स्वास्थ्य बीमामा २३ अर्ब बढी भुक्तानी, चालु आवमा बोर्डले पठायो २ अर्ब ६७ करोड



काठमाडौं । स्वास्थ्य बीमामा कार्यक्रम शुरूवात भएको मितिदेखि हालसम्म २३ अर्ब रूपैयाँ भन्दा बढी भुक्तानी भएको छ ।

गत आवसम्ममा स्वास्थ्य बीमा बोर्डले २१ अर्ब रूपैयाँ भुक्तानी गरेको थियो । बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक संस्थाहरूलाई २ अर्ब ६७ करोड रूपैयाँ पहिलो दाबी भुक्तानी रकम पठाएको छ । चालु आवमा पठाएको रकमसहित हालसम्म बोर्डबाट २३ अर्ब रूपैयाँ भन्दा धेरै भुक्तानी भएको हो ।

चालु आवमा बोर्डले बोर्डमा आवद्ध भएका विभिन्न सेवा प्रदायक संस्थाहरूलाई २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रूपैयाँ भुक्तानी गरेको हो ।

बोर्डको भदौं २० गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निणर्य गरेको थियो ।

बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रूपमा शुरूवात भएको थियो । हाल यस कार्यक्रम स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका यी सेवा प्रदायक संस्थाहरूले बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछन् ।

हाल बोर्डसँग ४४९ वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत छन् ।

बोर्डकाअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आकस्मिक पेस्की फर्छौट गरिएको हो ।

बोर्डसँग सम्झौता भएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा पुर्याएका सेवाग्राहीको उपचार प्याकेजसहित एक हप्ताभित्र निर्दिष्ट गरिएको ढाँचामा दाबी प्रविष्ट हुने गरेको र त्यसको समीक्षा÷मूल्याङ्कन पश्चात् बोर्डबाट दाबीको भुक्तानी गर्ने प्रक्रिया अवलम्वन गरिन्छ ।

बोर्डसँग सम्झौता भएका सूचीकृत स्वास्थ्य संस्थाहरूले कार्यक्रममा बीमित सदस्यहरूलाई सेवा प्रदान गरे बापतको लागत रकम माग दाबी गर्न बोर्डको बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत पठाउँछन् ।

भुक्तानीको लागि प्राप्त दाबीहरू मूल्यांकन र सूचना प्रविधि शाखाबाट थप मूल्यांकन सहितको प्रतिवेदनका साथ भुक्तानीका लागि बोर्डका कार्यकारी निर्देशकसमक्ष पेश हुने र आवश्यक प्रक्रिया पुर्याई बैंकिङ प्रणालीमार्फत सम्बन्धीत सेवा प्रदायक संस्थालाई भुक्तानी हुन्छ ।

स्वास्थ्य बीमा कार्यक्रममा परिवारलाई इकाईको रूपमा मानिन्छ र परिवारको योगदानको आधारमा स्वास्थ्य सेवा प्रवाह र उपभोग हुने गर्छ । प्रतिपरिवार (५जनासम्म) ३५ सय रूपैयाँ योगदानको आधारमा १ लाख रूपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा र थप परिवार सदस्य ७ सय रूपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार रूपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाख रूपैयाँ (१० जनाको परिवार सदस्य) सम्म रहेको छ ।

यस कार्यक्रम हालसम्म देशका ७७ वटै जिल्लामा विस्तार भएको छ । ७४६ वटा स्थानीय तहमा पुगेको यस कार्यक्रममा हालसम्म ५९ लाख ७५ हजार ३२३जना बीमित सहभागी भएका छन् । कार्यक्रम विस्तार हुन बाँकी रहेका स्थानीय तहमा पनि चाडै सेवा पुर्याउने बोर्डको योजना छ ।


क्लिकमान्डु