दशैंलाई चौपाया खरिद बिक्री संघले ३० हजार खसीबोका ल्याउने, कम खपत हुने



काठमाडौं । दशैंलाई लक्षित गर्दै चौपाया खरिद बिक्री संघले करिब ३० हजार खसीबोका काठमाडौं ल्याउने भएको छ । नेपालीहरूको महान चाड दशैंमा सबैभन्दा बढी मासुजन्य पदार्थ खपत हुने भएकाले संघले यो वर्षको दशैंमा ३० हजारको हाराहारीमा खसीबोका ल्याउने भएको हो ।

संघका अध्यक्ष जनकराज खड्काले यो वर्षको दशैंका लागि २६ हजारको हाराहारी खसीबोका काठमाडौं भित्रिने बताए । उनकाअनुसार अहिले अधिकांश व्यवसायीले खसीबोका भित्र्याएर बिक्री गर्न सुरु गरिसकेका छन् ।

गत वर्ष संघले ३५ हजारको हाराहारीमा खसीबोका ल्याउने तयारी गरेको थियो । तर, यो वर्ष खसीबोकाको माग कम भएकाले ३० हजारवटा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

‘कोभिडपछि गत वर्ष चहलपहल पनि उच्च थियो । तर, यो वर्ष विगतको जस्तो चहलपहल छैन । त्यसैले हामीले यो वर्ष ३० हजार वटा खसीबोका खपत हुने अनुमान गरेको छ,’ उनले क्लिकमाडण्डूसँग भने ।

त्यसैगरी, दशैंतिहार लगत्तै चुनावको माहोल छ । त्यसले पनि अधिकांश मानिसहरु उपत्यका बाहिर जानेछन् ।

नेपाल चौपाया खरिद बिक्री तथा कृषि फर्म ग्रुपका अध्यक्ष दिपक थापाले यो वर्ष बढीमा ३० हजार खसीबोका आउने बताए । उनकाअनुसार यो वर्ष विगतको जस्तो चहलपहल नभएकाले खपत कम हुने भएको छ ।

उपत्यकाबासीका खसीबोका उपलब्ध गराउनका लागि व्यवसायीहरु अहिले विभिन्न जिल्लामा खरिदमा व्यस्त रहेको उनको भनाइ छ ।

संघले देशभरका विभिन्न स्थानबाट खसीबोका खरिद गरेर बिक्री गर्दै आएको छ । यसैगरी खसीबोका ल्याउने प्रमुख जिल्ला भनेको दाङ, गोर्खा, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, सिराहा, सप्तरी, सर्लाही, कैलाली, सुर्खेत, बर्दिया, उदयपुर, सिन्धुली, इलाम, उदयपुर, बैतडी, जाजरकोट, सल्यान, जनकपुर, रामेछाप, ओखलढुङ्गालगायत अन्य जिल्लाबाट आयात भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी, यो वर्ष खसीबोकाको मूल्य खासै नबढ्ने भएको छ । माग र आपूर्तिअनुसार बजारमा मूल्य तय हुने गर्दछ । तर, यो वर्ष माग कम भएकाले प्रतिकेजी ६५० रुपैयाँदेखि ७०० मा बिक्री हुने संघले जनाएको छ ।

च्याङ्ग्रा ल्याउने तयारी

दशैंका लागि व्यवसायीहरुले च्याङ्ग्रा पनि ल्याउने तयारी गरेको छ । नेपाल चौपाया खरिद बिक्री तथा कृषि फर्म ग्रुपका अध्यक्ष थापाले अबको ३ दिनभित्रमा १२ सय वटा च्याङ्ग्रा आइपुग्ने बताए । ‘व्यवसायीहरू च्याङ्ग्रा खोज्नका लागि मुस्ताङ गइसकेका छन् । अबको दिनभित्र १२ वटा च्याङ्ग्रा आइपुग्नेछ,’ उनले भने ।

तर, यो वर्ष मुस्ताङमै च्याङ्ग्राको मूल्य उच्च भएकाले कम आउन सक्ने बताए । उनकाअनुसार मुस्ताङ्मै अहिले प्रतिकेजी १६ सयदेखि १७ सय रुपैयाँ भएकाले काठमाडौंबासीलाई च्याङ्ग्राको मासु महंगो पर्नेछ ।

व्यवसायीहरुले मुस्ताङसँगै तिब्बतबाट च्याङ्ग्रा ल्याउने गर्दै आएका छन् । तर, कोभिडपछि तिब्बतमा आवतजावतमा कडाइ भएकाले च्याङ्ग्रा ल्याउन कठिन रहेको उनले बताए ।


क्लिकमान्डु