पर्यटक बढ्दा एयरलाइन्सको व्यापार उच्च, ९ महिनामा ३ कम्पनीले गरे ११ अर्ब आम्दानी



काठमाडौं । कोरोना महामारीले गर्दा करिब दुई वर्ष अस्तव्यस्त भएको एयरलाइन्स कम्पनीको व्यापार कोरानापछि लयमा फर्किन थालेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा आन्तरिक तथा बाह्य उडान बन्द हुँदा नेपाली एयरलाइन्स कम्पनीहरुको व्यापार निकै खस्किएको थियो । तर, कोरोनापछि आन्तरिक तथा बाह्य पर्यटनको आगमन बढेसँगै एयरलाइन्स कम्पनीहरुको व्यापार पुनः लयमा फर्कँदै गएको देखिन्छ ।

नेपालमा अहिले ९ वटा एयरलाइन्स कम्पनी छन् । उक्त कम्पनीहरुले आफ्नो क्षमताअनुसार सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न पटक–पटक लागू गरेको लकडाउन तथा निषेधाज्ञाले गर्दा उडान हुन नसक्दा व्यापारमा उच्च गिरावट आएको थियो । तर, कोरोनापछि अर्थात् सन् २०२२ पछि भने एयरलाइन्स कम्पनीको आम्दानी उच्च भएको कम्पनीहरूले जनाएको छ ।

यस्तै, कतिपय कम्पनीले भने कोरोनाअघिको तुलनाभन्दा पनि बढी आम्दानी गरेको देखिन्छ भने कतिपय कम्पनीको व्यापारमा सुधार हँुदै गएको देखिन्छ । ९ वटा एयरलाइन्स कम्पनीमध्ये ३ वटा एयरलाइन्स कम्पनीले ९ महिनाको अवधिमा उच्च आम्दानी गरेका छन् । उक्त तीन वटा कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा मात्रै ११ अर्ब ८ करोड २० लाख रुपैयाँ आम्दानी गरेका छन् ।

कम्पनीअनुुसार सन् २०२२ मा कोरोनाको असर कम हुँदै गएको र आन्तरिक तथा बाह्य पर्यटकको आगमन उच्च हुँदा आम्दानीमा सुधार आएको जनाएको छ । कम्पनीहरूले कर्जाका लागि गराएको रेटिङअनुसार बुद्ध एयरलाइन्स, यति एयरलाइन्स र तारा एयरलाइन्सले सन् २०२२ को ९ महिनाको अवधिमा ११ अर्बको व्यापार गरेका हुन् । कम्पनीहरुले बढ्दो प्रतिस्पर्धाका बीच उच्च व्यापार गरेका छन् ।

बुद्ध एयर
बुद्ध एयर प्रालिले ९ महिनाको अवधिमा साढे ७ अर्ब भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ७ अर्ब ६९ करोड ३० लाख (अपरिष्कृत) रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ र सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कोभिड–१९ का कारण कम्पनीको व्यापार निकै खस्किएको थियो । जसले गर्दा लिएको ऋणमा इक्रा नेपालले वाचलिस्टमा राखेको थियो । तर, कोरोनापश्चात सन् २०२२ को ९ महिनाको अवधिमा उच्च आम्दानी गरेकाले कम्पनीलाई वाचलिस्टबाट हटाइएको छ ।

कम्पनीअनुसार सन् २०२२ को ९ महिनाको अवधिमा आन्तरिक हवाई उडानमा यात्रुको संख्या उल्लेख्य बढ्दा राम्रो आम्दानी गरेको जनाएको छ । साथै, आगामी दिनमा समग्र पर्यटकको संख्या बढ्दै जाने र आम्दानी पनि बढ्ने कम्पनीको भनाइ छ ।

कोरोना महामारीका कारण सरकारले लगाइएको लकडाउन तथा कडाइले गर्दा दुई आर्थिक वर्ष कम्पनीको आम्दानी निकै घटेको थियो । तर, कोरोनापछि सन् २०२२ मा मासिक ८५ करोड ५० लाखको हाराहारीमा आम्दानी गरेको छ ।

कोरोनाअघि अर्थात् सन् २०१९ मा कम्पनीले मासिक ५६ करोड ७० लाख रुपैयाँ आम्दानी गर्दै आएको थियो । कम्पनीले कोरोना शुरु भएकै बेलामा एटीआर–७२ को ३ वटा विमान थप गरेको थियो । उक्त विमान थप गरेकाले पनि आम्दानीमा उछाल आएको कम्पनीको भनाइ छ ।

तर, सन् २०२२ को ९ महिनाको अवधिमा बुद्ध एयरको बजार हिस्सा भने गुम्दै गएको देखिन्छ । सन् २०२१ मा कम्पनीको बजार हिस्सा ५८ प्रतिशत थियो भने सन् २०२२ को ९ महिनाको अवधिमा बजार हिस्सा ५६ प्रतिशत कायम गरेको छ ।

त्यसैगरी, कम्पनीले अन्तर्राष्ट्रिय उडानबाट पनि उच्च आम्दानी गरेको छ । कम्पनीले सन् २०२१ मा आम्दानी गरेकोमध्ये १ प्रतिशत ओटेकोमा सन् २०२२ को ९ महिनाको अवधिमा ३ प्रतिशत हिस्सा ओगटेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँ र १ करोड ८० लाख अमेरिकी डलरको रेटिङ गराएको छ ।

यति एयरलाइन्स

आन्तरिक उडानमा नेपालकै दोस्रो ठूलो यति एयरलाइन्स प्रालिले सन् २०२२ को ९ महिनाको अवधिमा सवा २ अर्ब आम्दानी गरेको छ । रेटिङ एजेन्सीअनुसार कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २ अर्ब ७४ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको हो ।

कम्पनीअनुसार सन् २०२२ को ९ महिनाको अवधिमा आम्दानी गरेकोमध्ये तीन वटा रुट विराटनगर, भैरहवा र पोखरामा भर परेको छ । उक्त तीनवटा रुटबाट मात्रै ६२ प्रतिशत आम्दानी गरेको हो ।

सन् २०२१ मा उक्त रुटको हिस्सा ४९ प्रतिशत थियो । कम्पनीले सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, सन् २०२० मा २ अर्ब ६६ करोड, सन् २०१९ मा ३ अर्ब ४३ करोड र सन् २०१८ मा ३ अर्ब १३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको उल्लेख छ ।

थामसेर्कु ग्रुपद्वारा सञ्चालित सो कम्पनीले विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उड्डयन, एड्भेन्चर ट्राभल, ट्रेकिङ, होटल÷लज र ट्राभल एजेन्सीको काम गर्दै आएका छन् । कम्पनीअनुसार नेपालकै दोस्रो एयरलाइन्स कम्पनी भएकाले बजारको हिस्सा २५ प्रतिशत रहेको उल्लेख छ ।

कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएको एयरलाइन्स कम्पनीले सन् २०२२ बाट भने गति लिएको जनाएको छ । त्यसैले, सन् २०२२ को ९ महिनाको अवधिमा मासिक ३० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको भनाइ छ । सन् २०१९ मा कम्पनीले मासिक २८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले सन्् २०२२ को ९ महिनाको अवधिमा २३ प्रतिशतले नाफा कमाएको छ । सन् २०१९ मा १९ प्रतिशतले कम नाफा कमाएको थियो । कम्पनीले ५ वटा एटीआर ७२–५०० को विमान सञ्चालन गर्दै आएको छ । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि २ अर्ब ४७ करोड रुपैयाँ र ३ करोड ८३ लाख अमेरिकी डलर रुपैयाँको रेटिङ गराएको छ ।

तारा एयर

तारा एयरको आम्दानी कोरोना महामारीपछि बढ्न थालेको छ । कोरोना महामारीमा विदेशी पर्यटक आगमन न्यून हुँदा उल्लेख्य रुपमा घटेको कम्पनीको आम्दानी सन् २०२२ मा भने बढेको हो ।

कोरोना महामारी शुरु हुनुभन्दा अघि सन् २०१९ मा १ अर्ब ५६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको आम्दानी सन् २०२० मा घटेर ९४ करोड ७० लाख रुपैयाँमा सीमित भएको थियो ।

तर, सन् २०२१ मा ४७ करोड रुपैयाँमा सीमित आम्दानी सन् २०२२ को ९ महिनाको अवधिमा भने ३७.४४ प्रतिशतले बढाएर ६४ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ ।

कम्पनीको मुख्य आम्दानी डलर रहे पनि कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या न्यून भएपछि यस्तो आम्दानी सन् २०२२ को ९ महिनामा १८ प्रतिशतमा सीमित भएको छ । जबकी कोरोनाभन्दा अघि डलरबाट हुने आम्दानी ५५ देखि ६० प्रतिशत थियो ।

तारा एयरको कुल आम्दानीमा तीन वटा रुटको हिस्सा ५२ प्रतिशत छ । कम्पनीका अनुसार लुक्ला, सिमिकोट र रारा गन्तव्यबाट कम्पनीले ५२ प्रतिशत आम्दानी गर्न सफल भएको छ ।

सन् २००८ मा स्थापना भइ सञ्चालनमा आएको तारा एयर प्रालिले विशेष गरी स्टोल गन्तव्यमा तीन वटा ट्विन अटर एयरक्राफ्टबाट उडान गरिरहेको छ । स्टोल रुटमा उडान गर्ने एयरलाइन्समध्ये सबैभन्दा धेरै यात्रुलाई सेवा दिनेमा तारा एयर पहिलो स्थानमा छ ।

कम्पनीको प्रमोटरमा पर्यटन व्यवसायीहरु लाक्पा सोनाम शेर्पा छन् । साथै, अर्का प्रमोटर आङ छिरिङ शेर्पाको भने हेलिकोप्टर दुर्घटनामा निधन भइसकेको छ । हाल कम्पनीको अध्यक्षमा चन्दा शेर्पा छिन् ।

तारा एयर यति एयरलाइन्सको सिस्टर कन्सर्न कम्पनी हो । यति एयरले ट्रंक रुटमा सेवा दिँदै आएको छ । कम्पनीले हालै ९८ अर्ब ३० करोड रुपैयाँ र ४० लाख ५९ हजार डलर बराबरको ऋणका लागि रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि एलबी र अल्पकालीन कर्जाका लागि एफोर रेटिङ पाएको छ ।


अरिष्मा मोक्तान