२ महिनाको अवधिमै ४१४ वटा विद्युतीय गाडी आयात, १०० किलोवाटमाथि आकर्षण कम



काठमाडौं । चालु आर्थिक वर्षको २ महिनाको अवधिमै ४१४ वटा विद्युतीय सवारी साधन (जीप, कार र भ्यान) आयात गरेको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामै १ अर्ब १९ करोड ४३ लाख ५९ हजार रुपैयाँ खर्चेर ४१४ वटा विद्युतीय जीप, कार र भ्यान आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

उक्त आयातित सवारी साधनबाट नेपाल सरकारले ४० करोड ७७ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ४४ करोड २ लाख रुपैयाँको १४३ वटा विद्युतीय सवारी साधन आयात गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष दुई गुणाले विद्युतीय सवारी साधन आयात गरेको छ ।

नाडा अटोमोबाइल एशोसिएसन नेपालले नेपालमा पहिलोपटक इभी शो गरेको छ । व्यवसायीहरुले सोही शोमा प्रदर्शनका लागि पनि उच्च विद्युतीय सवारी साधन आयात गरेको नाडाले जनाएको छ ।

त्यसैगरी, विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थको मूल्य उच्च बढेसँगै विद्युतीय सवारी साधनमा बढ्दो आकर्षण देखिएको छ । नेपालमा पनि पछिल्लो समय विद्युतीय सवारी साधनको आकर्षण बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् ।

त्यस्तै, सरकारले विलासिताको वस्तु उच्च आयात भएको भन्दै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध गरेको छ । उक्त प्रतिबन्धका कारणले पनि विद्युतीय सवारी साधन उच्च आयात भएको नाडाले जनाएको छ ।

१०० किलोवाटमाथिका सवारी साधनमा आकर्षक कम

सरकारले विद्युतीय सवारी साधनमा लगाएको अन्तशुल्क र भन्सार दर वृद्धिले १०० किलोवाटभन्दा माथिका सवारी साधनको आयातमा उच्च प्रभाव परेको छ । गत वर्ष १०० किलोवाटसम्मको भन्दा १०० किलोवाटभन्दा माथिकाे बढी जीप, कार र भ्यान आयात भएको थियो ।

गत वर्षको दुई महिनाको अवधिमा १०० किलोवाटसम्मको २० करोड ३५ लाख रुपैयाँको ७१ वटा र १५० किलोवाटदेखि २०० किलोवाटसम्मको २३ करोड ६६ लाख ९८ हजार रुपैयाँको ७१ वटा जीप, कार र भ्यान आयात भएको थियो ।

तर, सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् विद्युतीय गाडीको अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था थिएन । तर, यो वर्षको बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले अन्तशुल्क र भन्सार करमा वृद्धि गरेको घोषणा गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षमा २ सय किलोवाटभन्दा बढी र ३ किलोवाटभन्दा कमका विद्युतीय गाडीको अन्तशुल्क ६० प्रतिशत कायम गरिएको छ ।

त्यस्तै, १०० किलोवाटभन्दा बढी २ सयभन्दा कमको विद्युतीय गाडीको अन्तशुल्क ३० प्रतिशत लगाइएको छ । १०० किलोवाट विद्युतीय गाडीको अन्तशुल्क भने लगाइएको छैन ।

नयाँ बजेटले विद्युतीय गाडीको भन्सार शुल्कसमेत बढाएको छ । जस्तो कि सरकारले मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार जीप, कार र भ्यान वस्तुको आयातमा २० प्रतिशत भन्सार शुल्क बढाएको छ । जसले गर्दा उक्त विद्युतीय सवारी साधन आयात गर्दा ६० प्रतिशत भन्सार शुल्क तिनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले मोटरको पिकपावर १०० किलोवाटभन्दा बढीको तर २०० किलोवाट ननाघेको कार, जीप र भ्यानबाहेक अन्य वस्तुको आयातमा ५ प्रतिशत भन्सार शुल्क बढाएको छ । साथै, सरकारले चालु आर्थिक वर्षमा १५ प्रतिशत भन्सार शुल्क कायम गरेको छ ।

सरकारले १०० किलोवाटभन्दा माथिका सवारी साधनको आयातमा अन्तशुल्क र भन्सार शुल्क बढाएसँगै आकर्षण कम हुँदै गएको छ ।

चालु आवको दुई महिनाको अवधिमा ४१४ वटा विद्युतीय सवारी साधन आयात हुँदा १२ वटामात्रै १०० किलोवाट माथिको जीप, कार भ्यान आयात भएको छ ।

विभागअनुसार २ महिनाको अवधिमा १०० किलोवाटदेखि २०० किलोवाटसम्मको १० वटा र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको २ वटा सवारी साधन आयात गरेको छ ।

सरकारले १०० किलोवाट माथिका सवारी साधन आयातमा अन्तशुल्क र भन्सार कर बढाएसँगै आकर्षण घट्दै गएको नाडाका अध्यक्ष धु्रव थापा बताउँछन् । उनकाअनुसार कर वृद्धिले गर्दा १०० किलोवाट माथिको सवारी साधनको मूल्य उच्च पर्ने भएकाले अहिले नेपाली बजारमा माग हुन छोडेको छ ।

साथै, अहिले १०० किलोवाटभन्दा कमको विद्युतीय सवारी साधनको आयातमा भने आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

१४ सय बढी तीन पाङ्ग्रे विद्युतीय सवारी साधन आयात

चालु आर्थिक वर्षको २ महिनाको अवधिमा १४ सय बढी विद्युतीय तीन पाङ्ग्रे सवारी साधन आयात गरेको छ ।

विभागअनुसार साउन र भदौ महिनामा १३ करोड रुपैयाँको १४ सय ४५ वटा विद्युतीय तीन पाङ्ग्रे सवारी साधन आयात भएको छ । उक्त आयातित सवारी साधन आयातबाट नेपालले ४ करोड ५९ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले २१ करोड ५९ लाख रुपैयाँको १३ सय ७३ वटा तीन पाङ्ग्रे सवारी साधन आयात गरेको थियो । सरकारले उक्त आयातित सवारी साधनबाट १७ कराेड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियाे ।

नेपालले गत वर्षको दुई महिनाको अवधिमा १०० सीसीको १ हजार ३६ वटा अटो रिक्सा र ३३७ वटा विद्युतीय तीन पाङ्ग्रे सवारी साधन आयात गरेको थियो ।


क्लिकमान्डु