साउनमा देखिएन डिजिटल भुक्तानीमा उत्साह, क्यूआर कोड भुक्तानी बढ्दा अन्यको घट्यो




काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा क्यूआरबाट हुने भुक्तानी बढ्दा बाँकी अन्य डिजिटल प्लेटफर्मबाट हुने भुक्तानी घटेको छ ।

अघिल्ला महिनामा क्युआर पेमेन्ट, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेटबाट हुने भुक्तानी बढ्ने गरेको थियो । तर चालु आवको पहिलो महिनामा क्यूआर कोडबाट हुने कारोबार बढ्दा अन्यको घटेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरणअनुसार साउन महिनामा क्युआर कोडबाट हुने भुक्तानी मात्रै बढेको छ । बाँकी इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेटबाट हुने भुक्तानी घटेको छ ।

राष्ट्र बैंककाअनुसार साउनमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानी १ अर्ब ८९ करोड ४० लाख रुपैयाँले घटेर १३ अर्ब ७४ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । असार महिनामा इन्टरनेट बैंकिङबाट हुने भुक्तानी १५ अर्ब ६३ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

यस्तै मोबाइल बैंकिङबाट हुने भुक्तानी पनि असार महिनाको तुलनामा साउनमा १० अर्ब ६९ करोड ४० लाख रुपैयाँले घटेको छ । असारमा मोबाइल बैंकिङबाट १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख रुपैयाँ भुक्तानी भएकामा साउन महिनामा घटेर १ खर्ब ५२ अर्ब ५६ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ ।

त्यस्तै, मोबाइल वालेटबाट हुने कारोबार पनि घटेको छ । असारको तुलनामा साउनमा वालेटबाट हुने कारोबार २८ करोड ८० लाख रुपैयाँले घटेर १७ अर्ब ४६ करोड ४० लाख रुपैयाँ रहेको छ । असार महिनामा मोबाइल वालेटबाट हुने कारोबार १७ अर्ब ७५ करोड २० रुपैयाँको कारोबार भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा क्यूआर बाट हुने भुक्तानीमा केही सुधार आएको छ ।

असाउ महिनामा १४ अर्ब ८१ करोड ७० लाख रुपैयाँको भुक्तानी भएको छ । गत महिनामा १४ अर्ब ५२ करोड ६० लाखको भुक्तानी भएको थियो । एक महिनामा यस्तो भुक्तानी २९ करोड १० लाख रुपैयाँले बढेको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको छ । तर, साउनमा भने घटेको छ ।


क्लिकमान्डु