एक वर्षमा ३ अर्ब ६१ करोडको लघुबीमा, ३७.८९ प्रतिशतले घट्यो



काठमाडौं । बीमा कम्पनीहरूले एक आर्थिक वर्षमा ३ अर्ब रूपैयाँको लघुबीमा गरेका छन् । सञ्चालनमा रहेका बीमा कम्पनीहरूले ३ अर्ब ६१ करोड ८९ लाख ५० हजार रूपैयाँको लघुबीमा व्यवसाय गरेको समितिको गत आर्थिक वर्षको तथ्यांकमा उल्लेख छ । जुन अघिल्लो आवको तुलनामा ३७.८९ प्रतिशतले कम हो ।

अघिल्लो आवमा कम्पनीहरूले ५ अर्ब ८२ करोड ६२ लाख ११ हजार रूपैयाँको लघुबीमा गरेका थिए ।

अघिल्लो आवको तुलनामा कम्पनीहरूमा लघुबीमालेखको संख्या भने बढेको तथ्यांकले देखाएको छ । गत आवमा कम्पनीहरूमा ४१ लाख ७४ हजार १०५ वटा लघुबीमालेख जारी भएका छन् । अघिल्लो आवमा कम्पनीहरूमा ११ लाख ३७ लाख ८३३ वटा लघुबीमालेख जारी भएका थिए ।

लघुबीमा कम्पनी स्थापना गरिँदै

ग्रामीण एवम् दुर्गम भेगमा बसोवास गर्ने नागरिकका परिवार घर, व्यवसाय, खेतीपाती, पशुपन्छी, जडिबुटी लगायतको बीमा गर्न समितिले बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ । तर, पनि लघुबीमा अपेक्षितरूपमा अघि बढ्न सकेको छैन ।

सरकारले गत आर्थिक वर्षको बजेट वक्तव्यमा कूल बीमाको दायरामा रहेको जनसंख्यामा लघुबीमाको हिस्सा १० प्रतिशत पुर्‍याउने लक्ष्य राखको थियो । तर, उक्त लक्ष्य पूरा हुन सकेको छैन ।

बीमा शहरी क्षेत्रमा बसोवास गर्ने र सम्पन्न परिवारका लागि मात्र नभइ ग्रामीण एवम् दुर्गम क्षेत्रमा बसोवास गर्ने विपन्न वर्ग, समुदाय सबैका लागि हो । तर, तथ्यांकले भने बीमा कम्पनीहरू ठूला व्यवसाय र शहरमा मात्रै केन्द्रित भएको देखाएको छ ।

कूल बीमाको दायरामा आएको जनसंख्या उल्लेख्य मात्रामा वृद्धि भए पनि लघुबीमाको हिस्सा न्यून भएका कारण नेपाल सरकारले दुर्गम, पिछडिएका र न्यून आय भएका वर्गमा बीमाको पहुँच पुर्‍याउने उद्देश्यले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा लघुबीमा कम्पनी स्थापना गर्ने उल्लेख गरेको थियो ।

सोही विषयलाई कार्यान्वयन गर्न र न्यून आय भएका तथा पिछडिएका सीमान्तकृत वर्गहरूको जीवन तथा सम्पत्तिको जोखिमविरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले समितिले काठमाडौं उपत्यका बाहिर लघुबीमा कम्पनीको कार्यालय रहने गरी सातवटा प्रदेशमा १/१ वटा लघुबीमा कम्पनी स्थापना गर्न समितिले सूचना प्रकाशित गरिसकेको छ ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले ठूला बीमा कम्पनीहरूबाट लघुबीमा कार्यक्रमले गति लिन नसकेपछि छुट्टै लघुबीमा कम्पनी स्थापना गर्नु परेको बताए । ठूला बीमा कम्पनीलाई एउटा निश्चित समयसम्म लघुबीमा गर्नु भनेर लक्ष्य तोकिदिँदा पनि कार्यक्रम सफल नभएको उनले बताए । ‘समाजमा विभिन्न लिङ्ग, वर्ग र तहका मान्छेहरू छन् । न्यून आय भएका मानिसहरूलाई बीमाको दायरामा ल्याउने माध्यम लघुबीमा हो,’ अध्यक्ष सिलवालले भने, ‘न्यून आय भएका नागरिकलाई बीमाले फाइदा पुर्‍याउँछ । नेपाल जस्तो मुलुकका लागि बीमा गरिबी निवारणको एउटा राम्रो संयन्त्र हो ।’

३७.८९ प्रतिशतले घटेर ३ अर्बमा खुम्चियो

सञ्चालनमा रहेका बीमा कम्पनीहरूले १ वर्षमा ३ अर्ब ६१ करोड ८९ लाख ५० हजार रूपैयाँको लघुबीमा बीमा गरेका छन् । गत आवमा जीवन बीमा कम्पनीहरूले ३ अर्ब १३ करोड ७८ लाख २० हजार रूपैयाँको लघु जीवन बीमा गरेका छन् । गत आवमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

जुन कुल जीवन व्यवसायको २.६१ प्रतिशत हो । २० निर्जीवन बीमा कम्पनीहरूले ४८ करोड ११ लाख ३० हजार रूपैयाँको लघु निर्जीवन बीमा गरेका छन् । निर्जीवन बीमा व्यवसायको ८.०१ प्रतिशत हो । गत आवमा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गत आवमा जीवन बीमा कम्पनीहरूले ४१ लाख १४ हजार १९१ वटा र निर्जीवन बीमा कम्पनीहरूले ५९ हजार ९१४ वटा लघुबीमालेख जारी गरेका छन् ।

अघिल्लो आवको तुलनामा लघुबीमा ३७.८९ प्रतिशतले घटेको छ । अघिल्लो आवको तुलनामा लघु निर्जीवन व्यवसाय १७.२६ प्रतिशत र लघु जीवन बीमा ४०.१७ प्रतिशतले घटेको हो ।

समितिले लघुबीमा निर्देशिका, २०७६ लाई संशोधन गर्दै ५ लाख रूपैयाँसम्मको लघुबीमा पोलिसी बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

समितिले गरेको नयाँ व्यवस्थाअनुसार ३ लाख रूपैयाँसम्मको जीवन लघुबीमा(सावधिक, म्यादी, अन्य) गर्न सकिन्छ ।

यस्तै, लघु निर्जीवन बीमा व्यवसाय अन्तर्गत निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति लघुबीमा, घर लघुबीमा, दुर्घटना लघुबीमा, स्वास्थ्य लघुबीमा, घातक रोग लघुबीमा, कृषि लघुबीमा र समितिले तोकिए बोजिमको अन्य लघु निर्जीवन बीमाको व्यवसाय गर्न पाउने व्यवस्था छ ।


बिजया बास्कोटा