एभरेष्ट सुगरको व्यापार १ अर्ब ३७ करोड रुपैयाँको



काठमाडौं । एभरेष्ट सुगर तथा केमिकल इन्डष्ट्रिजको व्यापार उच्च हुँदा १५ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले सन् २०२२ मा १५ प्रतिशतले नाफा कमाएको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ३७ करोड १० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२१ मा ९३ करोड ५० लाख रुपैयाँ, सन् २०२० मा ३ अर्ब ४१ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा २ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सो रकमको व्यापार गर्दा सन् २०२१ मा ८ प्रतिशत, सन् २०२० मा ११ प्रतिशत र सन् २०१९ मा २ प्रतिशतले नाफा कमाएको थियो ।

दैनिक ५५ सय टन अफ क्यान पर डे (टीसीडी) उखु प्रशोधन गर्ने क्षमता रहेको कम्पनीले सन् १९९३ देखि निरन्तर चिनी उत्पादन गर्दै आएको छ । महोत्तरीको गौशालामा उद्योग रहेको कम्पनीमा सरफ परिवार र अग्रवाल परिवारको स्वामित्व छ ।

कम्पनी पूर्ण रुपमा किसानले उत्पादन गरेको उखु खेतीमा निर्भर छ । त्यसैले, कच्चा पदार्थको रुपमा प्रयोग हुने उखुको उत्पादनअनुसार नै कम्पनीको आम्दानी गर्छ ।

तर, पछिल्लो समय नेपालमा उखु खेती विस्तारै घट्दै गएको छ । किसानहरूलाई समयमै उखुको रकम भुक्तानी हुन नसक्दा, रासायनिक मल उच्च मूल्यसँगै नपाउने अवस्थाले गर्दा किसानहरूले उखु खेती कम गर्दै गएका छन् । खेती कम भएसँगै चिनी प्रशोधन गर्ने उद्योगहरू पूर्णक्षमतामा सञ्चालन हुन सकेको छैन । जसले गर्दा उद्योगको व्यापारमा निकै प्रभाव परेको कम्पनीको भनाइ छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १९ करोड ८९ लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागि १ अर्ब १६ करोड ६० लाख रुपैयाँ अर्थात् एफोर प्लसको रेटिङ गराएको छ ।


क्लिकमान्डु