सरकारी प्रतिबन्धले साउन र भदौमा सवारीसाधनको आयात ८४ प्रतिशतले घट्यो



काठमाडौं । सरकारले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएपछि आयातमा कडाइ गर्दै आएको छ । सरकारले गत पुसदेखि निरन्तर विभिन्न चरणमा आयातमा कडाइ गर्दै आएको छ । तर, आयातमा कडाइ गरेपनि अपेक्षाकृत कमी भने आउन सकेको छैन ।

त्यस्तै, सरकारले आयातमा कमी नआएपछि गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै विभिन्न वस्तुको आयातमा प्रतिबन्ध गरेको छ । प्रतिबन्ध गरेको वस्तुमध्ये पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन पनि एक हो । सरकारले सवारी साधनको आयातमा प्रतिबन्ध बीच दुई महिनाको अवधिमा ६१४ वटा ठूला, मध्यम र साना गाडी, माइक्रो र जीप, कार, भ्यान गाडी आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउन र भदौ महिनामा ८४ करोड ४६ लाख ६३ हजार रुपैयाँको ६१४ वटा ठूला र मध्यम खालका बस र जीप, कार र भ्यान आयात भएको छ । उक्त सवारी साधन आयातबाट सरकारले १ अर्ब ७६ करोड ३२ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागका प्रवक्ता एवम् निर्देशक पुण्य बिक्रम खड्काले अहिले आयात भएको गाडी प्रतिबन्ध अगाडि प्रतितपत्र खुलाई अनुमति पाएको वस्तु आयात भइरहेको बताए । उनकाअनुसार सरकारले पुसमा पेट्रोलियम पदार्थको आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । वैशाख १३ गते मात्रै सूचना प्रकाशन गरेर आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसैले वैशाखअगाडि नै एलसी खुलाएको सवारी साधन अहिले आयात भइरहेको हो ।

‘एलसी खुलाएर आयात गर्नका लागि ३, ४ महिना लाग्छ । त्यसैले, अहिले विगत ४, ५ महिना अगाडि एलसी खुलाएको सवारी साधन आयात भइरहेको हो,’ उनले भने ।

त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत असार ३१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै आयातमा बन्देज लगाइएका मालवस्तु वैशाख १३ गतेभन्दा अगाडि बैंकिङ मध्यमबाट पैठरीको प्रक्रिया सम्पन्न भई सकेको हकमा त्यस्ता मालवस्तु पैठरी गर्न बाधा नपर्ने निर्णय गरेको थियो । उक्त निर्णयले पनि सहज बनाएकाले भन्सार यार्डमा अड्किएका सयौं सवारी साधन पनि आयात हुन थालेको विभागले जनाएको छ ।

विभागअनुसार सरकारले आयातमा प्रतिबन्ध गरेसँगै ८४ प्रतिशतले घटेको छ । गत वर्ष नेपालले ४ अर्ब २६ करोड ८३ लाख रुपैयाँको ३ हजार ७९९ सय वटा ठूला, मध्यम गाडी, माइक्रो र जीप, कार र भ्यान आयात भएको थियो । सो आयातित सवारी साधनबाट नेपालले ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको थियो ।

नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा २५ वटा सिट भएको ८७ वटा, १५ देखि २५ सिट भएको मिनि बस २१ वटा, ११ देखि १४ सिट भएको माइक्रोबस १० वटा र २००० सीसीमाथिका ४ वटा जीप, कार र भ्यान आयात गरेको छ ।

त्यसैगरी, पेट्रोलबाट चल्ने २५ सिटभन्दा माथिको गाडी ९ वटा, १००० सीसीको १८८ वटा, १००० सीसीदेखि १५०० सीसीसम्मका अन्एसेम्बलसहित १४२ वटा, १५०० सीसीदेखि २००० सीसीसम्मको ८ वटा, २००० सीसीदेखि २५०० सीसीसम्मको ३ वटा र डिजेलबाट चल्ने १५०० सीसीसम्मको २६ वटा सवारी साधन आएको गरेको छ ।

साथै, डिजेलबाट गुड्ने १५०० सीसीदेखि २५०० सीसीसम्मको ९८ वटा, २५०० सीसीको १३ वटा र पेट्रोल र इलेक्ट्रिक दुबैबाट गुड्ने २००० सीसीमाथिको ५ वटा आयात गरेको छ ।

नेपालले भारत, चीन, जर्मनी, जापान, स्पेन, थाइल्यान्ड र अमेरिकाबाट आयात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्छ ।


क्लिकमान्डु