अंशबण्डा गर्नुपर्ने व्यक्ति को-को हुन्, वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पत्तिबाट जन्मेका छोराछोरीले अंश पाउँछन् ?
काठमाडौं । सरकारले कुनै पनि परिवारमा सगोलको सम्पत्ति बाँडफाँड गर्न पति, पत्नी, बाबु, आमा, छोरा, छोरीलाई अंशियार मानिन्छ । जसमा सरकारले अंशियार अंशको समान हकदार हुने व्यवस्था गरेको छ ।
त्यस्तै, सरकारले अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नु पर्नेछ । तर, गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुको लागि छुट्याइएको अंश अन्य अंशियारले बराबरी पाउनेछन् ।
त्यसैगरी, कानून बमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पत्तिबाट जन्मिएका छोरा छोरीले पनि बाबु आमाबाट अंश पाउने व्यवस्था गरेको छ ।
सरकारले बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउनेछन् । तर, प्रकाश नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोरा छोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न पाउने छैन ।
सरकारले सगोलमा बसेका दाजु भाइका छोरा छोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउनेछन् । अंश नहुँदै पति वा बाबु आमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोरा, छोरीले पाउनेछन् । त्यस्तै, कुनै व्यक्तिको एकभन्दा बढी पत्नीहरु भएमा निजहरुले पतिको भागबाट मात्र अंश पाउनेछन् ।
कुनै व्यक्तिले पत्नी, छोरा छोरीसँग अंशबण्डा गरी भिन्न भएपछि वा त्यसरी भिन्न भएकोसँग आफ्नो अंश मिलाई सँगै बसेको अवस्थामा अर्को विवाह गरेमा वा त्यसरी विवाह गरेकी पत्नीबाट छोरा छोरी जन्मिएमा त्यस्ता पत्नी वा छोरा, छोरीले पति वा बाबुको अंश भागबाट मात्र अंश पाउनेछन् ।
तर, पत्नी जीवित हुने कुनै व्यक्तिले अंश नहुँदै अर्को विवाह गरेमा अन्य अंशियारको अंश भाग छुट्याई आफूले पाउने अंश भागबाट त्यसरी विवाह गर्ने महिलालाई अंश दिनुपर्नेछ ।
सगोलको सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई आफ्नो इज्जत आमदअनुसार खान लाउन दिन र आर्थिक हैसियतअनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्नेछ । सो व्यवस्था पूरा गर्नुपर्ने दायित्व भएका व्यक्तिले त्यस्तो दायित्व पूरा नगरेमा अंशियारले आफ्नो अंश लिई भिन्न सक्नेछन् ।
त्यस्तै, अंशियारहरूबीच आपसी सहमति भएमा निजहरु जहिलेसुकै पनि अंश लिई भिन्न हुन सक्नेछन् । पति, बाबु, आमा वा घरको मुख्य भई काम गर्ने व्यक्तिलाई सबै अंशियारहरू एउटै परिवारमा बस्नुभन्दा अंशबण्डा गरी अलग अलग बस्न उपयुक्त लागेमा जहिलेसुकै पनि अंशबण्डा गरी छुट्टिई भिन्न हुन सक्नेछन् ।
त्यसैगरी, पति वा पत्नीले पत्नी वा पतिलाई घरबाट निकाला गरिदिएमा र पति वा पत्नीले पत्नी वा पतिलाई शारीरिक वा मानसिक यातना दिएमा पति वा पत्नीले अंश लिई भिन्न हुन सक्ने व्यवस्था छ । साथै, विधवाले जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्नेछ । तर, विधवाले अर्को विवाह गरेमा निजले अंशबापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पतितर्फ छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैले लिन पाउनेछ ।
त्यस्तै, कुनै अंशियारले आफ्नो अंश आंशिक रूपमा लिई वा नलिई वा अंशबापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न सक्नेछ । अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्नी वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति, पत्नी वा छोरा, छोरीको मन्जुरी लिएमा मात्र अंश छोडपत्र गर्न सक्नेछ । तर नाबालक अंशियारको अंश हक छोडपत्र गर्न सकिने छैन । सगोलको सम्पत्ति अंशबण्डा गर्दा अंशियारहरू बीच लिखित रूपमा बण्डापत्र गर्नुपर्नेछ । जसमा अंशबण्डा गर्दा सगोलको सम्पत्ति र सगोलको ऋण घटी बढी नहुने गरी बण्डा गर्नुपर्नेछ ।
अंशबण्डा गर्दा असल कमसल मिलाई अंशियारहरुको मञ्जुरी बमोजिम र त्यसरी मञ्जुरी हुन नसकेमा गोला हाली बण्डा गर्नुपर्नेछ । अंशबण्डा गर्दा कुनै सम्पत्तिमा विवाद परेमा त्यस्तो विवाद समाप्त भएपछि अंशबण्डा गर्नुपर्नेछ । तर, विवाद समाधान हुन धेरै समय लाग्ने भएमा विवाद परेको सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति बण्डा गर्न सकिनेछ । जसमा अंशबण्डा गर्दा लिखतमा सम्पूर्ण विवरण खुलाउनुपर्नेछ । साथै, अंशबण्डाको लिखत पारित गर्नुपर्नेछ । त्यसैगरी, अंशबण्डा नगरी सम्पत्ति भने दिन नपाउने व्यवस्था छ ।