गत वर्षभन्दा धेरै क्षेत्रफलमा धान रोपाइँ, तर अनुपातमा कम



काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष धेरै क्षेत्रफलमा धान रोपिएको छ । कृषि विभागकाअनुसार यो वर्ष देशभर १४ लाख १७ हजार १३१.९३ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो । यो वर्ष देशभर १५ लाख ४ हजार ४८६.४२ हेक्टर जमिन रोपाइँ हुन योग्य क्षेत्रफल थियो । देशभर रहेको कुल धान रोपाइँ हुने क्षेत्रफलमध्ये ९४.२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको कृषि विभागको तथ्यांकमा छ ।

गत आर्थिक वर्षको साउन २८ गतेसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलमध्ये ९७.८९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको थियो । गत वर्ष १३ लाख ७१ हेक्टर ७०६ हेक्टर मध्ये १३ लाख ४२ हजार २८१.९४२ हेक्टरमा धान रोपाइँ भएको थियो ।

तर, यो वर्ष धान रोप्न योग्य क्षेत्रफल र धान रोपिएको क्षेत्रबीचको अनुपात ३ प्रतिशत बढी घेटेको छ । उक्त प्रतिशत घटेर ९४.२ प्रतिशतमा मात्रै धान रोपाइँ भएको हो ।

देशभर धान रोपाइँ हुने जमिनको क्षेत्रफलमा बृद्धि भए पनि धान रोपाइँ भएको अनुपातमा भने कमी आएको हो । गत वर्षभन्दा यो वर्ष १ लाख ३२ हजार ७८३.४२ हेक्टर बढी जमिन धान रोपाइँ हुने क्षेत्रफलका रुपमा रहेको थियो । जसमध्ये गत वर्षभन्दा यो वर्ष ७४ हजार ३११.९९ हेक्टर बढी जमिनमा धान रोपिएको थियो । तर, गत वर्ष धान रोपाइँका लागि योग्य रहेका जमिन र धान रोपाइँ भएको जमिनबीचको अनुपातका आधारमा भने यो वर्ष कम धान रोपिएको छ ।

कुन प्रदेशमा कति क्षेत्रमा रोपियो धान ?
कृषि विभागका अनुसार यो वर्ष देशभरका सातमध्ये सबैभन्दा धेरै धान सुदूरपश्चिम प्रदेशमा रोपिएको छ । विभागले साउन २९ सम्म विभिन्न प्रदेशमा रोपिएका धानको विवरणकाअुनसार सुदूरपश्चिम प्रदेशमा ९९.२ प्रतिशत धान रोपिएको हो । धान रोपाइँ हुने कुल क्षेत्रफल १ लाख ७८ हजार १६७ हेक्टर मध्ये १ लाख ७६ हजार ७३३ हेक्टरमा साउन १७ मै ९९.२ प्रतिशत धान रोपिएको हो । यो वर्षको रोपाइँअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ९९.२ प्रतिशत रोपाइँ भएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, कर्णाली प्रदेशमा यो वर्ष ९८.५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । कुल धान रोपाइँ हुने क्षेत्रफल ३८ हजार ८८६ हेक्टरमध्ये ९८.५ प्रतिशतअर्थात् ३८ हजार ३१६ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा पनि धान रोपाइँ हुने कुल क्षेत्रफल ३ लाख २० हजार २७.४२ हेक्टर जमिनमध्ये ९०.६ प्रतिशतअर्थात २ लाख ९० हजार १२६.६२ हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।

गण्डकी प्रदेशमा पनि कुल धान रोपाइँ हुने क्षेत्रफल १ लाख ३१० हेक्टरमध्ये ९७.२ प्रतिशतअर्थात् ९७ हजार ५०६.६ हेक्टर जमिनमा योल वर्ष धान रोपाइँ भएको छ । त्यस्तै, बागमती प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ९७.३ प्रतिशत जमिनमा यो वर्ष धान रोपिएको छ ।

१ लाख २० हजार ५६९ हेक्टर जमिनमध्ये १ लाख १७ हजार २६९.३ हेक्टर जमिनमा यो वर्ष धान रोपाइँ भएको हो । मधेश प्रदेशमा पनि कुल धान रोपाइँ हुने क्षेत्रफलको ९३.३ प्रतिशत धान रोपाइँ भएको छ । यो वर्ष ४ लाख ५४ हजार ५० हेक्टर धान रोपाइँ हुने जमिनमध्ये ३ लाख ७८ हजार ३५६ हेक्टर जमिनमा धान रोपाइँ भएको हो । त्यस्तै, प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टर धान रोपाइँ हुन जमिनमध्ये ९३.५ प्रतिशतमा धान रोपिएको छ ।

गत वर्ष देशभरका सातमध्ये कर्णाली प्रदेशमा शत प्रतिशत धान रोपाइँ भएको थियो । त्यस्तै, प्रदेश १ मा ९६.८६ प्रतिशत, मधेश प्रदेशमा ९६.८० प्रतिशत, बागमतीमा ९८.०८ प्रतिशत, गण्डकीमा ९८.६४ प्रतिशत, लुम्बिनीमा ९८.९५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९.०६ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको थियो ।

२१ जिल्लामा शतप्रतिशत धान रोपाइँ

यो वर्ष देशभरका २१ जिल्लामा भने शतप्रतिशत धान रोपाइँ भएको छ । प्रदेश १ का दुई, बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशका चार जिल्लामा शतप्रतिशत धान रोपाइँ भएको छ ।

प्रदेश १ मा शत प्रतिशत धान रोपाइँ भएका दुई जिल्लाहरुमा सोलुखुम्बु र ओखलढुङ्गा रहेका छन् । यी दुवै जिल्लामा धान रोपाइँ हुने सम्पूर्ण क्षेत्रमा यो वर्ष धान रोपिएको छ । दुई जिल्लामा क्रमशः १५२५ हेक्टर र ४४०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

त्यस्तै, बागमती प्रदेशमा धादिङ्ग, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवनमा शतप्रतिशत धान रोपाइँ भएको छ। यी जिल्लाहरुमा क्रमशः १११५९ हेक्टर, ५९५९ हेक्टर, ३९२५ हेक्टर, ४१७५ हेक्टर, ११००० हेक्टर र २२९७७ हेक्टर जमिनमा धान रोपाइँ भएको हो । गण्डकी प्रदेशमा पनि म्याग्दी, स्याङ्जा, बाग्लुङ्ग र नवलपुरमा शतप्रतिशत धान रोपाइँ भएको छ । यी जिल्लाहरुमा क्रमशः ३८३० हेक्टर, १५०६६ हेक्टर, ५७०७ हेक्टर र १८८१६ हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।
लुम्बिनी प्रदेशमा भने बर्दिया जिल्लामा मात्रै शतप्रतिशत धान रोपाइँ भएको छ । बर्दियामा कुल धान रोपाइँ हुने क्षेत्रफल ५० हजार २५० हेक्टरमध्ये सम्पूर्ण क्षेत्रमा धान रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा शत प्रतिशत धान रोपाई भएको छ । यी क्षेत्रमा कुल धान रोपाई हुने क्षेत्रफलमध्ये सम्पूर्णमा धान रोपाइँ भएको छ । यी जिल्लाहरुमा क्रमशः २८०० हेक्टर, २५२७ हेक्टर, ९१५ हेक्टर, २०१ हेक्टर, ५५५ हेक्टर, १७७३ हेक्टर र २८४५ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ ।

त्यस्तै, सुदरपश्चिम प्रदेशमा शत प्रतिशत धान रोपाइँ भएका चार जिल्लाहरुमा दार्चुला, बझाङ्ग, बाजुरा र कञ्चनपुर रहेका छन् । यी जिल्लाहरुमा क्रमशः ४४८० हेक्टर, १२७०४ हेक्टर, ६९१५ हेक्टर र ४८४९६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।


क्लिकमान्डु