बीमा कम्पनी पनि समस्याग्रस्त घोषणा हुन सक्ने, यी ४ अवस्थामा लाभांश वितरण गर्न नपाउने



काठमाडौं । बीमा कम्पनीहरू समस्याग्रस्त घोषणा हुन सक्ने भएका छन् । बीमा ऐन, २०७९ ले बीमितको हक हित संरक्षणका लागि बीमकलाई समस्याग्रस्त बीमक घोषणा गर्न सक्ने व्यवस्था गरेको हो ।

बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पुँजी तथा पुँजी कोष कायम गर्न नसकेमा उक्त बीमा कम्पनीलाई समस्याग्रस्त घोषणा गरिने छ ।

सम्पत्ति र दायित्वको अनुपात (सल्भेन्सी मार्जिन) कायम नभएमा, बीमकको संस्थापक सेयरधनीले ठगी, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, मानव बेचविखन गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा, जालसाजी, किर्ते वा झुट्टा विवरण लिई वा गलत लिखत तयार गरी वा पेस गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा उक्त कम्पनीलाई समस्याग्रस्त घोषणा गरिने व्यवस्था ऐनले गरेको छ ।

यस्तै, बीमित, सेयरधनी, बीमकका साहु वा सर्वसाधारणको हित प्रतिकूल हुने गरी पटक–पटक कार्य गरेमा पनि समस्याग्रस्त घोषणा गरिनेछ ।

बीमकलाई अर्को बीमकमा गाभिन प्राधिकरणबाट निर्देशन भएकोमा त्यस्तो निर्देशन पालना नभएमा, बीमकबाट बीमा जालसाजी भएमा र ऐन बमोजिम प्राधिकरणबाट जारी भएका निर्देशन वा आदेश पटक पटक उल्लङघन भएमा पनि प्राधिकरणले समस्याग्रस्त घोषणा गर्न सक्न व्यवस्था ऐनले गरिदिएकोे छ ।

बीमकबाट बीमा जालसाजी(इन्स्योरेन्स फ्रड) भएमा, प्राधिकरणबाट भएको नियमक, निरीक्षण, अनुगमन वा लेखापरीक्षकको प्रतिवेदन वा बीमांकीको प्रतिवेदनबाट कुनै बीमकले आफ्नो दायित्व बहन गर्न नसक्ने सम्भावना भएमा पनि कम्पनी समस्याग्रस्त घोषणा हुन सक्नेछन् ।

साथै, ऐनले समस्याग्रस्त बीमकको सुधारका उपायहरू समेत व्यवस्था गरिदिएको छ । समस्याग्रस्त भएका बीमकको सुधारका लागि प्राधिकरणले आदेश दिन सक्ने व्यवस्था ऐनमा छ ।

त्यस्ता सुधारका उपायहरूमा पुँजी वृद्धि गर्न, नयाँ सेयर जारी गर्न लगाउने वा सेयरवापत भुक्तानी हुन बाँकी रहेको रकम प्राधिकरणले तोकेको अवधिभित्र भुक्तानी गर्न लगाउने, सेयरधनीहरूलाई वितरण गर्नुपर्ने निश्चित अवधिसम्म वितरण गर्न रोक लगाउने वा त्यसरी रोक लगाई लाभांश वापत सेयर बोनस सेयर समेत जारी गर्न लागउने लगायतका छन् ।

यी ४ अवस्थामा लाभांश वितरण गर्न बन्देज

बीमा ऐनले कम्पनीहरूलाई लाभांश वितरण गर्दा निश्चित सीमा तोकिदिएको छ ।

आफ्नो सम्पूर्ण प्रारम्भिक खर्च, अघिल्लो आर्थिक वर्षसम्मको नोक्सानी ऐन तथा प्राधिकरणले निर्धारण गरेबमोजिम जोखिम व्यहोर्न कायम गर्नुपर्ने वा जगेडा कोषको व्यवस्था नगरेसम्म कम्पनीहरूले लाभांश वितरण गर्न पाउने छैनन्  ।

त्यस्तै, न्यूनतम चुक्ता पुँजी पूरा नगरेसम्म, सम्पत्ति र दायित्वको अनुपात कायम नभएसम्म पनि लाभांश वितरण गर्न पाउने छैनन् । सर्वसाधारणलाई छुट्याइएको सेयर वितरण गरी पूर्ण रूपमा चुक्ता पुँजी भुक्तानी नभएसम्म पनि लाभांश वितरण गर्न नपाउने बीमा ऐन, २०७९ ले व्यवस्था गरिएको छ ।

यस्तै, ऐनले बीमा कम्पनीले बीमा व्यवसाय प्रारम्भ गरेको एक वर्ष पुरा भएपछि मात्रै सर्वसाधारणको लागि सेयर निष्काशन गर्न सकिने व्यवस्था ऐनले गरेको छ । यसरी सेयर निष्काशन गर्न पछिल्लो वर्षको लेखा परिक्षण सम्पन्न गरेको हुनु पर्नेछ ।
सरकारले बीमा ऐन, २०७९ राजपत्रमा प्रकाशित गरेको छ । असोज २३ गते राष्टपति विद्यादेवी भण्डारीले स्वीकृत गरेको ऐन आइतबार राजपत्रमा प्रकाशित भएको हो ।

राष्ट्रिपतिबाट स्वीकृत भएको ३१ दिन भित्र ऐन लागू हुने व्यवस्था छ । जसअनुसार बीमा ऐन कातिक २२ गते दखि लागू हुनेछ ।


क्लिकमान्डु