हामीलाई कति रकमको बीमा चाहिन्छ ?



हाम्रो जीवनमा तीन प्रकारका जोखिम हुन्छन् । अप्रत्यासित हुने मृत्यु । बिरामी, अंगभंग वा अपांग र दीर्घजीवन । यी तीनवटै अवस्थाले हाम्रो वा हामीमा आश्रितहरुको वित्तीय अवस्था वा जीवनस्तरमा ठुलो प्रभाव पारेको हुन्छ । जस्तो, परिवारमा मुख्य आम्दानी गर्नेको अकालमा मृत्यु भएमा उ माथि आश्रित परिवारका सदस्य जस्तो श्रीमान वा श्रीमती, छोरा–छोरी, बुवा आमाको जीवन निकैनै कष्टपूर्ण हुन्छ । उदाहरणका लागि कमल महिनाको ५० हजार रुपैयाँ आम्दानी गर्थे । उनको परिवारमा आम्दानी गर्ने उनीमात्र एक सदस्य थिए । मोटरसाइकल दुर्घटनामा परि अकालमा उनको मृत्यु भएसँगै उनको परिवारको आम्दानीको स्रोत बन्द भएको छ ।

यस्त,ै काम गरिरहेका व्यक्ति बिरामी भएमा वा घाइते भएर काम गर्न नसकेमा आम्दानीको नियमित श्रोत बन्द हुन्छ । जसले परिवारमा आर्थिक संकट उत्पन्न हुनजान्छ । जस्तो बिपिन महिनाको ६५ हजार रुपैयाँ कमाउछन् । तर, काम गर्ने क्रममा दुर्घटना भई उनी दश महिनासम्म काममा फर्कन सकेनन् । जसकारण दश महिनासम्म उनको परिवारमा आम्दानीको श्रोत बन्द भयो ।

बिरामी भएका कारण परिवारमा आर्थिक समस्या उत्पन्न हुनेमात्र नभई गरिरहेको व्यवसाय बचाउन पनि समस्या उत्पन्न हुनजान्छ । उदाहरणका लागि नारायण लामो समयदेखि स्वरोजगार हुन् । उनको पसलमा नारायणसहित ५ जनाले काम गर्छन् । यो पसलको सबै व्यवस्थापन नारायण आफैंले हेर्दै आएका छन् । तर, कुनै कारणबस बिरामी वा घाइते भई लामो समय काम गर्न नसकिएमा पसलको भाडा लगायतका अन्य खर्च तिरेर पसल कसरी बचाइ राख्ने भन्ने बारेमा उनलाई ठुलो चिन्ता छ ।

यस्तै दीर्घजीवन पनि अर्को जोखिम हो । लामो समयसम्म बाँचिरहनु राम्रो होला । मान्यजनहरुले आशिर्वाद दिँदा पनि दीर्घजीवि भएस् भन्ने गरेको हामीले सुनेका छौं । तर, आर्थिक अवस्था कमजोर भएका परिवारका लागि वा आफैंलाई पनि खर्चका हिसाबले यो निकै महंगो पर्न जान्छ । जस्तो उमेर बढे सँगै बल सकिँदै जान्छ । औषधि उपचार खर्च बढ्छ । हेरचाहर गर्नेलाई दिने पैसा पनि बढ्छ । चाहे आफ्नै घरमा बसौं वा सुविधा सम्पन्न बृद्धाश्रममा । उमेर बढेसँगै कमाएको पैसा र सम्पति सकिँदै जान्छ । संसारमै मानिसलाई आफ्नो मृत्युअघि नै भएको सम्पति (बचत वा लगानी) सकिएला कि भन्ने ठुलो चिन्ता हुन्छ । उदाहरणका लागि दिलकुमारी र उनका श्रीमानको उमेर एक बर्षले फरक छ । उनीहरु अहिले ८२ र ८३ बर्षका भए । उनीहरुलाई मृत्युअघि नै सम्पति सकिएर बिचल्लि भइन्छ कि भन्ने ठुलो चिन्ता छ । यसकारण पनि दीर्घजीवनलाई एक प्रकारको जोखिमका रुपमा लिइन्छ ।

लेखक भट्टराई

जीवनमा आइपर्ने यी तीन प्रकारका जोखिमका कारण उत्पन्न वित्तीय समस्यालाई कम गर्न पनि बीमा गरिन्छ । निश्चित शुल्क बुझाएर यी विभिन्न कारणबाट हामी र हाम्रा आश्रितमा आइपर्ने वित्तीय समस्याको जोखिम अरु कसैलाई सार्ने माध्यम नै बिमा हो । यसरी तिरिने शुल्कलाई प्रिमियम भनिन्छ । जसमाथि हामी जोखिम सार्छौ ती कम्पनी वा संस्थालाइ बिमा कम्पनी भनिन्छ ।

उदाहरणका लागि दुई छोरा–छोरीका बुबा बिरबहादुर, श्रीमती र छोरा–छोरी छाडेर ५ बर्षका लागि बैदेशिक रोजगारीमा मलेशिया जाँदैछन् । उनलाई त्यहाँको काम, काम गर्ने तरिका, वातावरण, हावापानीका बारेमा कमै जानकारी छ । यसकारण पनि उनीमा बिरामी भएर काम गर्न नसक्ने, अंगभंग हुने, घाइते हुने र मृत्यु नै हुनसक्ने पनि ठुलो जोखिम छ । उनले अकालमा ज्यान गुमाउनु परेमा वा बिरामि भई काम गर्न नसकेमा परिवारका सदस्यको दैनिकिमा ठुलो आर्थिक समस्या उत्पन्न हुनजान्छ । मलेशिया उड्नुअघि बिरबहादुर यी जोखिम कम गर्न चाहन्छन् । यसकारण पनि मलेशिया जानुअघि उनले पाँच बर्षका लागि बीमा कम्पनीलाई एकमुष्ट शुल्क बुझाएर बिदेशिँदै छन् । यो शुल्क बुझाएपछि पाँच बर्षभित्र उनको मृत्यु भएमा बीमा कम्पनीले उनको परिवारलाई १० लाख रुपैयाँ दिनेछ । उनको मृत शरिर नेपाल ल्याउनका लागि एक लाख र मृत्यु संस्कारका लागि अर्को एक लाख रुपैयाँ दिनेछ । कुनै घातक रोग लागेमा ५ लाख रुपैयाँ दिनेछ । औषधि उपचार खर्च एक लाखसम्म सोधभर्ना गर्नेछ । आय गुमाउनु परेमा दुई लाखसम्म क्षतिपुर्ति पनि गर्नेछ । ३५ बर्षका बिरबहादुरले यी सवै सुविधा पाउन र सम्भावित जोखिम बीमा कम्पनीमा सार्नका लागि पाँच बर्षका लागि एकमुष्टरुपमा करिब ६ हजार रुपैयाँ प्रिमियम बुझाएका छन् ।

समस्या नहुँदै सम्भावित समस्याबाट उत्पन्न आर्थिक जोखिमलाई कम गर्ने माध्यम नै बीमा हो । तर, समस्या भएपछि न बीमा किन्न पाइन्छ न त जोखिम सार्न नै सकिन्छ । समस्या नहुन्जेल बीमा अनावश्यक खर्च जस्तो लाग्छ । तर, समस्या परेपछि आवश्यकता थियो भन्ने लाग्न पनि सक्छ । बीमामा महत्वपुर्ण पक्ष भनेको यसको आवश्यकता महशुस गर्नु हो । दोस्रो महत्वपुर्ण कुरा भनेको कस्तो प्रकारको र कति रकमको बीमा ठीक हुन्छ भन्ने छुट्याउनु हो । यसको निर्धारण तालिम र अनुमतिप्राप्त बीमा अभिकर्ताले गर्नेछन् । यस प्रकारको बिश्लेषणलाई ग्राहकको बीमा आवश्यकताको विश्लेषण पनि भनिन्छ ।

हाम्रो जीवनमा आइपर्ने यी विविध जोखिम बीमा कम्पनीमा सार्न दुइ प्रकारका जीवन बिमा हुन्छन् । म्यादि बीमा (टर्म इन्सुरेन्स) र स्थाइ बिमा (परमानेन्ट इन्सुरेन्स) । एउटा निश्चित समयभित्र उत्पन्न हुने जोखिमलाई कम गर्न वा जोखिम अन्यत्र सार्न म्यादि बीमा गरिन्छ । यो एक प्रकारको अस्थाइ प्रकृतिको बीमा हो । यो बिमामा हामीले तिरेको प्रिमियमबाट कुनै बचत हुँदैन । बीमा अवधिमा कुनै जोखिम उत्पन्न भए त्यसको तोकिएको क्षतिपुर्ति बीमा कम्पनीले गर्छ । जोखिम उत्पन्न नभए हामीले तिरेको प्रिमियम शून्य बराबर हुन्छ । अवधि नसकिँदै रद्द गर्न चाहे पैसा फिर्ता पाइँदैन ।

अर्कोतर्फ जीवनभरको जोखिम कम गर्न स्थाई जीवन बीमा गरिन्छ जस्तो आजीबन जीवन बीमा (होल लाइफ इन्सुरेन्स), युनिभर्सल लाइफ इन्स्योरेन्स । स्थायी बीमामा प्रिमियम बुझाउँदै जाँदा बचत पनि हुदै जान्छ । हामीले रद्द गर्न चाहे केही पैसा फिर्ता हुनसक्छ र अवधि सकिएपछि सम्झौता अनुसार पैसा फिर्ता पाइन्छ । म्यादि जीवन बिमाको प्रिमियम स्थायी जीवन बीमाको भन्दा सस्तो हुन्छ ।

यी दुई जीवन बीमामध्ये कुन बीमा कति बेला उपयुक्त हुन्छ र कति रकमको बीमा आवश्यक हुन्छ भन्ने छुट्याउन सके बीमाको सही प्रयोग हुनजान्छ ।

उदाहरणका लागि श्यामले आफ्नो पैसा र बैंकबाट लिएको २० लाख रुपैयाँ ऋण सहित गरेर घर किनेका छन् । बैंकबाट लिएको ऋण २५ बर्षसम्म हरेक महिना किस्ताबन्दिमा तिर्ने सम्झौता छ । कुनै कारणबस आफ्नो मृत्यु भएमा परिवारका सदस्यले ऋण तिर्नसक्ने क्षमता छैन । ऋण तिर्न नसकेका कारण ऋण असुली गर्न बैंकले घर बिक्री गरेर परिवारको बिचल्ली नहोस् भन्ने उनी चाहन्छन् । यसका लागि अकालमै मृत्यु भएमा बीमा कम्पनीबाट २० लाख रुपैयाँ पाउने गरिको बीमा उनलाई आवश्यक हुन्छ । उनी यो जोखिम कम गर्न चाहन्छन् भने २५ बर्ष अवधि भएको २० लाख कभरेज (बिमांक) को बीमा किन्नुपर्छ । ऋण तिरी नसक्दै उनको मृत्यु भएमा बीमाबाट प्राप्त पैसाले बैंकको ऋण तिरेर परिवारका अन्य सदस्यले घरलाई ऋणमुक्त बनाउन सक्छन् । यो ऋणका लागि उनले घट्दो म्यादी बीमा पनि किन्न सक्छन् । जस्ले हरेक बर्ष बाँकी भएको ऋण बराबरको मात्र जोखिम बहन गर्छ । घट्दो म्यादि बीमा अझ सस्तो पर्न जान्छ ।

यस्तै हरीको आम्दानी सिमित छ । कमाएको पैसाले घर खर्च र दुई छोरीको पढाई गरी थोरै मात्र बच्छ । कुनै कारणबस उनको मृत्यु भएमा ६ बर्षे जुल्याहा छोरी १६ बर्ष पुगुन्जेल पढ्न र खानका लागि पैसाको समस्या नहोस् भन्ने उनी चाहन्छन् । यसका आधारमा उनीलाई छोरीहरु कम्तिमा पनि १६ बर्ष पुगुन्जेलसम्म १० बर्षका लागि बीमा आवश्यक हुन्छ । उनको बीमाको आवश्यकता दश बर्षका लागि मात्र हो । यस्तै उनको खर्च गर्न योग्य आम्दानी सिमित छ । यसकारण पनि उनलाई कम पैसा तिरेर उनको आवश्यकता पुरा गर्ने बीमा आवश्यक हुन्छ । सस्तो प्रिमियम बुझाएर १० बर्षकालागि मात्र किन्न पाइने बीमा भनेको १० बर्षे म्यादि बीमा हो । यसैले उनलाई १० बर्ष अवधि भएको म्यादि बीमा उपयुक्त हुन्छ । जसको प्रिमियम अन्य (स्थायी, आजिवन, सावधिक) बीमाभन्दा कम पर्न जान्छ । यदि १० बर्षभित्र कुनै कारणबस उनको मृत्यु भएमा बीमाबाट आएको पैसाले छोरीहरुलाई खान, लगाउन र पढ्न आवश्यक पैसाको व्यवस्था हुन्छ ।

यदि उनको मृत्यु भइहाले छोरीहरुको पढाइ खर्चसहित महिनाको ४० हजार खर्च लाग्ने उनले अनुमान गरेका छन् । यसका आधारमा बार्षिक ४ लाख ८० हजार खर्च हुन्छ । यही हिसाबले दश बर्षमा उनीहरुलाई ४८ लाख रुपैयाँ आवश्यक हुन्छ । तत्काल हरीको मृत्यु भएमा उनका परिवारका लागि ४८ लाख रुपैयाँ आवश्यक पर्छ । यसैले उनको कुल बीमाको आवश्यकता भनेको ४८ लाखको हो । यसका लागि हरीले उनको जीवनमा ४८ लाख बिमांक भएको दश बर्षे म्यादि बीमा किन्नुपर्छ । जसले उनको बिमाको अस्थायी आवश्यकता पुरा गर्न सक्छ ।

यस्तै अर्को उदाहरणमा बिरेन्द्र र उनकी श्रीमति आफ्नो मृत्युपछि ठुलो रकम छोरा छोरीका लागि छाड्न चाहन्छन् । उनीहरुको मृत्यु कहिले हुन्छ भन्ने थाहा हुने कुरै भएन । यस्तो अवस्थामा उनीहरुको आवश्यकता भनेको स्थायी प्रकृति जस्तो आजीवन बीमा हो । जसमा बिमितको जुनसुकै बेला मृत्यु भएपनि मृत्युपछि उनीहरुको बीमाबाट आएको पैसा परिवारका सदस्यले पाउनेछन् । मृत्युपछि परिवारकालागि पैसा छोडेर जाने, मृत्यु संस्कारमा आवश्यक खर्च, मृत्युपछि परिवारका नाममा सम्पति हस्तान्तरण गर्न लाग्ने कर तिर्नका लागि आवश्यक पैसाको व्यवस्थापन गर्ने उदेश्य भए स्थायी बीमा गरिन्छ ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट, सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स र बीमाका बारेमा बीमाकोर्ष समेत गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेष्ट इन स्टक मार्केट जस्ता किताबहरु लेखेका छन् ।)


रविन्द्र भट्टराई