अर्थतन्त्र अहिलेको जस्तो समस्यामा कहिल्यै देखेको थिइनँ: अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो जीवनकालमा यस्तो आर्थिक संकट कहिल्यै नदेखेको बताएका छन् ।

बिहीबार नाडो इभी शोको उद्घाटन कार्यक्रममा अध्यक्ष गोल्छाले आफूले यस्तो आर्थिक संकट पहिलो पटक देखेको भन्दै यो चिन्ताको विषय भएको बताए ।

‘मैले व्यापार व्यवसाय गरेको ३० वर्ष भयो अहिलेसम्म यस्तो अवस्था देखेको थिएन’ उनले भने, ‘अहिले धेरै नै चुनौती देखिएका छन् । लोडसेडिङ, नाकाबन्दी भूकम्प सबै पारगरियो । अहिलेको चुनौती पनि पार गर्नुपर्ने छ । तर अहिलेको चुनौती गम्भीर प्रकृतिकोे छ ।’

यस्ता चुनौती आउनुमा विभिन्न विज्ञहरुको फरक फरक धारणा आएको उनले स्मरण गराए । रुस र युक्रेन युद्धका कारण इन्धन, खाद्यान्न लगायतको मूल्य बढ्दा अहिलेको समस्या आएको विज्ञहरुको भनाइ रहेको उनको भनाइ छ ।

‘केही विज्ञहरुले कोरोनापछि नेपालको अर्थतन्त्र अस्वभाविक रुपले बढेको थियो भनेका छन्’ अध्यक्ष गोल्छाले भने, ‘अहिले धेरै तल पुगेको छ ।’

नेपाल राष्ट्र बैंकले कोरोनापछि लिएको सीडी रेसियो लगायतका नीतिले अहिलेको अवस्था आएको उनको तर्क छ । बैंकमा तरलता घट्दा अहिलेको समस्या आएको, दशैंको समयमा कुनै वस्तुको बिक्री नहुँदा संकटको अवस्था आएको अध्यक्ष गोल्छाको भनाइ छ ।

नेपालमा रहेका लघुवित्त वित्तीय संस्था, सहकारी संस्था पनि समस्याग्रस्त भएको र त्यसले गर्दा अर्थतन्त्र थप्प भएको उल्लेख गरे ।

यो समस्याको मूल जरो मौद्रिक नीति, नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको समन्वयन हुन नसक्नु भएको उनको दाबी छ । अध्यक्ष गोल्छाले यो समस्या अब धेरै समय चल्न दिन नहुने विश्वास व्यक्त गरे ।

उनले तरलता सुधार हुने केही संकेत पनि देखिन थालेको बताए । यो संकटबाट चाडै मुक्ति पाउन विप्रेषणले धेरै नै सहयोग गरेको उनले दाबी गरे । विप्रेषणले अर्थतन्त्र चलायमान बनाउन सहयोग गरेको उनको भनाइ छ ।

सिमेन्ट, बिजुली निर्यात भएको, कोरोनाको समयमा रोकिएका पर्यटक नेपालमा आउन थालेको, विदेशी लगानी बढिरहेको, विदेशी दाताले लगानी बढाएको, श्रम समस्या समाधान भइरहेकाले त्यसबाट पनि केही सुधारको संकेत अपेक्षा गर्न सकिने उनको भनाइ छ । अर्थतन्त्र चलायमान बनाउन सरकार, निजी क्षेत्र सजग बन्नुपर्ने सुझाव गोल्छाको रहेको छ ।

अहिले देखिएको तरलताको संकटबाट बैंक पनि अछुतो रहन नसक्ने गोल्छाको बुझाइ छ । यस विषयमा अर्थ मन्त्रालय सचेत बन्न आग्रह गरे ।

बैंकहरुले आधारदरमा निश्चित प्रतिशत तोकेर दिएको ब्याजदर बीचमा नै परिवर्तन भएको स्मरण गराए ।

बैंकले धम्कीको शैलीमा ब्याजदर बढ्यो भन्ने गरेकोले राष्ट्र बैंक र अर्थमन्त्रालयले यसमा ध्यान दिन जरुरी रहेको उनले बताए ।
उनले इभीलाई प्रोत्साहन गर्न सरकारले ल्याएको नीति सराहनीय भएको धारणा राखे ।

भन्सार तथा अन्तशुल्क छुट दिएका कारण २५/ ३० लाखको गाडी पाएको र छुट नदिएको भए ६० लाख रुपैयाँभन्दा बढी पर्ने उनको भनाइ छ । गोल्छाले राजस्व लगायतका कारण नीति परिवर्तन भएको स्मरण गराउँदै इभीको भन्सार र अन्तशुल्क यसैलाई कायम राख्न आग्रह गरे ।


क्लिकमान्डु