भारततर्फ भटमासको तेल निर्यात हुन थालेपछि उद्योगको व्यापार चम्कियो, एकैवर्ष ९ कम्पनीले गरे ५० अर्ब आम्दानी



काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डमा खाने तेल बेच्ने ९ वटा कम्पनीले एकैवर्ष ५० अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । कम्पनीहरूले सन् २०२१ मा ५० अर्ब १५ करोड ७० लाख रुपैयाँको व्यापार गरेका छन् ।

कम्पनीहरूले कर्जाका लागि रेटिङ गराई सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा विगतको वर्षहरूको तुलनामा उच्च व्यापार गरेको देखाउँछ ।

नेपालका तेल उद्योग कम्पनीहरूले विभिन्न देशबाट कच्चा तेल आयात गरी प्रशोधन तथा प्याकेजिङ गर्दै बजारमा बिक्री वितरण गर्दै आएका छन् । उक्त उद्योगहरू आन्तरिक बजारमा मात्रै नभएर निर्यातमा समेत संलग्न छन् ।

पछिल्लो समय नेपालबाट भारततर्फ उच्च खाने तेल निर्यात हुन थालेपछि तेल उद्योगहरूको व्यापार चम्किएका छन् । हाल नेपालमा भएका ठूला तेल उद्योगहरूले कच्चा पदार्थ आयात गरी प्रशोधन गर्दै भारततर्फ ठूलो परिमाणमा तेल निकासी गर्दै आएका छन् । जसले गर्दा अधिकांश तेल उद्योगको व्यापारमा उछाल आएको छ । विगतको दिनमा पाम तेल निर्यात हुँदै आएकोमा अहिले उच्च रुपमा भटमासको तेल निर्यात हुने गरेको छ ।

उद्योगीहरूले क्यानाडा, अमेरिका, मलेसिया, इन्डोनेसियाबाट आयात गरी आपूर्ति गर्दै आएका छन् । जसमा नेपाल पूर्ण रुपमा कच्चा पदार्थमा तेस्रो मुलुकमा भर पर्नुपर्ने अवस्था रहेको छ ।

भारत सरकारले कच्चा तेल आयातमा उच्च अन्तशुल्क लगाएसँगै भारतले नेपालबाट प्रशोधन तेल आयात गर्दै आएका छन् । तर, पछिल्लो समय भारत सरकारले भन्सार शुल्क घटाएको र नेपालले कच्चा पदार्थमा भन्सार शुल्क बढाउँदा असर परेको कम्पनीहरूको भनाइ छ ।

नेपाली उद्योगीहरूले नेपाल सरकारले कायम गरेको कम अन्तशुल्कमा कच्चा तेल आयात गर्दै प्रशोधन गरी नेपालबाट भारतमा साफ्टामार्फत् निर्यात गर्दै आएका छन् ।

नेपालबाट गत वर्ष मात्रै भारततर्फ ९३ अर्ब ७२ करोड ९५ लाख रुपैयाँको ४१ करोड ६६ लाख ६९ हजार लिटर भटमास, पाम, सन्फ्लावर र तोरीको तेल निर्यात गरेको छ ।

त्यसैगरी, सार्वजनिक विवरणमा पनि भटमासको तेल उच्च निर्यात हुन थालेपछि व्यापार उछाल आएको उल्लेख छ ।

संकलित तथ्याङ्कअनुसार सन् २०२१ मा अन्नपूर्ण भेजिटेकल प्रोडक्ट प्रालि, नारायणी आयल रिफाइनरी उद्योग प्रालि, बाबा भेजिटेबल आयल इन्डष्ट्रि, सुशिल वनस्पति प्रालि, कालिका रिफाइनरी प्रालि, जनकपुर रिफाइनरिज प्रालि, बागमती आयल इन्डष्ट्रि, स्वास्तिक आयल इन्डष्ट्रि प्रालि र सौरभ आयल एण्ड एग्रो इन्डष्ट्रिजले ५० अर्ब रुपैयाँ बढीको व्यापार गरेका हुन् ।

कुन कम्पनीको व्यापार कति ?

अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालिः अमृतसहित अन्य दुई वटा ब्रान्डमा तेल बेच्ने अन्नपूर्ण भेजिटेबल प्रोडक्ट कम्पनीले सन् २०२१ मा ११ अर्ब ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा ६ अर्ब ९७ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ४३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ११ महिनाको अवधिमा १२ अर्ब १९ करोड रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । देशभर अमृत, सनस्टार र रानी ब्रान्डमा सोयाबिन, पामोलिन तथा सनफ्लावर तेल तथा घिऊ बिक्री वितरण गर्दै आएको कम्पनीको व्यापार सन् २०२१ मा ५८ प्रतिशतले बढेको छ ।

संघाई परिवारबाट सञ्चालित यस कम्पनीले आन्तरिक बजारमा तेल बिक्री वितरणसँगै निर्यात गर्दै आएको छ । पछिल्लो समय निर्यात बढेसँगै व्यापारमा उछाल आएको कम्पनीको भनाइ छ । साथै, कम्पनीले सो अवधिमा १३.११ प्रतिशतले नाफा कमाएको जनाएको छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गर्दै बजारमा बिक्री वितरणसँगै निर्यात गर्दैछ । कम्पनीले कच्चा भटमासको तेल, पामोलिन तेल र सन्फ्लावर तेल विभिन्न देशबाट आयात गर्दै आएका छन् । कम्पनीअनुसार सोयाबिन/पामोलिन/सनफ्लावर तेल वार्षिक ६० हजार मेट्रिक टन, वनस्पति घ्यू ७ हजार मेट्रिक टन र १० हजार मेट्रिक टन प्रशोधन क्षमता रहेको जनाएको छ ।

नारायणी आयल रिफाइनरी उद्योग प्रालिः नारायणी आयल रिफाइनरी उद्योगको व्यवसाय २ वर्षमा करिब दोब्बर भएको छ ।

कम्पनीकाअनुसार सन् २०१९ मा कुल ५ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२१ सम्म आइपुग्दा ९८.८ प्रतिशतले वृद्धि गरी १० अर्ब ७४ करोड १० लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले सन् २०२० को तुलनामा भने सन् २०२१ मा ३१.८ प्रतिशतले कारोबार बढाएको छ । कम्पनीले सन् २०२० मा ८ अर्ब १६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२२ को पहिलो ६ महिनामा ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जसमध्ये ४ अर्ब ९ करोड ६० लाख रुपैयाँ तेल निर्यातबाट मात्रै आम्दानी गरेको छ ।

कम्पनीले क्रुड सोयाबिन, पाम आयल, सनफ्लावर र क्रुड पाम आयलका लागि विभिन्न देशबाट कच्चा पदार्थ आयात गर्दै आएको छ । कम्पनीका अनुसार सञ्चालन आम्दानीमा कच्चा पदार्थको हिस्सा ८३ प्रतिशत छ । कम्पनीले सनफ्लावर, सोयाबिन र तोरीको तेल बिक्री गर्दै आएको छ । कम्पनीअनुसार सन् २०२१ मा भारतमा अत्यधिक मात्रामा सोयाबिन तेल निर्यात गरेको जनाएको छ । जसका कारण आम्दानीमा उल्लेख वृद्धि भएको हो ।

कम्पनीको कुल आम्दानीमा सोयाबिन तेलबाट हुने आम्दानीको हिस्सा ५२ प्रतिशत जबकी सोयाबिन तेल निर्यातको हिस्सा ७० प्रतिशत छ । चाचन फ्यामिली ग्रुपद्वारा सञ्चालित यस कम्पनीको बोर्ड समितिमा ६ जना सदस्य छन् ।

कम्पनीले उद्योगको प्लान्ट बारा जिल्लामा छ । कम्पनीले सन् २०२१ मा गरेको कुल आम्दानीको ४४ प्रतिशत हिस्सा भारतमा गरिएको निर्यातबाट प्राप्त गरेको थियो । कम्पनीले भारतमा पनि विशेष गरी पश्चिम बंगाल, बिहार, उत्तरप्रदेश, राजस्थान र दिल्लीमा उत्पादन निर्यात गर्दै आएको छ ।

कम्पनीले त्रिशक्ती, स्माइल, आरोग्य, श्री, निलमणी, कुन्दन र निलकमल ब्राण्डमा आन्तरिक बजारमा तेल बिक्री गर्दै आएको छ । कम्पनीले वार्षिक १ लाख १७ हजार मेट्रिक टन तेल प्रशोधन गर्दै आएको छ ।

बाबा भेजिटेबल आयल इन्डष्ट्रिज प्रालिः बाबा भेजिटेबल आयल इन्डिस्ट्रिजले सन् २०२१ मा ५ अर्ब ५१ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा ३ अर्ब ९ करोड २० लाख रुपैयाँ र सन् २०१९ मा २ अर्ब १७ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

भटमासको तेल, पामोलिन तेल, सन्फ्लावर तेल र पाम तेल गरी वार्षिक ४५ हजार मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले ‘सिद्ध बाबा’ ब्रान्डका तेल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले भारतमा पनि निर्यात गर्दै आएको छ ।

सन् १९९३ देखि तेल प्रशोधन गरी बिक्री वितरणमा संलग्न कम्पनी देबेनारा ग्रुपद्वारा सञ्चालित कम्पनी हो । प्रकाशकुमार मुन्डारा र सुरेशकुमार राठी बोर्ड सदस्य रहेको कम्पनीले सन् २०२१ मा आम्दानी गरेकाेमध्ये ७१ प्रतिशत हिस्सा निर्यातबाट गरेको जनाएको छ ।

सन् २०२१ मा कम्पनीको व्यापार ७८ प्रतिशतले बढेको छ । जसमा कम्पनीलले १२.५० प्रतिशतले नाफा कमाएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा तेल आयात गरी प्रशोधन गर्दै आएको छ ।

सुशिल वनस्पति प्रालिः बजारमा राजहंस ब्रान्डको तेल बिक्री वितरण गर्ने सुशिल वनस्पतिले सन् २०२१ मा करिब ७ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ६ अर्ब ९३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हाे। केडिया ग्रुपद्वारा सञ्चालित यस कम्पनीको आम्दानी सन् २०२१ मा ६४.२१ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ९३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२० मा कम्पनीले ४ अर्ब २२ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०१९ मा ३ अर्ब ३४ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा १ अर्ब ९४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

करिब ३ दशकदेखि कच्चा तेल आयात गर्दै प्रशोधन गरी बिक्री वितरण गर्दै आएकाे छ। जसमा भारत र नेपाल गरी कम्पनीको २५० वितरक छन् । नेपालमा पछिल्लो समय बढ्दो शहरीकरणले गर्दा बजारमा उच्च तेलको माग हुने र उत्पादन कम हुँदा कम्पनीले आयात गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले पामोलिन तेल, भटमास र सनफ्लावर तेल निर्यात गर्दा निरन्तर २०१८ देखि २०२१ सम्ममा उच्च बिक्री वितरण गरेको छ ।

कम्पनीले प्रशोधित पामोलिन, भटमास र सन्फ्लावर तेलको बिक्री वितरणबाट ९० प्रतिशत आम्दानी गरेको जनाएको छ । जसमा कम्पनीले सन् २०२१ मा ६१ प्रतिशत उत्पादन निर्यात गरेको उल्लेख छ । साथै, सन् २०२१ मा ११५ प्रतिशतले निर्यात बढेको कम्पनीको भनाइ छ ।

नेपालले अधिकांश कच्चा तेल आयात गरी आन्तरिक बजार र निर्यात गर्दै आएका छन् । कम्पनीले कच्चा तेल क्यानाडा, अमेरिका, अर्जेन्टिना, मलेसिया र इन्डोनेसियाबाट आयात गर्ने गरेको छ ।

सन् १९८८ मा स्थापना भएको कम्पनीले आन्तरिक बजारमा आपूर्तिसँगै निर्यात गर्दै आएका छन् । ५० प्रतिशत शेयर रहेको रतनलाल केडिया कम्पनीका अध्यक्षसँगै प्रबन्ध निर्देशक पनि हुन् । त्यसैगरी मयंक केडिया र आदित्य केडियाको २५/२५ प्रतिशत शेयर रहेको छ ।

कालिका रिफाइनरी प्रालिः सन् २०१९ मा स्थापना भएको कालिका रिफाइनरी कम्पनीले सन् २०२१ मा ४ करोड २० लाख रुपैयाँ (अपरिष्कृत को व्यापार गरेको छ । कम्पनीले सन्फ्लावर, भटमास र तोरीको तेल प्रशोधन गरी बेला, अम्बे र एग्रो गोल्ड ब्रान्डमा तेल बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले अहिले दैनिक १ सय मेट्रिक टन तेल उत्पादन गर्दै आएको छ । दिपकप्रसाद सापकोटा, मदन सापकोटा र कुशुम कडेल सापकोटाको स्वामित्व रहेको कम्पनीले सन् २०२२ मा ७० करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले अर्जेन्टिना, युक्रेन, रसिया, ब्राजिलबाट कच्चा तेल आयात गरी प्रशोधन गर्दै आएको छ ।

जनकपुर रिफाइनरिज प्रालिः सन् २०१९ मा स्थापना भएको जनकपुर रिफाइनरिज कम्पनीले सन् २०२१ मा ३० करोड ५० लाख (अपरिष्कृत) रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन्फ्लावर तेल, पाम तेल र भटमास तेल सम्पूर्ण ब्रान्डमा तेल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गर्दै प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

विश्वनाथप्रसाद शाहको २३.९ प्रतिशत, रैशा थिब्रेवालको ३२.६ प्रतिशत, करणप्रताव शाहको २३.९ प्रतिशत र भिनित अग्रवालको १९.६ प्रतिशत स्वामित्व रहेको कम्पनीले दैनिक १ सय मेटिन्क टन तेल प्रशोधन गर्दै आएको छ ।

बागमती आयल इन्डष्ट्रिजः बागमती आयल इन्डष्ट्रिजले सन् २०२१ मा २ अर्ब ५० करोड २० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ९५ करोड ८० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ७७ लाख र सन् २०१८ मा १ अर्ब ६४ करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो ।

बागमती ग्रपद्वारा सञ्चालित कम्पनीले सेल्लो ब्रान्मा सन्फ्लावर तेल र भटमासको तेल बिक्री वितरण गर्दै आएको छ । सकेट राठीको ६० प्रतिशत, मनोजकुमार टपरीयाको ६ प्रतिशत र अनिलकुमार अग्रवालको ३४ प्रतिशत स्वामित्व रहेको कम्पनीको सन् २०१९ देखि वार्षिक व्यापार १९ प्रतिशतले वृद्धि भइरहेको जनाएको छ ।

कम्पनीअनुसार सन् २०२१ मा आम्दानी गरेकोमध्ये ८३ प्रतिशत सन्फ्लावर तेलको हिस्सा छ भने भटमासको तेलको हिस्सा १३ प्रतिशत छ । त्यसमा ३ प्रतिशत हिस्सा भने निर्यातको छ । कम्पनीले सन् २०२१ मा १०.२ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गर्दै आएको छ ।

स्वास्तिक आयल इन्डष्ट्रि प्रालिः स्वस्तिक ब्रान्डमा विभिन्न प्रकारका तेल बेच्ने स्वस्तिक तेल उद्योगले सन् २०२१ मा ११ अर्ब १० करोड रुपैयाँको व्यापार गरेको छ । केएल दुगडद्वारा सञ्चालित स्वस्तिक तेल कम्पनीले सन् २०२२ को १० महिनामै ११ अर्ब ७७ करोड ४० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा ८ अर्ब २ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८४ मा दर्ता भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन तथा प्याकेजिङ गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । मोरङ नेपालमा उद्योग भएको कम्पनीले सोयाबिन, पाम, सन्फ्लावर र वनस्पति घ्यू उत्पादन गरी वार्षिक १ लाख ३५ हजार मेट्रिक टन उत्पादन गर्दै आएको छ भने १० हजार मेट्रिक टन तोरीको तेल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले तेल तथा घ्यू उत्पादनका लागि आवश्यक कच्चा पदार्थ विभिन्न दशेबाट आयात गरी बिक्री वितरण गर्दै आएको छ । विकास दुगड अध्यक्ष रहेको यस कम्पनीमा दुगड ग्रुपको पूर्ण स्वामित्व रहेको छ ।

दुगड ग्रुपले देशभर १८० वटाभन्दा बढी वस्तु बिक्री वितरण गर्दै आएको छ । जसमा ग्रुपले चामल, दाल, खाद्यान्न, बच्चाको खाना, मसला, चिया, पिठो, तेल र अन्य विभिन्न प्रकारका खाद्यान्न बिक्री वितरणमा संलग्न छ ।

कम्पनीले आन्तरिक बजारमा वस्तु बिक्री गर्नुका साथै भारतमा मोहन धारा र नोरिस ब्रान्डमा तेलजन्य वस्तु निर्यात गर्दै आएको छ ।

कम्पनीले सन् २०२१ मा १३.८४ प्रतिशतले नाफा कमाएको छ । साथै, कम्पनीले आम्दानी गरेकोमध्ये ४१ प्रतिशत हिस्सा निर्यातको छ । साथै, कम्पनीले सन् २०२२ को १० महिनाको अवधिमा ४ अर्ब ९७ करोड ७० लाख रुपैयाँको निर्यात गरेको जनाएको छ ।

सौरभ आयल एण्ड एग्रो इन्डष्ट्रिः केएल दुगडद्वारा नै सञ्चालित अर्को कम्पनी सौरभ आयल एण्ड एग्रो इन्डष्ट्रिले पनि सन् २०२१ मा उच्च व्यापार गरेको छ । कम्पनीले सन् २०१९ मा ९७ करोड २० लाखको व्यापार गरेको थियो भने सन् २०२० मा १ अर्ब ३० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२१ मा कम्पनीले १ अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

धारा र ज्ञान ब्रान्डमा तोरीको तेल र ज्ञान ब्रान्डमा विभिन्न प्रकारका खाद्यान्न प्रशोधन गरी विक्री वितरण गर्दै आएको कम्पनीको उद्योग कोहलपुर बाँकेमा छ । कम्पनीले वार्षिक १० हजार ५ सय मेट्रिक टन तेल, १४ हजार४ सय मेट्रिक टन खाद्यान्न र ९ हजार ८ सय मेट्रिक टन आयल केक उत्पादन गर्दै आएको छ ।

कम्पनीले सन् २०२० देखि ज्ञान ब्रान्डमा फुड प्रोडक्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । सो क्षेत्रबाट कम्पनीले सन् २०२१ मा ४८ प्रतिशत आम्दानी गरेको छ ।

त्यसैगरी, कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गर्दै आएको छ छ । त्यसमा सरकारले यो वर्ष कच्चा पदार्थको आयातमा १९ प्रतिशत भन्सार शुल्क बढाएर १५ प्रतिशत कायम गरेको छ । उक्त भन्सार शुल्कले गर्दा तोरीको दाना आयातमा असर देखिएको कम्पनीको भनाइ छ । त्यस्तै, कम्पनीले अधिकांश तोरीबाट उत्पन्न भएको केक ३२ प्रतिशत भारतमा निर्यात हुने गरेको जनाएको छ ।

सौरभ उद्योगअन्तर्गत तोरीको सेग्मेन्टबाट सन् २०२२ को ११ महिनामा ६७ प्रतिशत आम्दानी गरेको कम्पनीको भनाइ छ । सन् २०२० मा ८० प्रतिशत आम्दानी गरेको थियो ।

साढे ३१ अर्बको रेटिङ

सन् २०२१ मा ५० अर्बको व्यापार गरेको ९ वटा तेल उद्योगले साढे ३१ अर्बको रेटिङ गराएका छन् । कम्पनीहरूले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ३१ अर्ब ४८ करोड २० लाख रुपैयाँको रेटिङ गराएका छन् ।

अन्नपूर्ण भेजिटेकल प्रोडक्टले ५ अर्ब १४ करोड ५० लाख रुपैयाँ, नारायणी आयल रिफाइनरी उद्योगले ५ अर्ब २१ करोड रुपैयाँ, बाबा भेजिटेबल आयल इन्डष्ट्रिले ७६ करोड रुपैयाँ र सुशिल वनस्पतिले १ अर्ब ८३ करोड रुपैयाँको रेटिङ गराएका छन् ।

त्यस्तै, कालिका रिफाइनरीले २ अर्ब १५ करोड रुपैयाँ, जनकपुर रिफाइनरिजले २ अर्ब रुपैयाँ, बागमति आयल इन्डष्ट्रिले १ अर्ब ८१ करोड ९० लाख रुपैयाँ, स्वास्तिक आयल इन्डष्ट्रिले १० अर्ब ४६ करोड ८० लाख रुपैयाँ र सौरभ आयल एण्ड एग्रो इन्डष्ट्रिजले २ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएका छन् ।


अरिष्मा मोक्तान