आयात प्रतिबन्ध प्रभावः तीन महिनामा ७०५ विद्युतीय सवारी साधन आयात



काठमाडौं । उच्च आयातका कारण तरलता अभाव भएको भन्दै सरकारले विगत ६ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले हालसम्म उक्त निर्णय कायमै राखेको छ ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा कडाइ अर्थात् प्रतिबन्ध गरेसँगै विद्युतीय सवारी साधन पैठरी उच्च भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार तीन महिनामा मात्रै नेपालले ७०५ विद्युतीय सवारी साधन आयात गरिसकेको देखाउँछ । जुन सो अवधिमा उक्त संख्यामा आयात भएको हालसम्मकै उच्च हो ।

नेपालले सो सवारी साधन आयातका लागि २ अर्ब ५ करोड रुपैयाँको खर्चेको छ । साथै आयातित विद्युतीय सवारी साधनबाट नेपालले ६२ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्ष नेपालले तीन महिनाको अवधिमा १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँको ४४६ वटा विद्युतीय सवारी साधन आयात गरेको थियो । उक्त आयातित सवारी साधनबाट नेपालले ३८ करोड २९ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

सरकारले गत वैशाख १३ गतेबाट पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ । उक्त सवारी साधनको आयातमा प्रतिबन्ध गरेसँगै नेपालमा विद्युतीय सवारी साधन आयात बढ्न थालेको नेपाल अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) ले जनाएको छ ।

नाडाले विभिन्न चरणमा आयात प्रतिबन्ध खुला गर्न माग गरेपनि हालसम्म सम्बोधन हुन सकेको छैन । जसले गर्दा सयौं अटोमोबाइल व्यवसायीहरुले आफ्नो कर्मचारी कटौती गर्दै लगेको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाले पछिल्लो समय पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयातमा प्रतिबन्ध लगाएकाले विद्युतीय सवारी साधन आयात बढेको बताए । त्यस्तै, नाडाले पहिलो पटक नेपालमा इभी शो गरेकाले पनि विद्युतीय सवारी साधन उच्च आयात भएको उनको भनाइ छ ।

नाडाले यसअघि दशैंलक्षित अटो शो गर्दै आएको थियो । तर, यो वर्ष बजारमा नयाँ सवारी साधन आयातमा प्रतिबन्ध भएकाले ३ दिनको ‘इभी शो’ गरेका थिए । त्यसैले पनि यो वर्ष विद्युतीय सवारी साधन आयात उच्च भएको हो ।

त्यस्तै, नेपालले तीन महिनाको अवधिमा १ अर्ब ९१ करोड ३२ लाख रुपैयाँको १०० किलोवाटसम्मको ६८६ जीप, कार र भ्यान आयात गरेको छ ।

विभागकाअनुसार १०० किलोवाटदेखि २०० किलोवाटसम्मको १७ वटा र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको २ वटा सवारी साधन आयात भएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको विद्युतीय गाडीको अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था थिएन । तर, यो वर्षको बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले अन्तशुल्क र भन्सार करमा वृद्धि गरेको घोषणा गरेका छन् ।

उक्त घोषणा गरेसँगै चालु आर्थिक वर्षमा १०० किलोवाटभन्दा माथिको सवारी साधनमा आकर्षण कम देखिएको छ । बढाइएको अन्तशुल्क र भन्सार कर वृद्धिले गर्दा १०० किलोवाट माथिको विद्युतीय सवारी साधनको मूल्य निकै महंगो हुने भएकाले अटोमोबाइल कम्पनीहरुले आयात गर्न नै छाडेका छन् । विगतको दिनका सयभन्दा बढी संख्यामा आयात भइरहेको विद्युतीय सवारी साधन अहिले बजेटका कारण ह्वात्तै घटेको छ ।

नेपालले तीन महिनाको अवधिमा चीनबाट १८ करोड ३० लाख रुपैयाँको ७९ वटा जीप, कार र भ्यान आयात गरेको छ । त्यसैगरी, १ अर्ब ३३ करोड ९६ लाख रुपैयाँको ५०२ वटा, दक्षिण कोरियाबाट ४५ करोड ९६ लाख रुपैयाँको १२० वटा र २ करोड २७ लाख रुपैयाँको ४ वटा विद्युतीय जीप, कार र भ्यान आयात गरेको छ ।


क्लिकमान्डु