२ हजारमा थालेको व्यापार यसरी बन्यो २ करोडको
विराटनगर । दिलीप बस्नेत ५२ वर्षका भए । पाँचथरको लिम्बा पुर्ख्यौली घर भएका उनी हाल विराटनगर ३ कञ्चनबारीमा रहेको घरमा बस्दै आएका छन् ।
चार दाजुभाइमध्ये माहिला दिलीपले अभाब र गरिबीबीच धनकुटाको मौनबुधुक शाारदा माविबाट २०४८ मा एसएलसी पास गरे ।
आर्थिक अवस्था कमजोर भएका कारण उनले कामको अवसर पनि पाइने आशामा धनकुटामा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस हुँदा हुँदै पनि विराटनगर रोजे । ठूलो शहर भएकाले धनकुटाको तुलनामा विराटनगरमा बढी काम पाइने सम्भावना हुने उनलाई लाग्यो ।
अध्ययनसँग काम
पढ्ने इच्छा भए पनि काम नगरी विराटनगर बस्ने स्थिति दिलीपको थिएन । घरबाट पैसा ल्याएर बढ्ने अवस्था नभएपछि उनले काम खोजी गरे । काम खोज्ने क्रममा उनले आशकरण संचेती चिया उद्योगमा लेबरको काम पाए ।
काम त पाए तर सहज कहाँ थियो र ? अध्ययनको समय र कामको प्रकृतिले गर्दा उनले पाएको जागीर दुई दिन भन्दा धेरै गर्न सकेनन् ।
भरखर १६,१७ वर्षको उमेरमा ६० केजीको बोरा बोकेर टाँढमा चढ्नुपर्ने । उनी आत्तिए । ख्याउटे शरीर भएका उनले त्यति धेरै श्रम गर्न नसक्ने भएपछि दुई दिनको पारीश्रमिक १ सय ४५ रूपैयाँ पाए र काम छाडे ।
भारी बोक्न नसक्ने भएपछि उनले अर्को कामको खोजी गरे । जुन काम पहिलाको भन्दा सहज होस् । पिछरामा रहेको एउटा काठ मिलमा रन्दा लगाउने काम उनले पाए । बिहान २ घण्टा र बेलुका २ घण्टा काम गरे हुने भएपछि उनले काम थाले । तर त्यहाँ पनि उनले धेरै दिन काम गर्न सेनन् । काठबाट उड्ने धुलोले उनलाई काम गर्न सहज भएन र तीन दिनमै काम छाडे । जहाँ उनले तीन दिनको १ सय ३५ रूपैयाँ हात लाग्यो ।
कामको खोजी र अध्ययनलाई सँगसँगै अघि बढाउँदा उनको खाने टुंगो भए । जसका कारण ग्यास्ट्रिक र जन्डिसले समात्यो । उनका भाइ पनि त्यसबीचमा विराटनगर आए । उनले भाइका लागि पनि काम खोजे । भाइले उर्लाबारीमा फर्मेसीमा काम पाए ।
काम नपाएको समयमा भने आफूले निकै कष्ट व्यहोर्नुपरेको उनी बताउँछन् । पैसा नभएपछि चिनेजानेका दाइ सुकबहादुर थेबेकहाँ आश्रय लिए ।
‘खाना खानपाइने अवस्था थियो । मलाई सुकबहादुर थेबे दाइले बस्न दिनु भएको थियो । कहिले कहाँमात्र खाने गरेको थिएँ,’ उनले भने ।
एकदमै भोक लागेपछि उनले एक दिन भूमि प्रशासन चोकमा चिनेजानेकी एक जना दिदीको पसलबाट एक किलो चामल किनेर ल्याए । धेरै खाए अलिक दिन भोक नलाग्ने ठानेर उनले झण्डै आधा किलो चामल पाए । तर, त्यस्तो हुने रहिन्छ । सात दिन भोक लाग्दैन भन्ने ठानेको थिएँ तर, अहिले खाए बेलुका भोक लागि हाल्ने रहेछ उनले हाँस्दै भने । ती दिदीसँग उनले पछिसम्म तिहारको टिका लगाउने गरेका थिए ।
घडी बेचेर साइकल
उनले त्यसबीचमा साना विद्यार्थीहरुलाई ट्युशन पढाउने काम पाए । होम ट्युसन पढाउने काम पाएका उनलाई विभिन्न घरमा पुग्नु पर्ने भयो । हिँड्दा जाँदा समय लाग्ने र नभ्याइने हुन थोपछि उनले घडी बेचे र साइकल किने ।
महिनाको पच्चीस रूपैयाँमा ट्युसन पढाउने काम पाएका उनले १ हजारमा बेचेको घडीको पैसाले चिनेका एक जनासँग ‘सेकेण्डहेण्ड’ हिरो रेन्जर साइकल सस्तो मूल्यमा खरिद गरे ।
तीन वर्षसम्म उनले केही घरमा पुगेर ट्युसन पढाए । ट्युसन पढाउँदा उनको मासिक १४/१५ सय रूपैयाँ कमाइ हुन्थ्यो । डेराभाडा, पढाइ र खाना खर्च पुर्याउनै हम्मेहम्मे हुन्थ्यो । खान नै समस्या भएपछि उनले पढाउने काम छाड्ने र अर्को काम गर्नेबारे सोचे ।
फेरि जागिर
पढाउन छोडेपछि उनले जागिर खोजे । त्यसक्रममा उनले एक कापी उद्योगमा काम गर्न थाले । कामका दौरान उनी सुपरभाइजर हुँदै मेनेजरसम्म भए । तीन वर्षसम्म चलेर त्यो उद्योग बन्द हुन पुग्यो । पद मेनेजर भए पनि तलब न्यून थियो । उनी महिनाको ५ हजार कमाउँथे ।
उक्त कापी उद्योग बन्द भएपछि उनले विराट कापी उद्योगमा काम गर्न अवसर पाए । झण्डै ७ वर्ष काम गरेका उनले आफूले नगरेको कामको आरोप लागेपछि जागिर छाड्नु परेको बताए ।
‘मेरो सिफारिसमा एक जना काम गर्थे, उनले हिसाबकिताबको रकममा गडबढी गरेछन् । त्यो रकम तिर्न कम्पनीका साहुहरूले मलाई भने । तर, मैले गडबढ नभएका कारण उक्त रकम तिर्न अस्वीकार गरेँ,’ उक्त घटनाबारे स्मरण गर्दै भने, ‘गल्ती नगरेको कुरामा दोष लगाएपछि मलाई काम गर्न मन लागेन ।’
निर्दोश भएको स्पष्टीकरण पेस गर्दा पनि नमानेपछि काम गर्न मन नभएकाले आफू त्यहाँबाट बाहिरिएको उनले बताए ।
प्रेम विवाह र विदेश
विभिन्न क्षेत्रमा काम गरेको भए पनि सफलता पाउन नसकेपछि दिलीले पहिला पहाडस्थित घर फर्कने नसोचेका होइनन् । तर घर जानु भन्न उनले विदेश जान उपयुक्त ठाने । दाइसँग पनि सल्लाह गरे । दाइले पनि विदेश जान सल्लाह दिए । पासपोर्ट बनाए ।
त्यसबीचमा उनको जीवनले नयाँ मोड लियो । मोरङ क्याम्पस पढ्दादेखिनै मायामा रहेका दिलीपलाई मायाले रोक्यो । इलामकी अस्मिता ढुंगानासँग माया प्रेममा रहेका दिलीपले बिबाह गर्नु पर्ने अवस्था बन्यो ।
२०६१ सालमा उनले ३४ वर्षको उमेरमा प्रमिकासँग विवाह गरे ।
विवाह गरेपछि उनलाई श्रीमतीले विदेश जानेभन्दा स्वदेशमै केही गर्न आग्रह गर्न थालिन् । दुबै मिलेर केही काम गर्न सके भइहाल्छ भन्ने श्रीमतीले भनेपछि उनले पनि विदेश जाने सोच त्यागिदिए ।
त्यसपछि उनी आफैं केही इलम गर्नु पर्छ भन्नेमा पुगे । सानो चिया पसल खोल्न सुझाव दिए पनि उनले आफूले जानेको सीपको प्रयोग गरेर व्यापार व्यवसाय गर्ने सोच बनाए । स्टेशनरी व्यवसाय खोल्न उनको साचमा पत्नीले साथ दिइन् ।
व्यापार गर्नका लागि उनले बस्नेत इन्टर प्राइजेज खोले ।
अलिअलि कमाएको रकम पनि विवाह गर्दा सकिएपछि कामका लागि पर्याप्त पुँजी निकाल्न सक्ने अवस्था उनको थिएन ।
पहिला कापी उद्योगमा काम गर्दा जितेको विश्वास र इमानदारिताका कारण उनले विभिन्न पसलहरूबाट बिनालगानी स्टेनसनरी सामानहरु ल्याएर विभिन्न पसलहरुमा दिन थाले ।
बलपेन र रिफिल कापी लगायतका सामग्री झोलामा राखेर उनी दिनभर पसल पसल चहार्न थाले । झापा, इलाम र पाँचथरसम्म उनी पुगे । पहिला कापी उद्योगहरुमा काम गर्दाको सम्बन्धका आधारमा उनी विभिन्न स्थानमा पुगे र आफ्नो बजार बिस्तार गरे ।
२ हजारबाट व्यवसाय
उद्योगहरुसँगबाट विश्वासमा एक चरण सामान लिएर बेचेर आएको मुनाफाले उनले व्यापारलाई थप बिस्तार गरे । उनले करिब २ हजार रुपैयाँ लगानी गरेर सामानहरु किने ।
जसलाई झोलामा राखेर उनी गाउँ गाउँ र जिल्ला जिल्ला दिन रात नभनी पुगे । कारोबारबाट केही निश्चित नाफा आउँथ्यो । २०६१ देखि २०६७ सम्म उनले यसरी झोलामा सामान राखेर पसलहरुमा लगेर व्यापार गरे । पछि उनले पसल खोले र त्यसैमार्फत व्यापार गर्न थाले । त्यसका लागि उनले श्रीमतीका नाममा मोरङ ट्रेड लिङ्क नामको कम्पनी खोले ।
त्यो कम्पनी खोल्नुमा उनको उद्देश्य चाहिं अलिक ठूलो व्यापार व्यवसाय सञ्चालन गर्नु थियो । उनले त्यो कम्पनी केही समयपछि भ्याटमा पनि दर्ता गरे । उनले कम्पनी त खोले तर उनीसँग व्यवसाय बढाउन पर्याप्त पुँजी थिएन । त्यसपछि उनले वार्षिक २४ प्रतिशत व्याजमा साथीसँग २ लाख रुपैयाँ ऋण लिए ।
सामान बेच्नका लागि उनले आफू सत्ने खाटको मुनी नै स्टोर बनाएका थिए । खाटामुनी भरी सामान राख्यो बेच्यो गरेर उनले गुजारा गरिरहेका थिए तर बजार विस्तार भएपछि उनले विराटनगरको ट्राफिक चोकमा दुईटा सटर भाडामा लिए ।
अहिले उनले त्यसमा सटरहरु थपेका छन् । दुईवटामा होलसेल र अन्यमा रिटेलको काम उनी गर्छन् ।
पाँचथरमा रहेको अंशबाट उनले तीन लाख रुपेयाँ पाएका थिए । त्यसमा केही रकम थप गरेर उनले कञ्चनबारीमा साढे १३ धुर जग्गा किने । अब उनलाई व्यापार विस्तारमा केही सहज भयो । बैंकमा जग्गा राखेर १० लाख रुपैयाँ निकाले र त्यसबाट व्यापार विस्तार गर्दै गए ।
लकडाउनले समस्या
व्यापार राम्रै चलिरहेको बेला विश्वभर कोरोना महामारी फैलियो । यसले नेपाल पनि प्रभावित बन्यो । सरकारले लगाएको लकडाउन र निषेधाज्ञा १९ महिना चल्दा उनको स्टेशनरी व्यापार व्यवसाय ठप्प भयो ।
व्यापार बाहेक आम्दानीको अन्य स्रोत नभएका उनी आर्थिक संकटमा परे । उनी मात्र होइन त्यतिबेला सबैमानिसलाई नराम्ररी प्रभावित पारेको थियो ।
‘समस्यामा परेको बेला सरकारले त साथ देला भनेको त्यो पनि केही दिएन । बैंकले पनि छोडेन । अफ्ठ्यारो परेको बेला त सबैले लखेट्दा रहेछन्, उनले भने कोरोनाले थलिएको व्यापार व्यवसाय अझै पनि माथि उठ्न सकेको छैन। हामी साना व्यापारीलाई सरकारले पनि सब्सिडी दिँदैन।’
कोरोना अघि वार्षिक २ करोड भन्दा धेरैको कारोबार गर्ने गरेका उनले अहिले भने व्यापार खस्किएको बताए । कारोबार खस्किइरहे पनि बैंकको व्याज बढेकोमा उनी चिन्तित छन् ।
कारोबार भए पनि समयमा लगानी नउठ्ने उनी बताउँछन् । १० प्रतिशतमा लिएको बैंकको व्याज अहिले १४÷१५ प्रतिशत पुगेको उनको भनाइ छ ।
तीनवटा सटरको भाडा, घर खर्च, बच्चाहरूको स्कुल फी गरेर मेरो मासिक डेढ लाख रूपैयाँ खर्च हुन्छ। ब्याजको किस्ता तिर्न धौधौ हुन्छ। बजारमा माल गएको छ । पेमेन्ट समयमा उठ्दैन । झन् सरकारी कार्यालयबाट त निजी क्षेत्रको भन्दा ढिलो गरी पेमेन्ट हुन्छ।
यस्तो संकटको बेला सरकारबाट सहुलियत पाउन पाए बैंकको ऋण तिर्न सहज हुने उनी ठान्छन् । त्यसो हुन सके नयाँ सामान थप गर्न र व्यापार बढाउन सकिने उनको भनाइ छ ।
कोरोनाको कहरपछि उनले स्टेशनरी होलसेलमा मात्र सीमित रहेर भएन भन्ने लागेर रिटेलको पसल पनि थपेका छन् ।
मरेर बाँच्दाको क्षण
विभिन्न कम्पनीको सामान बेच्दै आएका उनलाई ति कम्पनीहरुले बेलाबेलामा राम्रो व्यापार गरेको भन्दै वैदेशिक भ्रमणमा लैजाने गरेका छन्।
यसैक्रममा उनी तीन पटक विदेश भ्रमण गएका छन् । जीवनमा उनले एउटा विदेश भ्रमण भने बिर्सन नसक्ने घटना भएको बताए ।
पत्नीसहित इण्डोनेसियाको बाली घुम्न पुगेका उनी ज्यान बचेर नेपाल आउन पाएको भन्दै खुसी व्यक्त गर्छन् ।
समुन्द्रमा घुम्नेक्रममा आफू चढेको डुंगा पल्टीएपछि मृत्युको मुखबाट आफूहरु फर्किएको उनी बताउँछन् । डुँगा चालकलाई धेरै पर नलान आग्रह गरे पनि नमानेको बताउँदै उनले त्यसक्रममा डुंगा पल्टिएको र बल्लतल्ल ज्यान बचाएर सोही पल्टीएको डुंगा समाएर ज्यान बचाएको बताए ।
‘मृत्युबाट बाँचेकोमा हामी दुईले अँगालो मारेर एकछिन समुन्द्र किनारमा बेस्कन रोयौं । जसले पीडा केही कम गर्यो । त्यसपछि मात्र छोराहरूको सम्झना आयो । अनि डर पनि निकै लाग्यो । हामीसँगका एक जना पुरुष बेहोस थिए । उनलाई अस्पताल पठायौं । हामी पनि उपचार गरेर जतिसक्दो चाडो नेपाल फर्कियौं’ उनले भने ।
विमानस्थलभर उनीहरुको मन त्यही समुद्री दुर्घटनामा थियो । नेपाल फकिएपछि उनीहरु घर पुगे । छोराहरुलाई देख्नासाथ अंगालो मारेर रोएको उनले सुनाए ।