स्वतन्त्र वा दलका खराब उम्मेदवारलाई छान्ने छुट यसपटक मदतालाई छैन



यस सांस्कृतिक नगरी र यहाँको सभ्यताको मुख्य आधार जात्रा, मठमन्दिर, हिती साथै नदी प्रणालीलाई मौलिकरुपमा ल्याउने प्रयत्न प्रशंसनीय छ, भन्दा ट्याग नलागोस् ।

करिब एक शताब्दिभन्दा धेरै समयपछि टुकुचाले घाम देख्न पाउला/नपाउला त्यो भविष्यको गर्भमा नै छ । तथापि हिती प्रणालीको मुख्य आधार मानिएका यस्ता नदी (पोखरी), प्रणालीहरुको बारेमा कदम चालिनुनै स्तुत्य छ ।

काठमाडौंका मेयर पदमा बालेको जितसँगै उनै बालेनको प्रतिच्छाया बनेर सयौं बालेनहरुको अबको यात्रा संसद् हुनुपर्छ भनेर लेखेको लेखउपर अहिले आएर संशयगत आशंका उत्पन्न भएको छ ।

जति धेरै प्रशंसनीय तथा काठमाडौंका आम जीवन सहज बनाउने प्रयास उन्मूख उत्कृष्ट कार्यहरु बालेनले गराइरहेका छन् त्योसँगै उनको कामको व्याजमा तथा धरानका हर्क राईको प्रतिच्छायाको खोल ओड्न तयार सयौं आकांक्षीहरुलाई पर्घेल्न यसपटक देशभरीका मतदाताहरुलाई फलामको चिउरा चपाए जस्तै हुनेछ ।

स्वतन्त्र उठ्नेहरु र दलका नेताहरुको उडन्ते भाषण र सामाजिक सञ्जालको भेलमा द्रविभूत हुने जनहरु इतरका अन्य मतदाताहरुलाई भने यस पटक साँच्चिकै गारो पर्ने छ । ति स्वतन्त्रका हुलबाट मन बचन र कर्मले स्वतन्त्र सांसद चुन्न यसपटक सहज छैन ।

कथमकदाचित् स्वतन्त्र वा दलकानै खराब नियतका मानिसहरु यसपटक चुनिए भने देश पुन: भ्रष्टहरुको रजगजमा थप भासिन विवश हुनेछ ।

दलका नेताहरुलाई मात्र रोक्नुपर्छ भनेर तयार पारिएको भाष्यको जालमा पर्ने धृष्टता गर्ने छुट आजका मतदातालाई छैन भनेर बुझ्न जरुरी छ ।

साथै स्वतन्त्रको खोल ओढेका र दलका नेताहरुको वेतुके अभिव्यक्तिमा द्रवीभूत हुने छुट पनि छैन । जातिय, धार्मिक, लैङ्गिक आदी जस्ता पहिचानको मुद्दालाई अघि सारेर वाक स्वतन्त्रताको लुकामारी खेल्न खप्पिसहरुबाट पनि यसपटक मतदाता जोगिनु पर्छ ।

त्यस्तै विकास र आधुनिकीकरणको दुहायी दिँदै प्राकृतिक परिस्थितिको चक्रलाई विनास गर्ने अभिशप्तहरुले निम्त्याउने ग्लोबल वार्मिङ जस्ता प्राकृतिक विनाश गर्ने अज्ञानी लक्ष्य भएकाहरुलाई पनि यस पटकको चुनावमा रोक्नु पर्ने नै छ । यसअर्थ यसपटक पनि मतदाताहरुलाई सजिलो छैन । खोल ओढेका मुकुण्डोहरुले चुनावको दिनसम्म मतदाताहरुलाई दिग्भ्रमित गरिरहने छन् ।

आज संविधान दिवसको दिन हामीले यो कुरा बुझ्न जरुरी छ । संविधान देशको मूल कानून हो । यसमा लेखिएका हरेक शब्दको ठूलो महत्व हुन्छ । यी सबै अक्षरहरु देश जनताको हित (विधिको शासन) हेतु प्रयोग हुनकै लागि भनेर संविधानका हरेक धाराहरुमा अकाट्य शब्दको रुपमा प्रयोग भएका हुन्छन् ।

कसैको लहडले यसलाई किमार्थ तोडमोड गर्नु स्वीकार्य हुन हुँदैन । आम जनताको हितमा संशोधन गर्न बाहेकको अवस्थामा यसलाई तोडमोड गरिनु हुँदैन ।

तसर्थ, संविधान सजावटको बस्तु वा किताब होइन । यसकारण यसलाई पूजनीय बनाउने नेताको भाषण होइन यसलाई कार्यान्वयनमा ल्याउन सक्ने ल्याकत भएका उम्मेदवार चाहे ति स्वतन्त्ररुपमा आएका हुन् वा कुनै अमुक दलबाट । कसैको प्रतिच्छायाँको खोल ओडेर आउने होइन, यस्तो कार्य त वर्षौदेखि दलहरुले गरिनै रहेका छन् । सबैमा संविधान दिवसको शुभकामना ।


क्लिकमान्डु