यस्ता छन् बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकका चुनौति



काठमाडौं । मंगलबार बेलायतको ५७ औं प्रधानमन्त्री नियुक्त भएका ४२ वर्षिय ऋषि सुनकका अगाडी कयौं चुनौति छन् ।

गत असोज २५ गते अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सार्वजनिक गरेको वल्र्ड इकनोमिक आउटलुक अनुसार सन् २०२३ मा बेलायतको अर्थतन्त्र ०.३ प्रतिशतले वृद्धि हुनेछ । यस्तै, आइएमएफले सन् २०२३ मा बेलायतमा महँगी ९ प्रतिशत र बेरोजगारी ४.८ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

बेलायतका राजा चाल्र्स तृतियबाट जिम्मेवारी सम्हाले लगत्तै सुनकले आफू इमान्दार भएर दिन र रात बेलायती जनताको सेवामा लाग्ने बताएका छन् ।

‘अहिले बेलायतको अर्थतन्त्रले गहिरो आर्थिक संकट बेहोरिरहेको छ,’ सुनकले भने, ‘आर्थिक स्थायीत्व कायम गर्दै आत्मबल बढाउने हाम्रो सरकारको प्रमुख प्राथमिकता रहने छ ।’

सुनकले आगामी दिनमा सरकारले कठिन निर्णय लिनु पर्ने अवस्था आउन समेत बताए ।

‘आज हामीले समना गरिरहेका समस्या समाधान गर्न सचेत भएर निर्णय गर्नेछौं,’ सुनकले सञ्चारकर्मीसँग भने, ‘यो सरकारले निष्ठा, व्यवसायीकता र जवाफदेहिता कायम राख्दै निर्णय गर्नेछ ।’

सुनकले सन् २०१९ को पार्टीले घोषणा पत्रमा उल्लेख गरेका सबै योजनालाई कार्यान्वयन गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

कोरोना महामारीले सुस्त भएको अर्थतन्त्रलाई रसिया युक्रेन युद्धपछि बढेको इन्धनको मूल्यले झनै समस्यामा पारेको सुनकको भनाई छ ।

बेलायतका प्रधानमन्त्री जिम्मेवारी सम्हाल्दै गर्दा सुनक निकै उत्साहित देखिएका छन् । उनले निवर्तमान प्रधानमन्त्री लिज ट्रसले बेलायती जनताको हितमा काम गर्न खोज्दा खोज्दै केही गलत निर्णय भएको बताए । विगतका गल्तीबाट सिक्दै आफूले बेलायतका जनतालाई अधिकत्म लाभ दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

चुनौतिका पहाड

सन् २०१९ मा सत्तामा आएको कन्जरभेटिभ पार्टीबाट सुनक तेस्रो प्रधानमन्त्री भएका छन । कोरोना महामारीको लकडाउनको समयमा पार्टी गरेको भन्दै आलोचित भएपछि बोरिज जोन्सनले पदबाट राजिनामा दिएका थिए । बेलायतको अर्थव्यवस्था खराब हुँदै गएपछि जोन्सनको पार्टी भित्र आलोचना भईरहेको थियो । पार्टीको घटनापछि भने उनले पद छोड्नु पर्यो ।

त्यसपछि बेलायतको प्रधानमन्त्री नियुक्त भएकी लिज ट्रस महँगी नियन्त्रण र बेरोजगारी समस्या समाधान गर्न सफल हुन सकिनन् । पूर्वप्रधानमन्त्री लिजको कर कटौती नीतिले बेलायतको वित्तीय अवस्था झनै खराब भएको छ । सुनकलाई बेलालयको खराब आर्थिक अवस्था लयका फर्काउने चुनौति छ । यस्तै, महँगी नियन्त्रण सुनकको मुख्य चुनौति हो ।

बेलायतमा हाल १० प्रतिशतले महँगी बढिरहेको छ । आइएमएफले सन् २०२२ मा बेलायतमा महँगी ९ प्रतिशत हुने अनुमान गरेको छ । रसिया युक्रेन युद्धपछि खाद्यपदार्थ र इन्धनको मूल्यवृद्धिले आकाश छोएको छ । जसले गर्दा निश्चित आय भएका बेलायती जनतालाई दैनिक गुजरा चलाउन समेत हम्मेहम्मे पर्दै आइरहेको छ । यो समस्यालाई व्यवस्थापन गर्नु निकै चुनौतिपूर्ण छ ।

आप्रवासी समस्या समाधान गर्नु सुनकको अर्काे चुनौति हो । अवैध माध्यमबाट बेलायत पुगेका ३० हजार गैरकानूनी आप्रवासीमध्ये कसलाई कानूनी शरणार्थीको मान्यता दिने वा कसलाई नदिने भन्ने निर्णय गर्न सहज छैन ।

बेल्स र इग्ल्याण्ड टुक्रिनु पर्ने माग गर्दै भइरहेको आन्दोलन व्यवस्थापन गर्नु सुनकाको अर्को चुनौति हो । आफैं आर्थिक समस्या भोगिरहेको अवस्थामा युक्रेनलाई सहयोग गर्ने भनेर प्रतिवद्धता व्यक्त गरिएको २.६ बिलियन डलर व्यवस्थापन गर्नु सुनकको अर्को चुनौति हो ।

यस्तै, सुरक्षा बजेट व्यवस्थापन गर्नु उनको अर्को ठूलो चुनौति हो । ४२ वर्षिय सुनकबाट बेलायती जनताले ठूलो अपेक्षा गरेका छन् । सुनकले लिने नीतिले बेलायतको समस्या समाधान गर्दै अर्थतन्त्र लयमा फर्कियो भने बेलायतका जनता मात्र नभइ कयौं देशका नागरिकलाई लाभ हुनेछ । (एजेन्सीको सहयोगमा)


क्लिकमान्डु