अमेरिकी स्टार्टअप क्षेत्रमा आप्रवासीको राजः ‘युनिकोर्न’ कम्पनी निर्माण गर्नेमा भारतीय अगाडि



एजेन्सी । युनिकोर्न कम्पनी अर्थात १ बिलियन अमेरिकी डलरभन्दा धेरै भ्यालुएसन भएको कम्पनी । अमेरिकामा भएका आधाभन्दा धेरै यस्ता स्टार्टअपहरुमा आप्रवासीहरुको राज रहेको छ ।

भारतमा रहेका कुल ५८२ वटा १ बिलियन अमेरिकी डलरभन्दा धेरै मूल्यका कम्पनीहरुमध्ये ५५ प्रतिशतलाई अन्य देशबाट गएका आप्रवासीहरुले सुरुवात गरेका छन् ।

अमेरिकामा रहेका युनिकोर्न स्टार्टअपहरुमा भारत, इजरायल, बेलायत, क्यानडा, चीन, फ्रान्सजस्ता देशहरुबाट गएका आप्रवासीहरुको देन छ । ५८२ वटा १ बिलियन अमेरिकी डलरभन्दा धेरै मूल्यका स्टार्टअपहरुमध्ये ३१९ वटालाई यसरी अन्य देशबाट अमेरिका गएका आप्रवासीहरुले सुरुवात गरेका छन् ।

‘नेसनल फाउन्डेसन फर अमेरिकी पोलिसी’ (एनएफएपी)ले हालै सार्वजनिक गरेको एक रिपोर्टमा यस्तो तथ्य देखिएको हो । यसमा सबैभन्दा धेरै युनिकोर्न स्टार्टअप खोल्नेमा भारतीय आप्रवासीहरु रहेका छन् । भारतबाट गएका आप्रवासीहरुले अमेरिकामा रहेका युनिकोर्न स्टार्टअपहरुमध्ये ६६ वटा कम्पनीको निर्माण गरेका छन् ।

त्यस्तै, दोस्रो नम्बरमा इजरायल रहेको छ । इजरायलबाट गएका आप्रवासीहरुले ५४ वटा बिलियन डलर कम्पनीको सुरुवात गरेका छन् ।

अमेरिकाको आर्थिक क्षेत्रमा बेलायतका आप्रवासीहरुको पनि २७ वटा युनिकोर्न कम्पनी छ । बेलायतबाट गएका आप्रवासीहरुले खुलेका २७ वटा स्टार्टअपहरु अहिले बिलियन डलर कम्पनी बनेका छन् ।

त्यस्तै, क्यानडाबाट गएका आप्रवासीहरुको २२, चीनबाट गएका आप्रवासीहरुको २१ , फ्रान्सबाट गएका आप्रवासीहरुको १८, जर्मनीबाट गएका आप्रवासीहरुको १५, रसियाबाट गएका आप्रवासीहरुको ११, युक्रेनबाट गएका अप्रवासीहरुको १० र इरानबाट गउका आप्रवासीहरुको ८ वटा स्टार्टअप कम्पनीहरु अहिले अमेरिकाका बिलियन डलर स्टार्टअप बनेका छन् ।

त्यस्तै, अन्य देशबाट अमेरिका गएर दुई वा दुई भन्दा धेरै बिलियन डलर कम्पनी बनाउनेमा इलन मस्क अगाडि छन् । मस्कको नाममा तीन वटा बिलियन डलर कम्पनी छ । टेस्ला, स्पेस एक्स र द बोरिङ कम्पनीका मालिक मस्क दक्षिण अफ्रिकाबाट अमेरिका पुगेका आप्रवासी हुन् ।

नुटानिक्स र कोहेसिटीका संस्थापक मोहित अरुन, एपडायनामिक्स र हार्नेसका संस्थापक ज्योती बन्सल, ब्लुमरिच र एडफोल्ड डट एआइका संस्थापक आशुतोष गर्ग र नुटाकिन्स र थटस्पोर्टका संस्थापक अजित सिंह ती भारतीयहरु हुन्, जसले अमेरिकामा गएर बिलियन डलरभन्दा धेरैको कम्पनी स्थापित गरेका छन् ।

यो सूचीमा एभान्टका संस्थापक एल गोल्डस्टेन, मोर्डेनाका संस्थपक नौबार अफेयान, इनारीका संस्थापक इग्नासिओ मार्टिनेज, डाटाब्रिक्सका संस्थापक आयोन स्टोइका र क्रेस्टाका संस्थापन सेबस्टियन थ्रुन रहेका छन् ।

नेसनल फाउन्डेसन फर अमेरिकी पोलिसीको उक्त रिपोर्टकाअनुसार अमेरिकामा आएर आप्रवासीहरुको स्थापित गरेको यस्ता कम्पनीहरुको हालको मूल्य १.३ ट्रिलियन अमेरिकी डलरभन्दा धेरै रहेको छ । आप्रवासीले नै सुरुवात गरेका स्पेस एक्स, स्ट्राइप, इन्स्टाकार्ट, एपिक गेम्सजस्ता कम्पनीहरु यो सुचिमा रहेका र धेरै मूल्य रहेका कम्पनीहरु हुन् ।


क्लिकमान्डु