमा वा भए पनि निजले हक सफा गरी नलिएमा र त्यस्तो सम्पत्तिमा कानून बमोजिम मोही रहेछ भने निजले त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै, एउटै घरको भिन्नभिन्न हिस्साको भिन्न भिन्न धनी भएको अवस्थामा घरको कुनै हिस्साको धनीले आफ्नो हिस्सा जति कसैलाई बिक्री गरी दिएकोमा अर्को हिस्साको धनीले त्यस्तो हिस्सा हकसफा गरी लिन चाहेमा धनीले खरिदकर्ताले तिरेको रकम र लिखत पारित गर्दाका बखत भुक्तानी गरेको दस्तुर निजलाई बुझाई घर हकसफा गरी लिन सक्नेछ ।

हकसफा गरी लिँदा सरकारले हकवालाको प्राथमिकता क्रम राखेको छ । जसमा सरकारले अर्को हिस्साको धनी हकवाला भएमा त्यस्तो हकवालाले र एकभन्दा बढी हकवाला भएमा सबभन्दा नजिकको हकवालाले र अर्को हिस्साको धनी हकवाला बाहेकको अन्य व्यक्ति भएमा सन्धिसर्पन पर्ने वा त्यस्तो हिस्सासँग जोडिएको हिस्साको धनीले प्राथमिकता पाउनेछन् ।

त्यस्तै, मुलुकी देवानी संहिताअनुसार दान वा बकसमा दिएको घर हकसफा गर्न पाउनेछन् । कसैले कुनै व्यहोराले आफ्नो हक छाडी एउटै घरको आधा वा त्यसको कुनै अंश वा घरले चर्चेको जग्गा, लगापात दान, बकस गरी दिएकोमा त्यसरी दान, बकस पाउनेले घर वा जग्गा अर्को व्यक्तिलाई कुनै व्यहोराले हक हस्तान्तरण गरी दिएछ भने दान, बकस गरिदिने व्यक्ति वा निजको सोही ठाउँमा बस्ने हकवालाले हकसफा गरी लिन चाहेमा घर वा त्यसको कुनै अंश वा घरले चर्चेको जग्गा, लगापात हकसफा गरी लिन पाउनेछ ।

साथै, कसैले कुनै व्यक्तिबाट एउटै घरको आधा वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापात दान, बकस पाएकोमा जसबाट आपूmले दान बकस पाएको व्यक्तिले घर वा जग्गाको बाँकी अर्को व्यक्तिलाई पुनः दान बकस गरिदिएछ भने त्यसरी पहिले दान बकस पाउनेले वा निजको हकवालाले बाँकी हक सफा गरी लिन पाउनेछ ।

हकसफा गरी लिँदा दान, बकस गर्दा मूल्य अङ्क खुलेकोमा त्यस्तो मूल्य बराबरको रकम र मूल्य अङ्क खुलेको रहेनछ भने प्रचलित बजार मूल्य बराबरको रकम र लिखत पारित गर्दा लागेको दस्तुर साहूलाई चुक्ता गर्नु पर्नेछ । हकसफा गरी लिन चाहने हकवाला एकभन्दा बढी भएमा सबैभन्दा नजिकको हकवाला र नजिकका हकवाला पनि एकभन्दा बढी भएमा सबैभन्दा बढी मर्का पर्ने हकवालाले हक सफा गरी लिन सक्नेछ ।

तर, संयुक्त आवास सम्बन्धी प्रावधानअन्तर्गत बनेको घर वा घरको भाग हकसफा गर्न पाइने छैन । कुनै अचल सम्पत्ति हकसफा गर्न चाहने व्यक्तिले सम्पत्ति हस्तान्तरण गर्दा पारित भएको लिखतमा सम्पत्तिको मूल्य उल्लेख भएकोमा मूल्य, मूल्य उल्लेख नभएकोमा प्रचलित बजार मूल्य बरावरको रकम र लिखत पारित गर्दा लागेको दस्तुर समेत धरौटी राखी त्यस्तो लिखत पारित गर्ने कार्यालयमा उजुरी दिनु पर्नेछ ।

लिखत पारित गर्ने कार्यालयले उजुरीकर्तालाई तारेखमा राखी हकसफा गरिदिनु पर्ने व्यक्तिलाई बाटाका म्याद बाहेक सात दिनभित्र त्यस्तो कार्यालयमा हाजिर हुन म्याद पठाउनु पर्नेछ । म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित भई हकसफा गरी दिन मञ्जुर गरेमा लिखत पारित गर्ने कार्यालयले उपदफा (१) बमोजिम धरौटी राखेको रकम निजलाई बुझाई हकसफा गरी दिनु पर्नेछ ।

म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित भई हकसफा गरिदिन मञ्जुर नगरे पनि प्राप्त उजुरी, पारित भएको लिखत र कार्यालयको स्रेस्ताबाट हकसफा गरिदिनु पर्ने देखिएमा लिखत पारित गर्ने कार्यालयले हकसफा गरिदिने निर्णय गर्नु पर्नेछ र हकसफा गरिदिनु पर्ने नदेखिएमा हकसफा गरिदिनु नपर्ने निर्णय गरी उजुरीकर्तालाई सोही बमोजिमको जानकारी दिनु पर्नेछ ।

म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित हुन नआएमा म्याद नाघेपछि प्राप्त उजुरी, पारित भएको लिखत र कार्यालयको स्रेस्ताबाट हकसफा गरिदिनु पर्ने देखिएमा लिखत पारित गर्ने कार्यालयले हकसफा गरी दिने निर्णय गरी हकसफा गरी पाउने सम्पत्ति चलन गर्नु भनी हकसफा गरी पाउनेलाई चलन पूर्जी दिई हकसफा गरिदिनु पर्ने व्यक्तिलाई धरौटी रहेको रकम लिन आउन सूचना पठाउनु पर्नेछ ।

म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित भएपनि निजले त्यस्तो सम्पत्तिको बजार मूल्य प्रति असहमति जनाएमा लिखत पारित गर्ने कार्यालयले त्यस्तो सम्पत्तिको बजार मूल्य कायम गरी बजार मूल्य बराबरको रकम हकसफा गरी दिने व्यक्तिलाई दिलाई हकसफा गरिदिनु पर्नेछ ।

हकसफा गर्ने सम्पत्तिको कायम गरिएको बजार मूल्यमा कुनै पक्षको सहमति नभएमा वा हकसफा गरिदिनु पर्ने व्यक्ति म्यादभित्रै उपस्थित भई हकसफा गरिदिनु नपर्ने कारण देखाएमा र त्यस्तो विषयमा प्रमाण बुझि इन्साफ गर्नु पर्ने देखिएमा लिखत पारित गर्ने कार्यालयले पैँतीस दिनभित्र सम्बन्धित अदालतमा नालेस गर्न जानु भनी सुनाई दिनु पर्नेछ र त्यस्तोमा म्यादभित्रै अदालतमा नालेस परेकोमा अदालतको निर्णय बमोजिम र नालेस नपरेकोमा कार्यालयको निर्णय बमोजिम गर्नु पर्नेछ ।

त्यस्तै, हकसफा नहुने निर्णय भई उजुरवालालाई रकम फिर्ता दिँदा धरौटी राखेको रकमको अढाई प्रतिशत रकम कट्टा गर्नु पर्नेछ । हकसफा गरी पाउँ भनी निवेदन दिने व्यक्तिले पछि कुनै कारणले निखन्न नचाहेमा वा तारेख छाडेमा निजले राखेको धरौटी रकमको तीन प्रतिशत जरिबाना गरी त्यस्तो रकम धरौटी रकमबाट कटाई बाँकी रकम निजलाई फिर्ता दिनु पर्नेछ ।


क्लिकमान्डु