छोटो अवधिका बीमा योजनामा बीमितको आकर्षण, अधिकतम बोनसदरको लाभ लिनेको संख्या न्यून



काठमाडौं । जीवन बीमा कम्पनीहरूले दिने अधिकतम बोनसदरको लाभ लिने बीमितको संख्या न्यून देखिएको छ । बीमितहरू छोटो अवधिका बीमालेखमा आकर्षित भएको पाइएको छ ।

कम्पनीहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ का लागि बीमितलाई दिने बोनसदर तालिकाअनुसार बीमितहरूको आकर्षण लामो अवधि र बढी बोनसदर भएका बीमालेखको तुलनामा कम अवधि र कम बोनसदर भएका बीमालेखमा देखिएको हो ।

कम्पनीहरूले सार्वजनिक गरेको बोनसदर तालिका अनुसार बीमितले छोटो अवधिका लागि जारी गरिएका बीमालेखमा कम बोनसदर पाउँछन् भने लामो अवधिका लागि जारी गरिएका बीमालेखमा बढी बोनसदर पाउने देखिन्छ ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ८ जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् ।

अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), एशियन लाइफ, नेशनल लाइफ, सूर्या, नेपाल लाइफ, आइएमई लाइफ, नेपाल लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूका लागि नयाँ बोनसदर कायम गरेका हुन् ।

जस अनुसार कम्पनीले घोषणा गर्ने अधिकतम बोनस दरको लाभ लिने बीमितको संख्या कम देखिएको हो ।

सूर्या लाइफ इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूअन्तर्गत आव २०७७/७८ का लागि प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ९० रूपैयाँसम्म बोनसदर कायम भएको छ ।

इन्स्योरेन्सले सार्वजनिक गरेको बोनसदर तालिकाअनुसार अधिकतम बोनसदरको लाभ दिने बीमितको संख्या एउटा मात्रै छ ।

कम्पनीले चौरासी पूजा अग्रिम सावधिक एकल भुक्तानी बीमा योजनाअन्तर्गत २५ देखि २९ वर्षे बीमा अवधिका लागि ९० रूपैयाँ बोनसदर कायम गरेको हो ।

प्राइम लाइफ इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूअन्तर्गत आव २०७७/७८ का लागि प्रतिहजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर दिने भएको हो ।

कम्पनीले घोषणा गरेको अधिकतम बोनसदरको लाभ लिनेको संख्या ९१ मात्रै छ । आव २०७७/७८ का लागि इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखअन्तर्गत २५ देखि माथिका बीमा अवधिका लागि प्रतिहजार ८० रूपैयाँ बोनसदर कायम गरेको हो ।

ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई आव २०७७/०७८ मा प्रतिहजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर दिने भएको छ ।

इन्स्योरेन्सले उक्त आवमा सावधिक बीमालेख योजनाअन्तर्गत २५ र सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ७५ रूपैयाँ बोनसदर कायम गरेको छ । उक्त बोनसदरको लाभ लिने बीमालेखको संख्या २२० छ । यस्तै, इन्स्योरेन्सले सावधिक र आजीवन बीमालेख योजना अन्तर्गत २५ र सो भन्दा माथिका बीमाअवधिका लागि प्रतिहजार ७५ रूपैयाँ बोनसदर कायम गरेको छ । जसको लाभ लिने बीमालेखको संख्या १३६ छ ।

एशियन लाइफले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म दिने भएको छ ।

इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेखअन्तर्गत २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ७५ रूपैयाँ बोनसदर कायम गरेको छ । जसको लाभ लिनेको संख्या ६८३ छ ।

आर्थिक वर्ष २०७७/०७८ मा मेट लाइफले मुनाफामा सरिक हुने बीमालेखहरूका लागि प्रतिहजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सावधिक जीवन बीमा योजना अन्तर्गत इन्स्योरेन्सले २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ८० रूपैयाँ बोनसदर कायम गरेको छ । जुन बोनसदरको लाभ लिने बीमालेखको संख्या १ हजार २०३ छ ।

यस्तै, शिक्षा संरक्षण बीमा योजनाअन्तर्गत कम्पनीले २१ वा सो भन्दा माथिका बीमा अअवधिका लागि प्रतिहजार ८० रूपैयाँ बोनसदर कायम गरेको छ । उक्त बोनसदरको लाभ लिने बीमितको संख्या ३ हजार ९८२ छ ।

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर कायम गरेको छ । सावधिक जीवन बीमालेख(सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी) बीमा योजना अन्तर्गत इन्स्योरेन्सले २६ देखि ३० वर्षे बीमा अवधि र ३० वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ८२ रूपैयाँ बोनसदर कायम गरेको छ । जसको लाभ लिने बीमालेखको संख्या क्रमशः२ हजार ४७२ र २८१ छ ।

सावधिक जीवन बीमालेख(नौलो सुरक्षित जीवन बीमा) योजना अन्तर्गत इन्स्योरेन्सले २६ देखि ३० वर्षे बीमा अवधि र २० वा सो भन्दा माथिका बीमा अवधिका लागि इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ८२ रूपैयाँ बोनसदर कायम गरेको छ । जुन बोनसदरको लाभ लिने बीमालेखको संख्या क्रमशः २३२ र २३८ छ ।

सावधिक तथा आजीवन बीमालेख(जीवन साहारा) बीमा योजनाअन्तर्गत इन्स्योरेन्सले २६ देखि ३० वर्षे बीमा अवधि र ३० वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ८२ रूपैयाँ बोनसदर कायम गरेको छ । जसको लाभ लिने बीमालेखको संख्या क्रमशः १ हजार ८१६ र ५९ छ ।

यस्तै, अन्य (जीवन सारथी) बीमा योजना अन्तर्गत कम्पनीले २६ देखि ३० वर्षे बीमा अवधिका लागि प्रतिहजार ८२ रूपैयाँ बोनसदर कायम गरेको छ । जसको लाभ लिनेको संख्या २८३ छ ।

नेशनल लाइफले आर्थिक वर्ष २०७७/०७८ का बीमितलाई बीमाअवधिअनुसार प्रतिहजार न्यूनतम ६३ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।

इन्स्योरेन्सले सावधिक जीवन बीमा योजना अन्तर्गत २६ देखि २९ वर्षे बीमा अवधि र ३० वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ८५ रूपैयाँ बोनसदर कायम गरेको छ । उक्त बोनसदरको लाभा लिन बीमालेखको संख्या क्रमशः २ हजार २८५ र २ हजार २३० छ ।

यस्तै, इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमा योजना अन्तर्गत २६ वा सो भन्दा माथिका बीमा अवधिका लाथि प्रतिहजार ८५ रूपैयाँ बोनसदर कायम गरेको छ । जुन बोनसदरको लाभ लिने बीमालेखको संख्या शून्य छ ।

आइएमई लाइफले आर्थिक वर्ष २०७७/७८ मा बीमितलाई प्रतिहजार न्यूनतम २० रूपैयाँ र अधिकतम ७० रूपैयाँसम्म बोनसदर दिने भएको छ ।

इन्स्योरेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत ३० वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ७० रूपैयाँ बोनसदर कायम गरेको छ । उक्त बोनसदरको लाभ लिने बीमालेखको संख्या ७३ छ । यस्तै, इन्स्योरेन्सले सावधिक/अग्रिम भुक्तानी तथा आजीवन बीमालेख अन्तर्गत ३० वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ७० रूपैयाँ बोनसदर कायम गरेको छ । जुन बोनसदरको लाभ लिने बीमालेखको संख्या ७ छ ।

कम्पनीकाअनुसार बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुने छ ।

जीवन बीमा कम्पनीले बीमितहरूलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ । बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष प्रतिहजारमा बोनसदर निर्धारण गर्ने गर्छन् ।

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ । बीमितले पाउने बोनसदर हरेक वर्ष थपघट हुन्छ ।


बिजया बास्कोटा