महँगो तिहार: झिलिमिली बत्ती, भाइमसलासहित मालामा मूल्य वृद्धि



काठमाडौं । विगतको तुलनामा यो वर्षको तिहार महँगो हुने भएको छ । तिहारमा अत्यावश्यक भाइमसाला, झिलिमिली बत्ती तथा फूलहरुको मूल्यमा भएको वृद्धिका कारण तिहार विगतमाभन्दा महँगो हुने भएको हो ।

तिहारमा सबैभन्दा बढी व्यापार हुने सामग्रीहरु मध्येमा पर्छन्, झिलिमिली बत्ती, फूलमाला र मसला । तिहारलाई झिलीमिली, फूलैफूल र भाइमसलाको अत्यधिक व्यापार पनि हुने गर्छ ।

तिहार नजिकिदैं जाँदा खुद्रा तथा होलसेल बजारमा पनि यी वस्तुहरुको व्यापार सुरु भएको छ । बजारमा बिक्री भइरहेका झिलिमिली बत्ती, भाइमसला लगायतका वस्तुहरुमा गत वर्षको भन्दा मूल्य वृद्धि देखिएको छ ।

भाइमसालाः कुन वस्तुको मूल्य कति ?

तिहारमा अत्यावश्यक वस्तुहरुमध्येको भाइमसाला किन्नेहरुको बजारमा बाक्लो उपस्थिति देखिएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा भएका पसलहरुमा यस्ता वस्तुहरुको व्यापार सुरु भएको किराना व्यावसायी तथा खुद्रा व्यापार संघले जनाएको छ । सामान्य अवस्थामा भन्दा तिहारको समयमा भाइमसलासँग सम्बन्धित वस्तुहरुको व्यापार ५० प्रतिशतले धेरै हुने संघको भनाइ छ ।

विगतमा कोरोना महामारीलगायतको अवस्थाबाट गुज्रिएको बजार अहिले सामान्य बनेको छ । जसकारण गत वर्षजस्तै यो वर्ष पनि यी वस्तुहरुको बिक्रीविरतण बढ्ने अनुमान गरिएको छ । तिहार नजिकिदैं जाँदा बजारमा भाइमसालाका विभिन्न सामग्रीहरुको प्याकिङ भएर बिक्री वितरण सुरु भएको व्यावसायीहरु बताउँछन् ।

तिहारमा सबैभन्दा बढी मसलाको रुपमा प्रयोग हुने काजु, आल्मोन्ड, पिस्ता, किसमिस, नरिवल, छोकडा, सुपारी, ओखर, मखना र मिश्री हो । यो वर्ष यीमध्ये धेरैजसो मसालाहरूको मूल्य गत वर्षकै जस्तो छ ।

किराना व्यावसायी तथा खुद्रा व्यापार संघका महासचिव तुलाधारकाअनुसार यो वर्षको गत वर्षको तिहारमा कायम भएको मूल्यमा केही वस्तुको मूल्य बढेको छ केही वस्तुको मूल्य घटेको छ । तर, खासै मूल्यमा धेरै भिन्नता भने देखिएको छैन ।

गत वर्षको तुलनामा यो वर्ष काजु, पिस्ता, छोकडाजस्ता वस्तुहरुको मूल्य बढेको छ भने आल्मोन्ड (बदाम), मखना, अन्जिर, सुकमेलजस्ता वस्तुहरुको मूल्यमा केही गिरावट देखिएको छ । सँगै नरिवल, खुर्पनीजस्ता वस्तुहरुको मूल्य स्थिर जस्तै छ ।
‘बजारमा विस्तारै चहलपहल बड्दा तिहारमा बिक्री हुने भाइमसालाका वस्तुहरुको पनि व्यापार सुरु भएको छ,’ महासचिव तुलाधर भन्छन्, ‘धेरै वस्तुहरु नेपालमा उत्पादन नभएर आयात भएर आउँनेछन् । यीमध्ये केहीको मात्रै मूल्यमा वृद्धि भएको छ ।’

यी वस्तुहरु आयात गर्ने र होलसेलमा बिक्री गर्ने व्यावसायीहरुले मूल्य निर्धारण गर्ने हुँदा वस्तुको मूल्य बढ्ने वा घट्ने भन्नेमा खुद्रा व्यापारीहरुको खास भूमिका नहुने बताउँछन् तुलाधर । जसकारण यो वर्ष पनि यी वस्तुहरुको मूल्य गत वर्षकै अनुपातमा रहेको छ । उनी भन्छन्, ‘मूल्य राख्ने भूमिका हाम्रो हुँदैन । खुद्रामा धेरै प्रतिस्पर्धा भएर बिक्रीवितरण हुन्छ । होलसेल र आयात गर्दा मूल्य निर्धारण हुने हो । अहिले हामीले बेचिरहेको मूल्य हेर्दा गत वर्षकै अनुपातमा मूल्य छ ।’

यो वर्ष मूल्य बढेका भाइ मसालाका सामग्रीहरुमा पिस्ता र छोकडा मूख्य रहेका छन् । संघकाअनुसार यो वर्ष खुद्रा बिक्री हुँदा पिस्ताको मूल्य प्रतिकेजी २१ सय वा सोभन्दा माथि रहेको छ । गत वर्ष प्रतिकेजी पिस्ताको मूल्य १७ सयदेखि १८ सयसम्म रहेको थियो ।

त्यस्तै, छोकडाको मूल्यमा पनि यो वर्ष वृद्धि देखिएको छ । संघकाअनुसार यो वर्ष प्रतिकेजी छोकडाको मूल्य ४ सय रुपैयाँ रहेको छ । गत वर्ष छोकडा प्रतिकेजी २४० देखि २६० रुपैयाँमा बिक्री भएको थियो ।

त्यस्तै, सुकमेलमा यो वर्षको मूल्य गत वर्षको भन्दा निकै कम देखिएको छ । गत वर्ष ४२ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको सुकमेल यो वर्ष ३ हजार रुपैयाँ आसपासमा बिक्री भइरहेको छ ।

त्यस्तै, गत वर्ष १३ सयदेखि १४ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भएको आल्मोन्ड (बदाम) यो वर्ष ११ सयदेखि १३ सय रुपैयाँ प्रतिकेजीमा ब्रिकी भइरहेको संघले जनाएको छ ।

मखनामा पनि यो वर्ष मूल्य घटेको छ । गत वर्ष १२ सय रुपैयाँ प्रतिकेजी ब्रिकी भएको मखनाको यो वर्षको खुद्रा बजारको मूल्य प्रतिकेजी १ हजार रहेको छ ।

यी बाहेक किसमिस, काजु, खुर्पानी, अन्जिरजस्ता वस्तुहरुको मूल्य स्थिर छ । यी वस्तुहरु गत वर्ष जुन मूल्यमा ब्रिकी भएका थिए, यो वर्ष पनि खुद्रामा सोही मूल्यमा बिक्री भइरहेको संघले जनाएको छ ।

तिहारको लागि चाहिने मसला नेपालमा केही प्रकारका मात्रै उत्पादन हुने गर्दछ । तर, उक्त उत्पादन भएको ड्राइ फ्रुट्ले नेपाली बजारमा धान्न सक्दैन । त्यसैले अधिकांश ड्राइ फ्रुट्स विदेशबाट आयात हुने गर्दछ । त्यस्तै, मखना र ओखर बढीजसो चीनबाट आयात हुने गरेको छ । आलमण्ड (हाडे बदाम) भारत, अमेरिका र अस्ट्रेलियालगायतका देशबाट आयात गर्दछ ।

त्यसैगरी, अन्य देशहरू अफगानिस्तान, भियतनाम, कतार, थाइल्यान्ड, अमेरिकालगायत अन्य मुलुकबाट विभिन्न प्रकारका ड्राई फ्रुट्स अर्थात भाइमसला आयात हुने गर्दछ । तर, आयात भई तिहारको समयवधिमा बिक्री हुने भाइमसलाको भने हालसम्म संघसँग यकिन तथ्याङ्क नभएको संघले जनाएको छ ।

झिलिमिली बत्तीको आयात घट्यो, मूल्यमा १५ प्रतिशतसम्म वृद्धि

झकिझकाउँ तिहारका लागि आवश्यक झिलिमिलि बत्तीको यो वर्ष आयात घट्ने र मूल्य केही मात्राले बढ्ने देखिएको छ । नेपाल विद्युतीय व्यावसायी महासंघकाअनुसार यो वर्ष विगतको तुलनामा आयातमा केही कमी आएको र गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्य बढ्ने देखिएको छ ।

महासंघका महासचिव कमल पोखरेलकाअनुसार यो वर्ष बजारमा उपलब्ध हुने झिलिमिलि बत्तीमा १२ देखि १५ प्रतिशतसम्मको मूल्य वृद्धि भएको छ ।

सामान्य अवस्थामा वार्षिक १ अर्बभन्दा धेरैको विद्युतीय बत्ती नेपालमा आयात हुने गर्छ । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने गर्छ भने बाँकी २० प्रतिशत आयातित बत्तीको खपत क्रिसमस, नयाँ वर्ष तथा विवाहभोजजस्ता कार्यक्रमहरुमा खपत हुने गर्छ ।

विगतको तुलनामा कोरोना महामारीपछि निरन्तर यस्ता झिलिमिली बत्तीको आयात घटिरहेको छ । २०७६ मा तिहारको समयमा नेपालमा करिब ६० करोड बराबरको झिलिमिली बत्ती आयात भएको थियो । २०७७ मा भने कोरोना महामारीका कारण नेपालमा २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात भएको थियो ।

२०७८ मा कोरोना महामारी केही मत्थर भएता पनि आयात सामान्य अवस्थामाभन्दा निकै कम थियो । गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत मात्रै झिलिमिली बत्ती आयात भएको थियो । गत वर्ष करिब ४० करोडको विद्युतीय बत्ती आयात भएको थियो, जसमध्ये ३० करोड रुपैयाँ बराबरको व्यापार गत वर्षको तिहारको समयमा भएको थियो ।

महासंघका महासचिव पोखरेलकाअनुसार झिलिमिली बत्तीको आयातका लागि नेपालबाट व्यावसायीहरुले अर्डर दिनुपर्ने समयमा चीनका शहरहरुमा लकडाउनको अवस्था थियो । जसकारण समयमा नै अर्डर दिएतापनि लोड भएका सामान नेपालमा तिहारको समयमा आइपुगेका छैनन् ।

उनी भन्छन्, ‘कोभिडको असर अहिलेसम्म देखिएको छ । झिलीमिली बत्तीको चिनबाट आउने हो । नेपाल व्यवसायीहरुले अर्डर दिने हो । चीनबाट आयातका लागि नेपाली व्यावसायीहरुले अर्डर दिएतापनि जुन बेला लोड हुनुपर्ने थियो, त्यत्ति बेला चीनका शहरहरुमा लकडाउन भयो । जसले गर्दा अहिले धेरै सामान आइपुगेको छैन ।’

सँगै तातोपानीको नाका बन्द रहनु र रसुवागढीको नाका पनि सहजतापूर्वक सञ्चालनमा आउन नसक्नुले यो वर्षको झिलिमिली बत्तीको आयातलाई प्रभाव पर्ने उनी बताउँछन् । त्यसबाहेक प्रतितपत्र ९एलसी० खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने हुँदा यो वर्ष धेरै सामान आयात गर्न नसकिएको उनी बताउँछन् । पोखरेलले भने, ‘पहिले सामान सिधै आयात गर्न सकिन्थ्यो । तर, अहिले राष्ट्र बैंकले एलसी खोल्न शतप्रतिशत रकम राख्नुपर्ने भनेपछि सामान कम अर्डर भएको छ ।’

पोखरेलकाअनुसार यी सबै समस्याका बीच नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नुले पनि आयात प्रभावित भएको छ । उनी भन्छन्, ‘असोज मशान्तसम्मको तथ्यांकबाट यकिनका साथ यति मात्रामा कम आयात भयो भन्न सक्छौं । तर, यो वर्ष विगतमा भन्दा निकै कम अर्डर भएको छ ।’

पोखरेलकाअनुसार गत वर्षभन्दा यो वर्ष झिलिमिली बत्तीको मूल्य बढ्ने देखिएको छ । उनका अनुसार यो वर्ष नेपाली बजारमा झिलिमिली बत्तीको मूल्य १२ देखि १५ प्रतिशतसम्म बढ्ने देखिएको छ । कोरोना महामारीको प्रभाव रहिरहनु, अन्तराष्ट्रिय बजारमा भइरहेको मूल्यबृद्धि, अमेरिकी डलर महंगो हुनु, चीनबाट आयात हुन नाकाहरु सहजताका साथ सञ्चालन नहुनुजस्ता कारणले मूल्यबृद्धि भएको उनी बताउँछन् ।

‘यो वर्ष सामान नै कम आयात हुने देखिएको छ,’ पोखरेलले भने, ‘मुख्य गरि चीनबाट आयात गरिन्थ्यो । तर, लकडाउन र भन्सार नाकामा समस्याले गर्दा पर्याप्त मात्रामा आयात भएको छैन् । सामान कम हुँदा यो वर्ष झिलिमिली बत्तीहरुको मूल्य बढ्ने देखिएको छ ।’

बजारमा तिहारलक्षित पर्याप्त झिलिमिली बत्तीको आयात हुन नसक्दा खुद्रा व्यापारीले पनि महंगो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएकाले उपभोक्ताले यो वर्ष केही महंगो मूल्य तिनुपर्ने देखिएको छ ।

बजारमा तिहारलक्षित विभिन्न प्रकारका लाइट भित्रिने गर्दछ । हाल बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ । अहिले बजारमा यस्ता सामग्रीहरुको होलसेल तथा खुद्रा बिक्री पनि सुरु भइसकेको छ ।

२०७८ मा कोरोना महामारीभन्दा अघिको तुलनामा ३५ प्रतिशतसम्म झिलीमिली बत्तीहरुको मूल्य बढेको थियो । यो वर्ष झिलिमिली बत्तीहरुको मूल्य गत वर्षको भन्दा पनि महंगिएको छ । गत वर्षको तुलनामा यो वर्ष १२ देखि १५ प्रतिशतले मूल्य बढेको हो । पोखरेलले भने, ‘यो वर्ष गत वर्षभन्दा केही महंगो भएको छ । आयात गर्नमै समस्या हुँदा यस्तो मूल्यबृद्धि भएको हो ।’

फूलः साढे २४ लाखको माला खपत हुने, सयपत्रीबाहेकको मूल्य बढ्ने

यो वर्षको तिहारमा गत वर्षको तुलनामा फूलमाला बढी खपत हुने अनुमान गरेको छ । फ्लोरिकल्चर एशोसिएसनकाअनुसार यो वर्षको तिहारमा साढे २४ लाख माला खपत हुने अनुमान गरिएको छ ।

गत वर्ष देशभर १८ लाख १५ हजार व्यवसायिक सयपत्री फूलको माला खपत भएको थियो । तर, यो वर्ष १० प्रतिशतले सयपत्री फूलको बजार मागमा वृद्धि हुने अनुमान गरेको एशोसिएसनका अध्यक्ष मिन बहादुर तामाङ बताउँछन् । उनकाअनुसार यो वर्ष तिहारको ५ दिनमा करिब २० लाख सयपत्री, ४ लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला गरी २४ हजार ४५ लाख माला खपत हुने अनुमान गरेको छ ।

तिहारका लागि आन्तरिक र आयात दुबै फूलको खपत हुने देखिएको छ । जसम आन्तरिक ८५ प्रतिशत र १५ प्रतिशत आयातित फूलको खपत हुने अध्यक्ष तामाङको भनाइ छ । साथै, तिहारमा फूलको आपूर्तिमा समस्या नआउने उनको दाबी छ ।

‘यो वर्षको दशैं अवधि भरी करिब ४,५ दिनसम्म लगातार अत्याधिक मनसुनी वर्ष भएका कारण सयपत्री फूलको आन्तरिक उत्पादनतर्फ कमी आउन सक्ने देखिएपनि सातै प्रदेशको अधिकांश भागमा व्यवसायिक रुपमा सयपत्री फूलदको खेती भएकाले तिहारका लागि आवश्यक हुने सयपत्री फूलको बजारमा माग आपूर्तिका लागि खासै समस्या नहुने अनुमान गरिएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘सयपत्री फूलको बजार मागको आपूर्तिका लागि ग्रामिण क्षेत्रमा शतप्रतिश आन्तरिक उत्पादनले नै धान्ने र मुख्य शहर केन्द्रित क्षेत्रहरुमा करिब ८५ प्रतिशत आन्तरिक तथा १५ प्रतिशत आयात गरी पूरा गर्नुपर्ने अवस्था देखिन्छ ।’

त्यसैगरी यो वर्ष बजार मागअनुसार आन्तरिक १७ लाख र ३ लाख आयातित गरी २० लाख सयपत्री फूलको माला खपत हुने अध्यक्ष तामाङले बताए । जसमा गत वर्षको तुलनामा १०.१९ प्रतिशतले फूलको अपत बढ्ने भएको छ ।

त्यस्तै, तिहारमा ३ लाख २५ हजार आन्तरिक उत्पादित मखमली फूल र २० हजार गोदावारी फूलको माला खपत हुने भएको छ । त्यसमा १ लाख माला भने निर्यात हुने एशोसिएसनले जनाएको छ ।

एशोसिएसनअनुसार तिहारमा साढे १३ करोडको कारोबार हुने जनाएको छ । गत वर्षको तिहारमा ११ करोड ९२ लाख रुपैयाँको कारोबार भएको थियो । यो वर्ष बजारमा फूल मालाको माग बढेकाले माग बढ्ने अनुमान एशोसिएसनले गरेको छ ।

तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपैयाँ, मखमली फूलको मालाबाट १ करोड ७० लाख रुपैयाँ र गोदावारी फूलको मालाबाट ८० लाखको कारोबार हुने एशोसिएसनले जनाएको छ । गत वर्ष सयपत्री फूलको मालाबाट ९ करोड ९८ लाख रुपैयाँ, मखमली फूलको मालाबाट १ करोड ४२ लाख रुपैयाँ र गोदावारी फूलको मालाबाट ५२ लाख गरी ११ करोड ९२ लाख रुपैयाँको कारोबार गरेको थियो ।

यो वर्षको तिहारमा सयपत्री फूलबाहेक अन्य फूल मालाको मूल्य बढ्ने भएको छ । सयपत्री फूलको प्रति माला ५५ रुपैयाँ बिक्री हुने तामाङ्ले बताए । गत वर्ष पनि सोही मूल्य कायम भएको थियो ।

त्यसैगरी, मखमली फूलको मूल्य भने गत वर्षको तुलनामा ५ रुपैयाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५ रुपैयाँ कायम भएकोमा यो वर्ष ४० रुपैयाँ तोकेको एशोसिएसनको भनाइ छ । त्यस्तै, गोदावारी फूलको माला ५० रुपैयाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५० रुपैयाँ कायम भएको गोदावारी फूलको मूल्य यो वर्ष ४०० रुपैयाँ तोकेको छ ।

नेपालमा ७ वटै प्रदेशको विभिन्न क्षेत्रमा व्यवसायिक रुपमा सयपत्री फूलको खेती भइरहेको छ । त्यसमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवनपुर, रामेछाप, झापा, ईलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली आदि जिल्ला छन् । सोही जिल्लाको फूल तिहारमा खपत हुने एशोसिएसनको भनाइ छ ।

त्यस्तै, मखमली फूल भने काठमाडौंको ईचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडिखेल, कैलाली, पाल्पा, धादिङ र इलाम आदि क्षेत्रहरुमा मखमली फूलको व्यवसायिक खेती भइरहेको हुनाले तिहारमा सोही क्षेत्रका फूलले बजारमा माग धान्ने एशोसिएसनले जनाएको छ ।


क्लिकमान्डु