नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण



काठमाडौं– एसियाली विकास बैंक (एडीबी)ले नेपालको अर्थतन्त्रको वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको वृद्धिदर कम हुने एडीबीको प्रक्षेपण छ ।

एडीबीले सार्वजनिक गरेको एसियन डेभलोपमेन्ट आउटलुक (एडीओ) मा गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८ प्रतिशतले वृद्धि भए पनि आगामी आर्थिक वर्षमा वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने उल्लेख छ ।

एडीबीले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को वृद्धि कम हुने प्रक्षेपण गरेको हो । मौद्रिक नीतिले जीडीपीलाई प्रतिबिम्बित गर्ने भएकाले आव २०२३ मा आयतमा हुने वृद्धि रोक्न आवश्यक भएको एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

नेपालको मुद्रास्फीतिमा सिर्जना हुने दबाब र विदेशी विनिमय सञ्चितिमा हुने गिरावटका कारण आगामी वर्ष नेपालको अर्थतन्त्रको वृद्धि ४.७ प्रतिशतमा सीमित हुने एडीबीले प्रक्षेपण गरेको छ ।

‘आयातलाई निन्त्रण गर्न आवश्यक पर्ने भएकाले अधिकारीहरुले थप कडा कदम चाल्दा आर्थिक वृद्धिमा नकरात्मक असर पर्न जाने जोखिम हुन्छ, जसले घरेलु उत्पादन र उपभोगमा पनि असर गर्छ र अर्थतन्त्रको वृद्धिलाई प्रतिकुल असर पार्छ,’ नेपालका लागि एडीबीका प्रमुख अर्नौड काउकोइसले भनेका छन्, ‘लकडाउनसम्म पुग्न सक्ने कोरोना महामारीको पुनरुत्थान, कमजोर स्वास्थ्य प्रणालीलाई थप दबाब दिने डेंगुको तिव्रता, प्राकृतिक प्रकोप, भूराजनीतिक उथलपुथलले अर्थतन्त्र वृद्धिको सम्भावनालाई थप कम गर्न सक्छ ।’

सामान्य मनसुनका कारण कृषिजन्य उत्पादनमा वृद्धि हुने सम्भावना भए पनि निरन्तर भइरहेको मलको अभावका कारण धानको उत्पादनलाई असर गर्ने प्रतिवेदनमा उल्लेख छ । उद्योग क्षेत्रमा जलविद्युतको उत्पादनसँगै थप बढ्ने र क्षमतामा पनि वृद्धि हुने प्रक्षेपण गरिएको छ । रियलस्टेट, होलसेल तथा खुद्रा व्यापारजस्ता क्षेत्रमा आएको सुस्तताले ऋण नियन्त्रणका उपायहरु र ब्याजदरमा भएको वृद्धिका कारण सेवाको वृद्धि पनि मध्यम शैलीमा हुने प्रतिवेदनमा उल्लेख छ ।

तर, मंसिरमा हुने प्रदेश र केन्द्रको चुनावले जीडीपी वृद्धिका लागि सहायता गर्न सक्ने प्रक्षेपण गरिएको छ । सरकारको आव २०२३ को बजेट मुख्य गरि कृषि, उद्योग, पूर्वाधार र सामाजिक सुरक्षा केन्द्रित भएकाले विस्तारात्मक देखिएको छ । मौद्रिक नीति भने आन्तरिक माग, बढ्दो मूल्य वृद्धि र आयातलाई नियन्त्रण गर्न, उच्च कर्जा वृद्धि रोक्नका लागि संकुचनात्मक रहेको छ ।

एडीबीले आर्थिक वर्ष २०२३ मा देशको मुद्रास्फीति आव २०२२ मा रहेको ६.३ भन्दा कम भएर ६.१ हुनसक्ने अनुमान गरेको छ ।


क्लिकमान्डु