५० करोड लगानीमा तीन युवाले खोले दाल उद्योग



विराटनगर । सुनसरी खनारमा प्रदेश १ कै पहिलो र पुरानो दाल उद्योग छ ‘न्यूट्री फुड’ । दोस्रो दाल उद्योग आउन भने लामो समय कुर्नु पर्यो ।

यसै महिना बिराटनगरका तीन युवाले शुरु गरेका छन् उपहार दाल उद्योग । ‘मेरो देश मेरै उत्पादन’ नारा दिएर विराटनगरबाट १५ किलोमिटर उत्तर मोरङको बुढीगंगामा खुलेको यो उद्योग प्रदेश १ कै दोस्रो दाल उद्योग बनेको छ ।

एक वर्षअघि डेढ बिघा क्षेत्रफलमा स्थापना गरिएको उद्योगले दाल उत्पादन भदौ दोस्रो सातादेखि शुरु गरेको छ ।

जैन फुड्स प्रोसेसिङ कम्पनीले उपहार प्रिमियम (ब्राण्ड)नाम दिएर दाल बजारमा ल्याएको हो । यस उद्योगमा चन्दन जैन, पंकज दुगड र संचिता जैन गरी तीन साझेदार संलग्न छन् । उनीहरू विराटनगरका सक्रिय युवा उद्यमी हुन् ।

सञ्चालकका अनुसार उपहार दाल उद्योगमा ५० करोड रूपैयाँ लगानी लागेको छ ।

उद्योगले ५ प्रकारका दालहरू उत्पादन गर्छ । मुसुरो, मुङ, मास, चना र मटरका दाल मुख्य उत्पादन हुन् । यी दालहरु यही महिनादेखि बजारमा आएका छन् ।

देशभित्र बिक्री शुरु भएका यी दलहरु बंगलादेशमा पनि निर्यात गर्ने योजनामा छन् उद्योगी । अन्य मुलुकमा पनि निर्यात गर्ने योजनामा छन् ।

उद्योगमा प्रयोग हुने कच्चापदार्थ अर्थात दानेदार वस्तु नेपालबाहेक अष्टे«लिया, भियतनाम, क्यानाडा, युक्रेनलगाउतका तेस्रो मुलुकबाट ल्याइन्छ । कच्चापदार्थलाई उद्योगमा जडित अटोमेटिक मेसिन र सोर्टेक्स प्रविधिबाट गुणस्तरीय दाल उत्पादन गरिन्छ ।

उद्योगले पहिलो चरणमा २५ किलोग्रामको बोरामा उत्पादित दाल प्याकेजिङ गर्छ । त्यसपछि दोस्रो चरणमा एक किलोग्राम वजनको प्याकेजिङ बजारमा ल्याइने छ । उपभोक्ताको मागअनुसार १ र २५ केजीबाहेक अन्यवजनमा पनि क्रमशः प्याककेजिङ गरिँदै लगिनेछ ।

उद्योगका सञ्चालक चन्दन जैनकाअनुसार उद्योगबाट उत्पादित सबै किसिमका दाल अर्गानिक छन् । दालमा कुनै प्रकारको केमिकल, रङ वा पोलिस गरिएको छैन । विराटनगर नजिक भारतको जोगबनीमा बिक्री गरिने अधिकांश दाला मिसावटयुक्त हुन्छ । जसले सर्वसाधारण उपभोक्ताहरूको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ ।

‘उद्योगले स्वदेशी उत्पादन र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न विशेष ध्यानदिइएको छ,’ सञ्चालन जैनले क्लिकमाण्डूसँग भने ‘उद्योगले केही समयपछि देशका प्रमुख सहरहरू, सपिङ मल, बजार र आफ्नै स्टलमा सबै किसिमका दालहरु बिक्री गर्ने लक्ष्य राखेको छ ।’

प्रदेश एकमा खुलेको पहिलो दाल उद्योग ‘न्यूट्री फुड’ उद्योगी प्रदीप सारडाले सञ्चालन गरिरहेका छन् । यस उद्योगबाट उत्पादित दाल धेरैजसो विदेश अर्थात तेस्रो मुलुक निकासी गर्छ । त्यस उद्योगले नेपालको दाल उद्योगको मागलाई प्राथमिकतामा राखेको देखिँदैन ।

नयाँ खुलेको उपहार दाल उद्योगले नेपालको माग धानेर विदेश निकासी गर्ने उद्देश्य राखेको उद्योगका साझेदार पकंज दुगड बताउँछन् । उपहार उद्योगले गुणस्तरीयता र शुद्धतालाई पहिलो प्राथमिकतामा राखेको उनले बताए । उपहार दाल उद्योगले एक घण्टामा दुई मेट्रिक टन उत्पादन गर्छ ।

‘दाल उत्पादन भर्खर शुरु भएकाले कति नाफा हुन्छ अहिले नै भन्न सकिन्न’ दुगडले भने बजार मन्दी छ । प्रतिकूल अवस्थामा उद्योग खोलिए छ । बैंकको व्याज पहिला ७ प्रतिशत थियो, अहिले बढेर १४ प्रतिशत पुगेकाले हामी मारमा परेका छौं ।’

यस उद्योगमा २० कर्मचारीले काम गर्छन् ।

उद्योगका लागि प्रयोग हुने कच्चापदार्थ तेस्रो मुलकबाट नेपाल ल्याउँदा १० प्रतिशत भन्सार कर तिर्नुपर्छ । जबकी, त्यही कच्चापदार्थ भारतले तेस्रो मुलुकबाट उसको देशमा भित्र्याउँदा भन्सार ‘ड्यूटी फ्रि’ गरेको छ । त्यसैले यहाँभन्दा भारतीय बजारमा दाल सस्तो पर्छ ।

त्यसरी भारतमा दाल सस्तो हुँदा नेपालमा त्यसको प्रत्यक्षप्रभाव पर्छ । खुल्ला सीमाभएको कारण भारतबाट तस्करी भएर दाल तथा अन्य खाद्य वस्तु नेपाल भित्रिने गर्छ । जसले स्वदेशी दाल उद्योगहरू मर्कामा पर्छन् । भारतबाट तस्करी गरी ल्याएको दाल सस्तो पर्छ । अनिउपभोक्ताले पनि नेपालमा उत्पादित महंगो दाल खरिद गर्नुको सट्टा भारतबाट गैरभन्सारको बाटो भएर ल्याइएको दाल नै खरिद गर्छन् ।

कतिपय अवस्थामा ठूला तस्कर र व्यवसायीले भन्सारका कर्मचारीसँग मिलेमतोमा पनि ठूलो परिणाममा कृषिजन्य तथा खाद्यपदार्थ नेपाल भित्र्याउने गर्छन् । यसले पनि स्वदेशी वस्तुको उत्पादन र बिक्रीवितरणमा प्रत्यक्ष असर परेको भन्सार एजेन्ट भोला साह बताउँछन् । उनका अनुसार केही दिनअघि पाँच कन्टेनर चाइनिज स्याउ नेपाल भित्रिएपछि प्रहरीले विराटनगरबाट बरामद गरेको थियो । यसरी दाल, चामल तथा अन्य खाद्यपदार्थ पनि सेटिङका कारण भन्सार कर छलेर नेपाल ल्याउँदा सरकारी राजश्व गुम्ने गरेको छ ।

बिराटनगरमा दालको नयाँ उद्योग थपिएपछि अन्य उद्योगीहरु पनि उत्साहित भएका छन् । उद्योग परिसर पुगेका सेन्चुरी समूहका प्रमुख तथा उद्योगी मोती दुगडले उद्योगबाट उत्पादित उपहार दाल आफ्ना होटलहरूले पनि खरिद गरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने बताए । उनको विराटनगरमा एउटा होटल चालु अवस्थामा छ । अर्को पनि पाँचतारे होटल निर्माणधीन छ । त्यो पाँचतारे होटल पनि विराटनगरमै चाँडै खुल्दैछ । यस्ता होटलले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गरेर केही हदसम्म टेवादिन सक्छन् ।

यसै सन्र्भमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले युक्रेन र रुसको युद्धका कारण उद्योगहरू धरासायी भएर दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको अवस्थामा स्थानीय स्तरमा युवाहरूबाट उद्योग खोल्नु प्रशंसनीय काम भएको बताए ।

उनकाअनुसार बजारमा आर्थिक मन्दीभएको कठिन परिस्थितिमा पनि युवाहरूले नयाँ उद्योग खोल्ने आँट गरेको बताए । प्रतिस्पर्धात्मक बजारमा तीन युवा उद्यमीरूबाट नयाँ उद्योग खोल्नु नै निकै साहसिक र चुनौतीपूर्ण काम भएको बताए ।


क्लिकमान्डु