महारानी एलिजाबेथको निधनले बेलायतको अर्थतन्त्रमा कस्तो असर गर्छ ?



एजेन्सी । बेलायतकी रानी एलिजाबेथको बिहीबार निधन भएको छ । लामो समयदेखि स्थास्थ्य समस्याका कारण अस्वस्थ्य उनको निधन भएको खबर बंकिङहम प्यालेसले बिहीबार राती पुष्टि गरेको थियो ।

बेलायतमा एलिजाबेथको साशनकाल ७० वर्षसम्म रह्यो । प्रत्यक्ष हुँदै अप्रत्यक्षरुपमा उनले बेलायतलाई नियालिन् । १४ जनासम्म बेलायती प्रधानमन्त्री र १३ जनासम्म अमेरिकी राष्ट्रपतिलाई उनले भेट्न पाएकी थिइन् । दोस्रो विश्वयुद्ध सुरु हुँदा उनी १३ वर्षकी थिइन् । दोस्रो विश्वयुद्धदेखि कोरोना महामारीहुँदै हालसम्म रानी एलिजाबेथको भौतिक उपस्थिति संसारमा थियो ।

तर, बिहीबार उनको निधन भएसँगै बेलायतको अर्थतन्त्रमा यसले असर गर्ने अनुमान गरिएको छ । बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने सम्राट र सात दशकसम्म राष्ट्रको नेतृत्व गर्ने महारानीको निधनपछि बिहीबार डलर र युरोको तुलनामा पाउण्डको भाउ घटेको छ ।

पाउण्ड यसअघि ०.३ प्रतिशतसम्म घटेर १.१५०३ अमेरिकी डलर बराबर भएको थियो । रानीको निधनको समाचारपछि भने त्यो १.१५१६ पुगेको छ । युरो पाउण्डको तुलनामा ०.१ प्रतिशत बढ्दै ८६.८५ को विन्दुमा पुगेको छ ।

देशको मुद्राको भाउमा उतारचढाव आएको देखिएपछि अमेरिकाको सेनफ्रान्सिस्कोस्थित ‘क्लारिटी एफएक्स’की निर्देशक आमो सहोता भने पाउण्डमा यो घण्टनाले खासै असर नगरेको मान्छन् । फाइनेन्सियल पोस्टसँग उनले बताएअनुसार बेलायती संस्कारमा रानीको भूमिका अतुलनिय भएतापनि राजनीतिकरुपमा भने उनको प्रभाव कम हुन्छ ।

उनी भन्छन्, ‘प्रधानमन्त्रीको वरिपरी पनि थुप्रै प्रश्नहरु छन् । यो सरकार अहिले नै पनि परवर्तनको अवस्थामा छ । तर, यसले त्यहाँको अर्थतन्त्रमा कुनै असर नगर्ला ।’

तर, बेलायती इतिहासमा रानी एलिजाबेथको शासनकाल स्वर्ण युगको रुपमा हेरिन्छ । पछिल्लो समय उनले ७० वर्षअघि साशनसत्ता सम्हाल्दाभन्दा मूल्यबृद्धि भएको पाइएता पनि विकास तथा अर्थतन्त्रमा बेलायतले हासिल गरेको उचाईका आधारमा भने उनको युग बेलायतको स्वर्ण युग हो ।

बेलायतको ‘ब्रिटिस साम्राज्य’ हुँदै अहिलेको अवस्थासम्म आइपुग्दा त्यहाँको अर्थतन्त्रमा थुप्रै परिवर्तन आएका छन् । १९५२ मा बेलायतको अवस्था फरक थियो । मानिसहरुले बेलायतको ६ पैसामा छुट्टिको दिन पबमा गएर रमाइलो गर्न सक्थे । सडक होस वा पबमा देखिने दृश्य पनि फरक थियो । मानिसहरु कोटपेन्ट लगाएर पब पुग्थे । प्रस्तुतीको शैलीदेखि खाने कुराको मूल्यमा पनि अहिले परिवर्तन भएको छ ।

एलिजाबेथ राती बन्दा मुद्रास्फीति ११.२ प्रतिशत थियो । अर्थशास्त्रीहरुले यो वर्ष पनि त्यही अवस्था देख्न सकिने अनुमान लगाएका छन् ।

उत्पादन क्षेत्रमा भएको विकासले बेलायतको अर्थतन्त्रलाई उठाएको त छ । तर, मूल्यवृद्धि तथा आर्थिक मन्दीका बीच बेलायतको अर्थतन्त्रमा अहिले भने उत्तिकै असर परेको पनि छ । कोरोना महामारीलगायतले गर्दा पनि बेलायतको त्यो बेलाको स्वर्ण युगको विरासत अहिले पाउन गाह्रो छ ।

एलिजाबेथकै युगमा बेलायत विश्वको वित्त केन्द्र बनेको छ । यहाँ उद्योगमा पाइने ७ प्रतिशत रोजगारी हाल बढेर ३० प्रतिशत पुगेको छ । घरको मूल्य त्यो बेला २ हजार पाउण्ड थियो । उक्त मूल्य अहिलेको अनुपातमा हेर्दा ६० हजार पाउण्ड हुनछ । तर, बेलायतको राष्ट्रिय निर्माण समाजकाअनुसार अहिले घरको मूल्य २ लाख ७० हजार पाउण्ड छ ।

७० वर्षको अवधीमा बेलायतले विश्वभर निर्यात गर्ने उत्पादन ९ प्रतिशतबाट २ प्रतिशतमा घटेर आएको छ । त्यो बेला ५ प्रतिशतमा भइरहेको मूल्यबृद्धि अहिले भने २४ प्रतिशतको अवस्थामा आइपुगेको छ । यो अवधीमा बेलायतको समग्र अर्थतन्त्रको आकारमा बृद्धि भएको भएतापनि उत्पादकत्वमा भने सुस्तता आएको छ ।

रानीको निधनले अर्थतन्त्रमा कस्तो असर गर्छ ?

देशको राजनीतिमा प्रत्यक्ष असर नगर्ने भएतापनि रानी एलिजाबेथको मृत्युले बेलायतलाई भावनात्मक र सांस्कृतिकरुपमा भने असर गर्छ ।

रानी एलिजाबेथको निधन हुनुभन्दा दुई दिनअघि मात्रै बेलायतले नयाँ प्रधानमन्त्री पाएको छ । बालबोरलमा रानी एलिजाबेले नयाँ प्रधानमन्त्री लिज ट्रस्सलाई स्वागत गरेकी थिइन् ।

एलिजाबेथको मृत्यु भएसँगै अबको १२ दिनसम्म उनको निधनको शोक मनाइन्छ । यो सबयमा बेलायतको करोडौं अर्थतन्त्रमा उतारचढाब आउँछ । १२ दिनसम्म बेलायतलाई ठप्प पार्दा बेलायतको अर्थतन्त्र पनि ठप्प हुनछ । उनको अन्त्येष्टि र त्यसपछि नयाँ राजाको राज्याभिषेकका लागि पनि औपचारिकरुपमा राष्ट्रिय विदा हुन्छन् ।

यी कार्यक्रमहरुले बेलायतको जिडिपीमा १.२ देखि ६ बिलियन पाउण्डसम्मको असर गर्छ । व्यापारदेखि सेयर मार्केटसम्म बन्द हुँदा यसले गर्ने असर पनि धेरै छ ।

बेलायतको नोटदेखि सैनिकको पोशाकसम्ममा रानीको तस्बिर अंकित छन् । अब उनको मृत्युपछि ती ठाउँमा नयाँ राजाको तस्बिर छापिनुपर्छ । यसमा पनि करोडौंको खर्च आउँछ ।

तर, यो तत्कालै देखिने खर्च वा असर हो । एलिजाबेथको मृत्यु बेलायतका लागि दोस्रो विश्वयुद्धको अन्त्यपछि भएको सबैभन्दा दुःखद घटना हो । यो घटनाको असर भने दीर्घकालिन पनि देखिन्छ ।

रानीको मृत्युसँगै ५३ देशहरुको संगठन ‘कमनवेल्थ’, जसमध्ये १६ देशको प्रमुख रानी नै थिइन्, त्यो पनि अब नरहने सम्भावना छ । पहिले बेलायती साम्राज्य रहेका यी देशहरुले एकअर्काको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याएका छन् । तर, अब भने यो संगठन नै नहुने सम्भावना छ ।

बेलायतको साम्राज्य अहिलेको अवस्थामा व्यापार र राजनीतिक संगठनमा आधारित छ । केहीमा मात्रै औपचारिक शासन र शक्ति भएतापनि सम्पूर्ण पक्ष अर्थतन्त्रसँग सम्बन्धित रहेर सञ्चालन भइरहेको छ ।

तर, पछिल्लो समय यीमध्ये धेरै देशहरु या संगठनबाट बाहिर निस्किएका छन् । एलिजाबेथको मृत्युसँगै अब या संगठनमा बाँकी रहेका देशहरुले पनि स्वतन्त्रता रोज्न सक्ने अनुमान गरिएको छ । यसले प्रत्यक्षरुपमै बेलायतको व्यापार र अर्थतन्त्रमा असर गर्नेछ ।


क्लिकमान्डु