कनिका चामल निर्यातमा भारतले किन लगायो प्रतिबन्ध ?



एजेन्सी । भारतले कनिका चामलको निर्यातमा प्रतिबन्ध र बासमती बाहकको चामलमा निर्यात कर वृद्धि गरेको छ । मुख्य गरि बासमतीबाहेकका चामलको निर्यातमा भारत सरकारले केही साताअघि कर बढाएको थियो भने कनिका चामलको निर्यातमाथि प्रतिबन्ध लगाएको थियो ।

भारत सरकारले देशमा उत्पादनमा कमी आएको, मूल्य वृद्धिका कारणजस्ता विभिन्न तर्कहरुसहित चामल निर्यातमा कर वृद्धि र कनिका चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

तर, योसँगै भारतबाट चामल निर्यात हुने पक्षमा तेस्रो कारण पनि छ । त्यो हो– इथेनोलको उत्पादनका लागि चामलको प्रयोग । कनिका चामल निर्यातमा प्रतिबन्ध लाग्नुमा यो पनि प्रमुख कारण देखिएको छ । तर, यसको बारेमा खासै कुरा भएको छैन ।

भारत सरकारले बासमती बाहेकका चामलमा निर्यात कर वृद्धि गर्नु र कनिका चामलको निर्यातमा प्रतिबन्ध लगाउनुको प्रमुख कारण उत्पादनमा आएको कमी बताएको छ । हालको अनुमानअनुसार भारतमा यो सिजनमा चामलको उत्पादनमा १२० लाख टन कमी आउन सक्छ ।

भारतको केन्द्रीय खाद्य एव उपभोक्ता सचिव सुधांशु पाण्डेयले बताएअनुसार ९ सेप्टेम्बरमा उपलब्ध भएका तथ्यांकमा वर्षामा कमी भएका कारण यो वर्ष धानको उत्पादनमा कमी आउनेछ । भारतमा यो वर्ष हालसम्म पनि ३८.०६ लाख हेक्टरमा धान रोपाई भएको छैन ।

यसकारण भारतमा गत वर्षको तुलनामा ९.४ प्रतिशत क्षेत्रमा धान रोपिएको छैन । गत वर्ष सेप्टेम्बर दोस्रो सातासम्म भारतमा ४०९.५५ लाख हेक्टर जमिनमा धान रोपिएको थियो ।

भारतीयको खाद्य सचिवले बताएको विवरण अनुसार यो वर्ष भारतमा सय लाख टन चामलको उत्पादनमा कमी आउनेछ । त्यससँगै अन्य विभिन्न कारणले २० लाख टन चामल उत्पादन प्रभावित हुने देखिएको छ । कुल १२० टन चामल उत्पादनमा कमी आउने भारतीय सरकारको आशंका छ ।

एकातिर भारत सरकारले चामलको उत्पादनमा कमी आउने बताएसँगै हाल यसको मूल्य पनि अत्याधिक बढिरहेको छ ।तथ्यांककाअनुसार भारतमा पछिल्लो समय चामलको थोक मूल्य गत वर्षको भन्दा ८.२२ प्रतिशत र खुद्रा मूल्य गत वर्षको भन्दा ६.३८ प्रतिशतले बढेको छ ।

भारतमा गत वर्ष सेप्टेम्बर दोस्रो साता थोक बजारमा चामलको मूल्य ३ हजार ४१ भारु प्रति क्विन्टल थियो भने यो वर्ष त्यसको मूल्य करिब ३३ सय भारु प्रति क्विन्टल पुगेको छ । खुद्रा बजारमा भने गत वर्ष ३५.२५ भारु प्रतिकिलो रहेको चामलको मूल्य यो वर्ष ३७.५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

बढ्दै गएको चामलको मूल्य र उत्पादनमा कमी आएका कारण भारतको केन्द्र सरकारले केही साताअघि बासमती बाहेकका चामलमा निर्यात कर वृद्धि गर्ने र कनिका चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । भारतीय केन्द्रीय वाणिज्य मन्त्रालयको विदेश व्यापार निर्देशनालयले कनिका चामलको निर्यातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ भने बासमतीबाहेकका चामलमा २० प्रतिशतसम्म निर्यात कर वृद्धि गरेको छ ।

भारत सरकारले कनिका चामलको निर्यातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउँदा धेरै माझ प्रश्न उठेको थियो– यसमा किन प्रतिबन्ध ? यसको के महत्व छ र ?

तर, भारतीयको खाद्य सचिवले दिएको तथ्यांक भने आश्चर्यजनक छ । तथ्यांकले भारतबाट कनिका चामलको निर्यात अत्याधिक बढेको देखाउँछ । सन् २०१८ को अप्रिलबाट अगस्टसम्म भारतबाट केवल ५१ हजार टन कनिका चामल निर्यात भएको थियो । सन् २०२२ अप्रिलदेखि अगस्टसम्मको तथ्यांक हेर्ने हो भने यसमा ४ हजार १७८ प्रतिशतभन्दा धेरै वृद्धि भएको छ । यो अवधिमा भारतबाट २१.३१ लाख टन कनिका चामल निर्यात भएको थियो ।

भारतबाट आर्थिक वर्ष २०२१/०२२ मा कनिका चामलको निर्यात ३८.९ टन थियो, जुन सन् २०१८ को तुलनामा ३१९ प्रतिशत धेरै हो ।

कनिका चामलको निर्यातमा अचानक आएको बढोत्तरीले भारत सरकारलाई नै अच्चममा पारेको छ । यसअघि भारतबाट कनिका चामलको निर्यात यो स्तरमा भएको थियो । दशकअघिको समयमा जाने हो भने कनिका चामल निर्यात नै हुँदैन थियो । तर, अहिले यसमा अचानक बढोत्तरी भएको छ । र यसरी निर्यात हुने कनिका चामल सबैभन्दा धेरै चीन, सेनेगल, वियतनाम, जिबूती, इण्डोनेसियाजस्ता देशमा गइरहेका छन् ।

भारतमा कनिका चामलको मुख्य उपयोग इथेनोल उत्पादनसँगै पशु तथा कुखुराहरुको चारोका लागि हुन्छ । भारतमा सन् २०२५ सम्म ११०० करोड लिटर इथेनोल आवश्यक हुने बताइएको छ । र यसका लागि सबैभन्दा धेरै उपयोग हुने उखु अपुग हुने देखिएको छ । जसकारण सन् २०१९/०२० मा कनिका, मकै र भारतीय खाद्य निगमको चामलको प्रयोग इथेनोल उत्पादनका लागि हुन सक्ने अनुमति दिइएको छ ।

भारतमा इथेनोल उत्पादनका लागि भारतीय खाद्य निगमबाट आर्थिक वर्ष २०२०/०२१ मा ८१ हजार मेट्रिक टन चामल छुट्याइएको थियो । जसमध्ये ४९ हजार टन चामलको प्रयोग भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०२१ अगस्ट २१ सम्म भारतमा इथेनोलको उत्पादनका लागि १३ लाख ८७ हजार ६१६ टन चामल छुट्याइएको छ । जसमध्ये ५ लाख ५ हजार टन चामल भारतीय खाद्य विभागबाट रहेको छ ।

वर्षेनी इथेनोल उत्पादनका लागि चामलको माग बढ्दै गएको छ । तर, उत्पादनमा भने चामल घट्दै गएको छ । जसकारण भारत सरकारले चामलको निर्यातलाई निरुत्साहित गर्ने तथा कनिका चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय लिएको छ ।

अखिल भारतीय चामल निर्यात संघ (अल इण्डिया राइस एक्सपोट्स एसोसिएसन)का बरिष्ठ कार्यकारी निर्देशक विनोद कुमार कौलले पनि भारतले कनिका चामललाई इथेनोल उत्पादनमा प्रयोग गर्नका लागि निर्यात प्रतिबन्ध लगाइएको बताए । उनले भने, ‘कैयौं इथेनोल उत्पादन कारखाना खोलिएको छ । तर, कच्चा पदार्थको अभावका कारण यसको उपयोग निकै कम मात्रामा भएको छ ।’

इथेनोलको उत्पादनका लागि कनिका चामल र मकैको प्रयोग प्रमुख रुपमा हुन्छ । कनिका चामललाई निर्यात गर्नुको साटो इथेनोल उत्पिादन कारखानामा पठाएमा भारतीय खाद्य विभागमाथिको आश्रय कम हुने देखिन्छ ।

तर, यसो गरिरहँदा भारतको निर्यात व्यापारमा भने असर पर्ने देखिन्छ । भारतबाट सन् २०२१/०२२ मा मात्रै ३८ लाख टन कनिका चामल निर्यात भएको थियो । कौल भन्छन्, ‘यो वर्षको पहिलो पाँच महिनामा मात्रै १.५ मिलियन टन निर्यात भएको थियो । अहिले त्यो पूर्ण रुपमा रोकिएको छ । यसले भारतको निर्यात व्यापार प्रभावित हुन्छ र हाम्रा प्रतिस्पर्धिहरुलाई लाभ हुने देखिएको छ ।’

इथेनोल उत्पादनमा भारतको जोड

कनिका निर्यातमा प्रतिबन्धको एउटा मुख्य कारण भारतले इथेनोल उत्पादनमा दिएको जोड हो । विभिन्न औद्योगिक प्रयोजनका लागि प्रयोग हुने इथेनोल उत्पादनमा भारतले पछिल्लो समय निकै जोड दिइरहेको छ ।

बुधबार मात्रै भारतका केन्द्रिय मन्त्री नितिन गड्कारीले चिनी उद्योगहरुलाई चिनीको उत्पादनभन्दा इथेनोलको उत्पादन बढाउनुपर्ने बताएका थिए । बुधबार भारतीय चिनी उद्योग संघले गरेको कार्यक्रममा बोल्दै उनले चिनिको उत्पादन बढाएमा उद्योग क्षेत्रमा समस्या हुने बताउँदै इथेनोलको उत्पादनमा जोड दिनुपर्ने बताए । इथेनोलको उत्पादन बढाएमा यसबाट प्रतिफल पनि धेरै आउने उनको तर्क थियो ।

‘हामीलाई इथेनोल धेरै चाहिएको छ,’ उनले भनेका थिए, ‘चीनिको उत्पादनभन्दा इथेनोलको उत्पादनमा जोड दिनुपर्ने देखिएको छ । बायोइथेनोलको उत्पादन पनि बढाएर त्यसलाई लामो समयसम्म भण्डारण गरेर राख्नुपर्ने देखिएको छ । चिनीको उत्पादन बढाउनुभन्दा इथेनोलको उत्पादन बढाउनुपर्छ ।’

सँगै उनले सबैजसो अटोमोबाइल उत्पादकहरुलाई ‘फेक्सिबल फ्युल’मा चल्ने गाडीहरुको उत्पादन बढाउनुपर्ने बताए । त्यसले इथेनोलको माग बढ्ने बताउँदै उनले भने, ‘दुवै किसिमका इन्धन (फोसिल फ्युलसँगै अन्य किसिमका इन्धन)मा चल्ने सवारीसाधनको उत्पादन बढाउन पर्छ । यसले इथेनोल र मेथेनोललाई पनि इन्धनको रुपमा प्रयोग गर्ने अवस्था आउँछ ।’

यस्ता सवारी साधनमा ग्यासोलिन (पेट्रोल, डिजल)जस्ता इन्धनसँगै इथेनोल वा मेथेनोललाई मिसाएर प्रयोग गर्न सकिन्छ ।
हाल भारतमा वर्षिक रुपमा ९२३ करोड लिटर इथेनोलको उत्पादन भइरहेको छ । सरकारले त्यसलाई थप विस्तार गर्न कनिका चामल निर्यातमा प्रतिबन्ध लगाएको छ ।

के हो इथेनोल र के मा हुन्छ प्रयोग ?
इथेनोलको प्रयोग सामान्यतय प्लास्टिक, पोलिस, कस्मेटिकजस्ता कुराहरुको उत्पादनका लागि प्रयोग हुन्छ । औषधीजस्ता वस्तुमा यसको प्रयोग टोपिकल एन्टिइन्फेक्टिभका रुपमा हुन्छ भने मेथानोल ओभरडोजका लागि एन्टिडोडका रुपमा यसको प्रयोग हुन्छ । सँगै सरसफाइको सामग्री, ह्याड सेनिटाइजर्सजस्ता सामग्रीको उत्पादनमा पनि यसको प्रयोग हुने गर्छ । घरमा लगाउने रंगहरुमा पनि इथेनोलको अत्याधिक प्रयोग हुनेगर्छ ।

भारतमा भने इथेनोलको उत्पादनलाई इन्धनका रुपमा प्रयोग गर्नका लागि मुख्य रुपमा उत्पादन गरिएको छ । भारतमा हाल उत्पादन हुने ९२३ करोड लिटर इथेनोलबाट इन्धन क्षेत्रमा पनि केही मात्राको प्रयोग हुन्छ ।

पेट्रोल तथा डिजेलजस्ता जैविक इन्धनसँग इथेनोल मिलाएर कुदाउन सकिने सवारी साधनहरु उत्पादन भइरहेका छन् । २०२२ सेप्टेम्बरसम्म भारतमा उत्पादन भएको ९२३ लिटर इथेनोलबाट भारतमा आवश्यक हुने पेट्रोलमध्ये २० प्रतिशत पुरा हुने देखिएको थियो ।


क्लिकमान्डु